मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

फेक आइडी बनाएर पुरुषको चरित्र हत्या गर्ने महिला पक्राउ

फेक आइडी बनाएर पुरुषको चरित्र हत्या गर्ने महिला पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र ३१ २०८१, आइतबार
एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

पोखरा / प्रेम सम्बन्धमा दरार आएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत् फेक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा फरार रहेकी एक महिला नेपाल फर्किएलगत्तै पक्राउ परेकी छन्। साइबर ब्युरोका अनुसार गोरखा नगरपालिका–६ सातधुरे दरबारमार्ग स्थायी घर भई रोजगारीका लागि मलेसिया गएकी ३० वर्षीया विन्दु परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी एक पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। विवाहसम्मको योजना समेत बनिसकेको थियो। तर सम्बन्धमा दरार आएपछि उनले ती पुरुषको नाम र फोटो प्रयोग गरी फेसबुकमा फेक आइडी बनाइ उक्त पुरुष, उनकी श्रीमती र नजिकका आफन्तहरूको निरन्तर चरित्र हत्या गर्न थालिन्। साथै, पीडितसँग सरोकार नै नभएका अन्य व्यक्तिहरूलाई समेत फेक आइडी प्रयोग गरी सामाजिक सञ्जालमा अपाच्य शब्दहरू लेख्दै चरित्र हत्या गर्ने काम गरेकी थिइन्। यस सम्बन्धमा साइबर ब्युरोमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो।

प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अपराधमा संलग्न रहेको ठहर गर्दै २०८० साल पुस ३ गते विन्दु परियारविरुद्ध मुद्दा दर्ता गर्‍यो। उनी फरार रहेकाले नेपाल प्रहरी इन्टरपोल शाखामार्फत रेड नोटिस जारी गरिएको थियो।

अन्ततः वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरी इन्टरपोल शाखाको समन्वयमा उनलाई चैत ३० गते पक्राउ गरिएको हो। उनलाई आज (चैत ३१) काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक एवं साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->