परिचय
सोमटोफर्म डिसअर्डर (Somatoform Disorder) मानसिक स्वास्थ्यसँग सम्बन्धित एक जटिल समस्या हो, जसमा व्यक्तिलाई विभिन्न शारीरिक लक्षणहरू अनुभव हुन्छन् तर तिनको कुनै स्पष्ट चिकित्सकीय कारण भेटिँदैन । आधुनिक समाजमा मानिसहरू शारीरिक स्वास्थ्य समस्यालाई गम्भीर रूपमा लिन्छन्, तर मानसिक स्वास्थ्यलाई कम प्राथमिकता दिने प्रवृत्ति देखिन्छ । जसको कारण, सोमटोफर्म डिसअर्डर जस्ता रोगहरूलाई धेरैले बुझ्न सक्दैनन् । बिरामीहरू आफैँ पनि ‘मलाई साँच्चै नै रोग लागेको हो कि होइन ?’ भन्ने भ्रममा पर्न सक्छन् ।
यस्तो अवस्थामा, सही जानकारी र उचित उपचारको अभावले समस्या झन् जटिल बन्दै जान्छ । यसैले आज हामी सोमटोफर्म डिसअर्डरका लक्षण, पहिचान विधि, उपचार तरिका, दैनिक जीवनमा पर्ने प्रभाव, सम्भावित जोखिमहरू तथा जनस्वास्थ्य सचेतनाका उपायहरूको विवेचनात्मक रूपमा चर्चा गर्नेछौँ ।
सोमटोफर्म डिसअर्डर के हो ?
सोमटोफर्म डिसअर्डरलाई मनोशारीरिक समस्या (Psychosomatic Disorder) पनि भनिन्छ । यसको मुख्य विशेषता भनेको व्यक्तिले वास्तविक रूपमा शारीरिक असहजता वा पीडा अनुभव गर्छन्, तर चिकित्सकीय परीक्षणहरूले कुनै जैविक कारण फेला पार्दैनन् । मानसिक तनाव, दबाव वा पुराना आघातहरूले शरीरमा असर पार्दा यस्तो अवस्था सिर्जना हुन्छ । बिरामीहरू बारम्बार अस्पताल धाउने, अनेकौं परीक्षण गराउने तर ठोस रोग नदेखिने समस्याबाट गुज्रिरहेका हुन्छन् ।
यसका लक्षणहरू के हुन् ?
सोमटोफर्म डिसअर्डरका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक देखिन सक्छन् । तर सामान्यतया निम्न लक्षणहरू देखिन्छन्ः
(क) शारीरिक लक्षणहरू (Physical Symptoms)
–बारम्बार टाउको दुख्ने
–अपच, पेट दुखाइ, वा आन्द्रासम्बन्धी समस्या
–छाती दुख्ने, तर मुटुमा कुनै समस्या नदेखिनु
–हातखुट्टा झमझम गर्ने, कमजोरी वा लाटोपना महसुस हुने
–नशा दुख्ने, ढाड वा जोर्नी पीडा
–श्वास फेर्न गाह्रो महसुस हुने, तर कुनै फोक्सो रोग नहुनु
–अनिन्द्राको समस्या
(ख) मानसिक र व्यवहारगत लक्षणहरू (Mental & Behavioral Symptoms)
–आफूलाई गम्भीर रोग लागेको सोच
–बारम्बार अस्पताल जाने तर रिपोर्टहरू सामान्य आउने
–अत्यधिक चिन्ता, तनाव वा डिप्रेसन
–नकारात्मक सोच, निराशा वा आत्मग्लानी
–परिवार वा समाजबाट अलग रहने प्रवृत्ति
–कार्यक्षमतामा गिरावट आउने
कसरी सोमटोफर्म डिसअर्डर नै हो भनेर पक्का गर्ने ?
