मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पैसा सकिएपछि फर्कियो सडक खन्न गएको सेनाको टोली

पैसा सकिएपछि फर्कियो सडक खन्न गएको सेनाको टोली


  • शिव उप्रेती
  • चैत्र ३० २०८१, शनिबार

गोरखा / पृथ्वी राजमार्गको बेनिघाटदेखि तिब्बतको सिमाना लार्केसम्मको सडक निर्माणमा गएको सेना आठ महिना नबित्दै ब्यारेक फर्किएको छ । यस वर्षका लागि विनियोजित सात करोड रुपैयाँ बजेट सकिएपछि बाँकी काम थाँती राखेर सेना अर्मला र सल्लेरीस्थित शिविरमा फर्किएको हो ।

धार्चेको हावाडाँडाबाट खन्दै गएको सडकको ट्र्याक ४२ किलोमिटर पर चुमनुब्री—३ पेवासम्म पुगेको थियो । तर यस वर्षका लागि विनियोजित बजेट सकिएपछि काम था“ती राखेर फर्किएको नेपाली सेनाले जनाएको छ । ‘यस वर्षका लागि विनियोजित बजेट सकिएछ । त्यसैले अहिलेका लागि सडक निर्माण कार्य अघि बढ्न सकेन’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केशीले भने, ‘प्राविधिक कर्मचारी, सेना र ज्यालादारी काम गर्ने मजदुर पनि फर्किएका छन् ।’ कसैगरी बजेट थप भई आएमा तत्काल काम सुचारु गर्न सेना तत्पर रहेको उनको भनाइ छ ।

सेनाले निर्माण गरिरहेको उत्तर दक्षिण जोड्ने सो सडकखण्डका लागि बिगतका तुलनामा यस वर्ष सबैभन्दा कम बजेट विनियोजन भएको हो । चार वर्षअघि २५ करोड, त्यसपछि १५ करोड विनियोजन भएको सो सडकखण्डका लागि गतवर्ष १० करोड र यसवर्ष जम्मा सात करोड विनियोजन भएको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

कार्यस्थलबाट सेना फर्किएपछि न्याकफेदी पेवाखण्डको काम अलपत्र भएको छ । बिस्फोट गराएको भीर पहरोलाई सडकको स्वरूप दिन बाँकी नै छ । थप अघि बढाउन कार्यस्थलमा पुर्‍याइएका उपकरणहरू पनि थन्किएका छन् । रुकुम, जाजरकोटदेखि काम गर्न आएकाहरू पनि घर फर्केका छन् ।

२०७४ साल वैशाखदेखि काम सुरु गरेको नेपाली सेनाले हालसम्म ४२ किलोमिटर ट्र्याक खोलेको छ । ३६ किलोमिटरसम्म मोटर चल्न सुरु गरेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । ‘हालसम्म ४२ किलोमिटरसम्म ट्र्याक खुलेको छ । जसमध्ये ३६ किलोमिटर ९पाङसिङ०सम्म मोटर चल्न थालेको छ ।

ट्र्याक खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन सकिएको छैन’, सडक निर्माण कार्यदलका प्रमुख मेजर पूर्णचन्द्र ढकालले भने, ‘हामीले दायित्व पूरा गरेको दोभानसम्मको १८ किलोमिटर गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेका छौं ।’

बेनीघाट, आरूघाट, लार्के सडकको १५४ किलोमिटरमध्ये हावाडाँडाबाट माथि ९२ किलोमिटर सडकको काम गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । सो खण्डमा ठूला पहरा र कडा चट्टान भएकाले बिस्फोटनको काम गर्न सेनामार्फत सजिलो हुने हुँदा सेनालाई दिइएको हो । कुल १ सय५४ किलोमिटर खण्डमध्ये बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो । सडक योजना कार्यालय र सेनाले निर्माण गरेको गरी जम्मा बेनिघाटदेखि ९७ किमि खण्डमा सवारीसाधन चल्न थालिसकेको छ ।

बर्खाका बेला पनि सवारीसाधन आवागमन गर्न सजिलोका लागि नेपाली सेनाले माछीखोलामा बेलिब्रिजसमेत निर्माण गरेको मेजर ढकालले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्ष दुई किलोमिटर ट्याक खन्नका लागि नेपाल सरकारबाट सात करोड रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित बजेटअन्तर्गत गर्नुपर्ने काम सकिएको कार्यदलका प्रमुख ढकालले बताए । ‘दुई किलोमिटर ट्र्याक खन्ने काम सम्पन्न भएको छ’, उनले भने, ‘यो वर्ष ट्र्याक खन्न सात करोड आएको थियो । त्यो बजेटले गर्नुपर्ने कामहरू लगभग गरिसक्यौं ।’ यो वर्ष पाङसिङ भिर, न्याक फेदी, रुविनाला र पेवाभिर गरी चार खण्डमा ब्लास्टिङ गरी ट्र्याक खोल्ने काम गरेको उनको भनाइ छ ।

बेनिघाटदेखि आरूघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम २०५२ सालमा सुरु भएको थियो । आर्थिक वर्ष २०६३र६४ मा बेनिघाट आरूघाट लार्केभन्ज्याङ सडक नामकरण गरिएको थियो । आर्थिक वर्ष २०६६र६७ मा मात्र उक्त सडक निर्माणको कार्य सुरु भएको थियो । तर, हावाडाँडादेखि माथिको क्षेत्र कडा चट्टानयुक्त भीर रहेकाले पाँच वर्षसम्म ट्र्याक खोल्ने कार्य अगाडि बढ्न नसकेपछि सेनालाई जिम्मा दिइएको हो । उत्तरी गोरखाको लाइफलाइन मनिने उक्त सडक बनेपछि दुर्गममा अवस्थित धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->