लुम्ले-काँडे कटेपछि माछापुच्छ्रे हिमाल नदेखिनु भनेको बागलुङबाट पोखरा जाने साईतै नपरेजस्तो हो ! झन् अझ नौडाँडा पार गरिसक्दा समेत नदेखिनु त अचम्मै मान्छु मैले ! केहि साल यतादेखि मेरो यात्रामा यस्तै गरेको छ माछापुच्छ्रेले मलाई ।ऊ देखिन्न म संग ! नदेखिंदा, खै मैले कस्तो दिनमा घर छोडेको हुँदो र’चु कुन्नि भन्छु आँफैलाई ! उसलाई मैले ढुङ्गाले हानेकै त छैन ! त्यसै ठुस्स छ यो ! यसै लुक्छ,लुकि खेल्छ मैले भेटाउन्न । ऊ कता हराउँछ कता ! उसलाई नभेटेपछि म हार्छु । म लुक्छु । अनि लामो समयपछि म पुन: प्रकट हुन्छु । तर उसले मुख लुकाएकै हुन्छ, देखाउन्न ।
उसले मलाई देख्छ तर, मैले उसलाई देख्दिन । बुझें मैले,लौ ! अब मलाई साईत परेन ! किनकि माछापुच्छ्रे देखिएन ! घरको साईत परेको बेलाको कुरा हो । पर्वतको मोदीखोलाको तीरैतीर पोखरातर्फ लाग्दा नै देख्दो र’छ उसले ! मलाई उसको लाम्चो आँखाले मात्र हेर्थ्यो । शरिरको अरु भाग पहाडको हरियो धोतीले छोपेर हेर्थ्यो । अनि हेरेर मलाई ‘हेल्लो बागलुङे’ ! भन्थ्यो मोदी किनारमा गुड्दा ।
उसको हेलोको आवाजले म उसको पुरै रुप हेर्न आतुर हुन्थें । कतिबेला काँडे पुगिएला लाग्थ्यो । पुगेपछि ऊ सर्वाङ्ग सग्लो देखिन्थ्यो । दिल खुश हुन्थ्यो । ऊ देखिएपछि पोखराको घुमघाम रमाईलो हुन्थ्यो । तर, हिंजो त काँडे नाउँडाँडा हेम्जा पोखरै पुग्दासम्म पनि माछापुच्छ्रे झुल्केन ! मनमनै गुनें साईत परेन ।
यात्रा सीधै काठमाण्डौ लागे त उत्ति ख्याल हुन्न, तर पोखरानै पुगेर पोखरामै रमाउन खोज्दा माछापुच्छ्रे विनाको पोखरा, के पोखरा ! पोखरामा घुम्नेजति सबै घुमेपनि माछापुच्छ्रे विनाको घुमाई नून नहालेको तरकारी जस्तो खल्लो ! मैले भनें’नि माछापुच्छ्रेको मुस्कान नदेख्नु साईत नपर्नु हो । मान्छेको मन नरमाउनु हो । उमंग खोशिनु हो । यसो हुनु भनेको घुमघाममा उल्टो असर पर्नु हो ।
सामान किन्न खोज्यो महँगो पर्छ ! साथी भेट्यो चिया खायो । बिल तिर्ने आँफै । अस्पतालहरुमा पुग्यो बिरामीले छिटोछरितो उपचार पाउन्न । खानाखान थकाली होटलमा पुग्यो थकाली खाना खान पाईन्छ, थकाली पाईन्नन् । थकालीको नाममा लेकालीले भान्छा चलाएको छ । यो बेईमानी पनि एक प्रकारको भ्रष्टाचारै हो ।
एअरपोर्ट पुग्यो समयमा जहाज उड्दैन । कारण हो – माछापुच्छ्रेले मुख नदेखाउनु ! कमसेकम कन्नो फर्के पनि त हुन्थ्यो । त्यहि कन्नो पनि उसले छोपेर लुक्छ । यहि कारणले मलाई पोखरामा दु:ख थपिन्छ । नरमाईलो लाग्छ ! काम समयमा केहि पनि बन्दैन ।
माछापुच्छ्रेको मुख नदेखेपछि पोखरामा अनेक हुन्छ । हिंडदाहिंड्दै बीच बाटोमा पानी पर्छ । ट्याक्सि दौडादौड छन खाली छैनन् । पानीले भिज्नभिज्न लाग्दा धन्न एउटा भेटाईयो र ओत लागियो । पुर्खौली थातथलो नै विन्दवासिनी बताउने पराजुली थरको डाईबर भाईले जानु छ एकातिर अर्कोतिर पो घुमाईदियो । पछि म त एअरपोर्ट जाने हो कता लगेको ? भनेपछि स्टेरिङ सोझ्यायो ।
विन्दवासिनी नेर पानी झन दर्क्यो । के हो भाइ यो पत्यारै नलाग्ने, भर्खरै आकाश उज्यालै थियो ठ्याप ठ्याप असिना जस्ता पानीका ठुला थोपा खसि पो हाले । हुन त, पोखरामा पानी नपरे के ‘पोखरा’ भयो र,है भाई ? मैलेनै प्रश्न सोझ्याएँ र के सोधेको थिएँ, उसले पुरै पोखराको इतिहास बतायो । म त चकित !