यस रोगको निदान चुनौतीपूर्ण छ किनभने लक्षणहरू अन्य रोगहरूसँग मिल्न सक्छन् । चिकित्सकहरूले निम्न चरणहरू अपनाएर पत्ता लगाउन सक्छन्ः
शारीरिक परीक्षण (Medical Tests)
–रक्त परीक्षण, एक्स–रे, एमआरआई, ईसीजी आदि गरिन्छ ।
–यदि सबै परीक्षणहरू सामान्य आए तर लक्षणहरू जारी रहे, भने मानसिक स्वास्थ्य मूल्यांकन गरिन्छ ।
मनोवैज्ञानिक मूल्यांकन (Psychological Evaluation)
–मानसिक स्वास्थ्य विशेषज्ञ (Psychiatrist/Psychologist) ले बिरामीको तनाव, चिन्ता वा भावनात्मक अवस्था जाँच्छन् ।
–विगतका आघात वा पारिवारिक समस्याहरूको विश्लेषण गरिन्छ ।
सम्बन्धित अन्य रोगहरूको जाँच
–अन्य मानसिक रोग (जस्तैः डिप्रेसन, एन्क्जाइटी डिसअर्डर) छन् कि छैनन् भन्ने जाँच गरिन्छ । यदि सबै जैविक परीक्षणहरू सामान्य छन् तर लक्षणहरू रहिरहे भने सोमटोफर्म डिसअर्डर भएको पुष्टि हुन सक्छ ।
समाधान (उपचार तथा व्यवस्थापन)
सोमटोफर्म डिसअर्डरको उपचार मानसिक स्वास्थ्य सुधार गर्न केन्द्रित हुन्छ ।
मनोचिकित्सा (Psychotherapy)
–संज्ञानात्मक व्यवहारिक थेरापी (CBT)
–नकारात्मक सोचलाई सकारात्मक बनाउने ।
–तनाव व्यवस्थापन गर्न सिकाउने ।
–साइकोथेरापी (Psychotherapy)
–पुराना आघातहरू पहिचान गरी समाधान गर्न मद्दत गर्ने ।
औषधि उपचार (Medication)
–यदि डिप्रेसन वा एन्क्जाइटी अत्यधिक छ भने एन्टिडिप्रेसन्ट औषधि दिइन सक्छ ।
–अत्यधिक डर वा तनाव भएमा एन्टिआन्क्साइटी मेडिसिन उपयोगी हुन सक्छ ।
–औषधि चिकित्सकको सल्लाहबिना प्रयोग गर्नु हानिकारक हुन सक्छ ।
जीवनशैली परिवर्तन (Lifestyle Changes)
–ध्यान र योगः मानसिक शान्ति दिन्छ ।
–नियमित व्यायामः शरीर र मन दुवै स्वस्थ राख्छ ।
–सन्तुलित आहारः पोषणयुक्त खानाले शरीरको सन्तुलन कायम राख्छ ।
–सामाजिक समर्थनः परिवार तथा साथीभाइसँग खुलेर कुरा गर्नु महत्वपूर्ण छ ।
–रचनात्मक काममा संलग्न हुनुः पढ्ने, लेख्ने, कला, संगीत जस्ता कार्यले मानसिक स्थिरता ल्याउँछ ।
यसले दैनिक जीवनमा पार्ने प्रभाव तथा सम्भावित जोखिमहरू यदि यस रोगको समयमै समाधान गरिएन भने गम्भीर परिणामहरू निम्नानुसार हुन सक्छन् ।
–व्यक्तिगत जीवनमा समस्याः बिरामी आत्मग्लानी, तनाव र डिप्रेसनबाट गुज्रन सक्छ ।
–पारिवारिक सम्बन्ध बिग्रिन सक्छः परिवारका सदस्यहरू बिरामीको अवस्थालाई बुझ्न नसक्दा टकराव हुन सक्छ ।
–अध्ययन वा रोजगारीमा असरः निरन्तर स्वास्थ्य समस्याका कारण कार्यक्षमतामा गिरावट आउन सक्छ ।
–अनावश्यक मेडिकल परीक्षणहरूः धेरै पटक परीक्षण गर्दा आर्थिक भार पर्न सक्छ ।
–औषधिको दुरुपयोगः गलत औषधि सेवन गरेमा दीर्घकालीन असर पर्न सक्छ ।
–आत्महत्याको जोखिमः यदि डिप्रेसन गम्भीर भएमा आत्महत्या गर्ने सम्भावना रहन्छ ।
जनसाधारणका लागि स्वास्थ्य सचेतना
–सोमटोफर्म डिसअर्डर मानसिक तनावको कारणले हुने समस्या हो ।
–यदि तपाईंलाई बारम्बार कुनै रोग लागेको जस्तो महसुस हुन्छ, तर चिकित्सकहरूले कुनै ठोस कारण भेटाउन सक्दैनन् भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस् ।
–नियमित व्यायाम, ध्यान, सन्तुलित आहार र सकारात्मक सोच अपनाउनुहोस् ।
–डिप्रेसन वा चिन्ता भएमा खुलेर कुरा गर्नुहोस्, लुकाएर राख्नु हानिकारक हुन सक्छ ।
–समाजले यो समस्या बुझ्नुपर्छ, बिरामीहरूलाई ‘नक्कली बिरामी’ भन्नु हुँदैन ।
–मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ ।
निष्कर्ष
सोमटोफर्म डिसअर्डर एउटा गम्भीर मानसिक स्वास्थ्य समस्या हो जसको सही उपचार नगरेमा बिरामीको जीवनमा ठूलो असर पार्न सक्छ । तर, सही थेरापी, जीवनशैली सुधार र मानसिक स्वास्थ्य सचेतनाबाट यसलाई व्यवस्थापन गर्न सकिन्छ । यदि तपाईं वा तपाईंको वरपर कोही यस्तो समस्याबाट गुज्रिरहेका छन् भने मनोरोग विशेषज्ञ वा मानसिक स्वास्थ्य परामर्शदातासँग परामर्श लिनुहोस् । सही उपचारबाट जीवन सहज र स्वस्थ बनाउन सकिन्छ ! समयमै मानसिक स्वास्थ्य उपचार लिऔं, स्वस्थ जीवन जिउँ ।





