सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सडक व्यापारबाट जीवनको गुजारा

सडक व्यापारबाट जीवनको गुजारा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८१, बिहिबार

बागलुङ/यतिबेला उनी घरमै आराम गरेर बस्नुपर्ने हो, तर सडक पेटीमा कुनै न कुनै व्यपार गरेको भेटिन्छिन् । उमेरले ६० बर्ष पुगेर पनि उनले सडक पेटीमै व्यवसाय गर्ने काम छाडेकी छैनन् ।
बागलुङ नगरपालिका ३ गुठीकी ६० बर्षिय मैयालाई जाडो होस् या गर्मी जहिले पनि बागलुङ बजारका विभिन्न चोकमै देखिन्छ । उनले एउटै मात्र व्यवसाय पनि गर्दिनन् । जाडोमा सुन्तला, बदाम बेचेर बसेको भेटिन्छ भने गर्मी मौषममा तरकारी र कांक्रो पनि बेच्छिन् । उनका श्रीमान भैरबबहादुरको निधन भएपछि २५ बर्षदेखि उनले एक्लै यही काम गरिरहेको बताइन् ।
भारतमा काम गर्ने क्रममा उनका श्रीमान भैरवको ‘हर्टअट्याक्ट’ भएर निधन भएपछि मैया ले निरन्तर सडक पेटीमा व्यवसाय गरेर जीवन धानेकी हुन् । श्रीमानले संसार छाड्दा उनको काखमा तीन छोरी थिए । जेठी छोरी पुष्पा ८ वर्ष, माइली उष ६ र कान्छी छोरी आशा ४ वर्षकी थिइन् । उनीहरुलाई हुर्काउन र पढाउन उनी सडकमा आइपुगेकी हुन् ।
सडकमा फलफूल र तरकारी ल्याइ पु¥याउन उनले बिहान ४ बजे उठ्नुपर्छ । जाडो मौषममा बिहान उज्यालो नहुँदै गाउँ पुगेर सुन्तला आँफैले टिपेर बेच्न ल्याउने उनको बाध्यता छ । बुढ्यौली लागेपनि उनले यो का मगर्न बाध्य भएको बताइन् । ‘दैनिक ५० देखि १ सय केजी सम्म सुन्तला बेचेर कमाउने पैसाले घर खर्च चलाएकी छु’ उनले भनिन्, ‘बर्षातमा रुझ्दै तरकारी ओसार्न पनि बाध्य छु ।’ यो काम गरेर उनले साहुको डोको तिरेपछि मासिक १५ हजार कमाउन सकेको बताइन् ।
यही पेशा गरेर उनले दुइ छोरी घर पठाइन् । यो पेशाबाट नपुगेपछि उनले कोठामै किराना सामान पनि राखेकी छिन् । सम्पर्क गरेर घरघरै लगिदिने कामपनि गर्छिन् । त्यो काममा छोरी आशाले पनि साथ दिएकी छिन् । उनले सबैभन्दा बढी नाफा निगुरोको सिजनमा कमाएको बताइन् । कुनै बेला त मासिक २५ हजार सम्म कमाइ भएको उनले सुनाइन् । च्याउ, गोलभेडा, केरा, साग र कांक्रो समेत ल्याएर उनले बजारमा बेच्ने गरेकी छिन् ।
शुरुशुरुमा त उनले सहरी क्षेत्रका अन्य सामान पनि बेचिन् । तर बागलुङ नगरपालिकाले सडकमा ठेला गाडिमा डुलाएर अर्गानिक र स्थानीय उत्पादन मात्रै बेच्न दिने भएपछि उनले स्थानीय उत्पादन नै खोजेकी हुन् । नगरप्रहरीको गाडि छेवैवाट गएपनि अर्गानिक उत्पादनलाई समय मिलाएर सडक पेटीमै बसेर पनि बेच्न दिएको उनले बताइन् ।
उनले घरखर्च धान्नकालागि जेष्ठ नागरिक भत्तापनि उपयोग गर्छिन् । मासिक ४ हजार रुपैयाँ भत्ता पाउने भएपछि उनको चुलो बाल्न सहज भएको हो । ‘भत्ता पाउनु अघि त निकै कठिन भएको थियो यो पैसाले भाडा तिर्न पाएपछि सहज भयो’ उनले भनिन्, ‘बिरामी परियो भने चाँही हातमुख जोर्न मुस्किल पर्छ ।’ यो उमेरमा पनि बिरामी हुन नपरेकोमा उनले खुसीको कुरा भएको बताइन् । ‘चिसोले हातखुट्टा दुख्ने त भएको छ, त्यसैले जाडोमा धेरै कामगर्न सकिंदैन’ उनले भनिन्, ‘भित्री रोग नभएकोले अहिले सम्म सडकको पेटी कुरेरै घर चलाउन सकेकी छ्ु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->