तपाईंलाई थाहा छ कि छैन पोखराको नाम यहि विन्देवासिनी नजिकैको पोखरीबाट पोखरा बनेको हो नि ! उसको कुराले चासो राख्दै झस्कें । तर यो मामलामा म अज्ञानी छु । मैले भनें- हो र, मलाई थाहाछैन भाइ ! खै सुनाऊ त भन्दै उसलाई सुन्न खोजें । ऊ खुशि हुँदै बोल्न थाल्यो ।
विन्देवासिनीको मन्दिरदेखि यत्ता दक्षिणपट्टी पहिला सानो पोखरी थियो । त्यो पोखरी अहिले छैन । बजार यसैको वरिपरि थियो । महेन्द्रपुल पृथ्वीचोकतिर खासै केहि कोहि थिएन । महेन्द्रपुल र अन्यत्रका मान्छे पोखराजाम भन्दै त्यहि विन्देबासिनीनेर भएको पोखरी वरिपरिको बजारमा जान्थे । अहिले पनि त्याहाँ पुरानो बजार छ । तर अहिलेको प्रसिद्ध पोखराको नामाकरण गराउने त्यो पोखरी पुरियो । खै ककसले पुरे थाहा भएन । यो सबै त्यहि डाईबरले बतायो ।
अर्को कुरा नि छ सर ! भन्दै बोल्यो । के छ ? मैले सोधें । पोखरामा पृथ्वीनारायण क्याम्पस ईन्डियन मास्टर जर्जोनले बनाएका हुन् । उनैले गर्दा यहाँको शिक्षाको विकास भएको हो । त्याहाँ पढ्ने अहिलेका धेरै नेताहरु हामी पराजुलिहरुका गोठमा बसेर पढ्थे । ५२ बर्षको भएँ भन्थ्यो पराजुलिले आँफुलाई । मैले पोखराको बारेमा चासो राखेको थिईन तर आज यहि डाईबर भाइले भनेर सुनें ।
पोखराको नामाकरण यसरिनै भएको हो वा होईन उहि डाईबरले जानोस् । उसको कुरा सहि हो भने, मैले आज मात्र पोखराको न्वारनको नाम सुनिजानें ! डाईबर भाइका कुराले कति छिट्टै एअरपोर्ट पुगिएछ पत्तै भएन । एअरपोर्ट पुगेपछि एक्लो भएँ । चिनेजानेका कोही भेटिंदैनन् । सोचें, साईत माछापुच्छ्रेले बिगारेकै हो । नारी स्वरमा नोटिस सुनियो । जहाज दुईघण्टा ढिलो आउने भयो ।
समयमा काठमाण्डौ पुग्न मुश्किल देखियो । जहाज कुर्दाकुर्दा दिक्क लागिसक्यो । पहिलो चेकिङ पछि भित्र पुगें । मेरा उडान नंवरको पालो लगभग छ बजे हुने बतायो । बोर्डिङ पास लिएर कुर्दै थिएँ, फेरी एक घण्टा समय लम्बायो । दिउसो तीन बजे काठमाण्डौ पुगेर डक्टर भेट्ने प्लानले फेल खायो । अन्तत: राती ९:३० बजे कामाण्डौ पुगें ।
घरबाट साईत गरेपछि समयमा गन्तव्यमा पुग्ने नेपाली खासै को होलान र ! यसो हुनुमा कमसेकम आज सरकारको दोष देख्दिन मैले । सरकारलाई दोष दिनु ‘पाप’ लाग्छ । सरकार निर्दोष छ । जुनसुकै काम नबनेपनि पनि दोषी माछापुच्छ्रे नै हो ! पोखराको उत्तरतिर माछापुच्छ्रे नदेखिंदा पोखराको शहर सिंउदो पुछिएकी नारी जस्तो फुङ्ग उडेको जस्तो लाग्छ !
माछापुच्छ्रे नउघ्रेको पोखरासंग भएर बाटो लाग्दा मलाई त संधै ठेस लाग्छ ! सोचेको आँटेको समयमा केहि काम बन्दैन । त्यसैले त तीन बजे पुग्नु पर्ने कामाण्डौमा राती साढे नौ बज्यो ! यसपालीको यात्रामा यस्तै भयो माछापुच्छ्रेले धोखा दियो !
आउँदा दिनमा धोखेवाज नबन्नु है माछापुच्छ्रे ! कतै जाँदा वा पोखराको यात्रा वा पोखरा भएर काठमाण्डौ हुँदै विदेश लाग्दा माछापुच्छ्रे तिमि मुस्कुराउनु ! माछीझै फेवातालमा पौडी खेल्नु ! आफ्नो भर्जिनिटी कायम राख्दै पोखरा झलमल्ल बनाउनु ताकी संसारभरिबाट नजर मार्न आउनेहरु मोहित भएर फर्किउन् !





