पोखरा/युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ ।
भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।
अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध हुनेछ । हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले नेपालमा उपचार सम्भव नहुने खालका क्यान्सर, बाथ, मुटुरोग, निसन्तानपन लगायतका सेवा अपोलोमा सहज तवर लिन सघाउने सूचना केन्द्र खोलिएको उल्लेख गरे ।
युआरएल हेल्थ केयर र अपोलो इन्फर्मेसन सेन्टर उद्घाटनको अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा दिनेछ । हेल्थ केयरका अध्यक्ष कोइरालाले सो दिन चिकित्सकको परीक्षण शुल्क नलाग्ने र अरु सबै प्रकारका परीक्षणमा समेत २० प्रतिशत छुट दिइने जानकारी दिए ।





