मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

युवावस्थामै हुने क्यान्सर धेरै आक्रामक छ

युवावस्थामै हुने क्यान्सर धेरै आक्रामक छ

'२२ वर्षकै उमेरमा मुखको क्यान्सर देखिन थालिएको छ'


  • डा. देज कुमार गौतम
  • बैशाख २७ २०८२, शनिबार

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि फरक फरक हुन सक्छ। जस्तो मुखको क्यान्सरको कुरा गर्ने हो भने तपाईं/हामीले खाने सुपारी, सुर्ती र रक्सी अनि मुखमा सरसफाइको कमीले यस्तो भइरहेको छ।

थाइराइडको क्यान्सर वंशाणुगत कारणले पनि हुन्छ। अहिले हाम्रो देशमा मुखमा पनि गालाको क्यान्सर धेरै हुने गरेको पाइन्छ।

मुखको क्यान्सर हुनुभन्दा पहिला केही लक्षण देखिन्छन्।

जस्तो: सुरूमा तपाईंलाई घाउ हुन्छ हराउँछ, निको हुन्छ। तर साधारणतया ७ दिनदेखि २ हप्तासम्म निको हुँदैन भने विशेषज्ञकहाँ देखाउन पर्छ। यस्तो अवस्थामा तपाईंले पिरो खुर्सानी अलिकति पनि खान सक्नुहुन्न। त्यस्तै मुखभित्र सेता र राता धब्बा देखिन्छ। अथवा त्यहाँ काँडा जस्तो देखिन्छ। अनि तातो, पिरो खाँदा सहन नसक्ने हुन्छ।अलिकति पनि तातो खाना खान सकिँदैन।

यसको कारण चुरोट, सुर्ती, सुपारी, चुना लगायतका पदार्थहरू हुन्।

मैले क्यान्सरको क्षेत्रमा काम गरेको २१ वर्ष भयो। मेरो सुरूआती करिअरको बेला ६० वर्ष कटेकालाई धेरै क्यान्सर हुन्थ्यो। तर अहिले २२ वर्षकै उमेरमा क्यान्सर भएकाहरू भेटिन थालेका छन्। २२ वर्षदेखि ९० वर्षसम्मको उमेरमै क्यान्सर भएको देखिन थालेको छ।

भोला, सुर्ती जस्ता अम्मलका खाएर यस्तो भयो। २२ वर्षमै क्यान्सर देखिएको बिरामीले १२/१३ वर्षदेखि खाएको भोला, सुर्ती खाएको रहेछ। अरू वंशाणुगत कारण पनि हुनसक्छ तर त्यो हामीले हेरेनौं।

मेरो अनुभवले के देखाएको छ भने युवामा अवस्थामा हुने क्यान्सर धेरै आक्रामक हुने रहेछ। बरू वृद्धलाई देखिने क्यान्सर त्यस्तो नहुन सक्छ। त्यसैले यसको उपचार पनि आक्रामक तरिकाले गर्नुपर्ने हुन्छ।यसको लागि हामीले सचेतना जगाउनु पर्छ। पान, सुपारी, सुर्ती, चुना लगायतको प्रयोग नगर्न अभियान चलाउन जरूरी छ। हामीले यो अभियान स्कुल र घर/घरमा गर्नुपर्छ।

युवा अवस्थामा देखिएको क्यान्सर किन आक्रामक हुन्छ भनेर कारण भन्न सकिने अवस्था छैन। किनकि यसको हामीकहाँ अनुसन्धान भएको छैन। तर मैले आफ्नो उपचार अनुभवले के भन्न सक्छु भने युवालाई देखिएको क्यान्सर आक्रामक देखिन्छ।

२०, ३०, ३५ वर्षको उमेरमा क्यान्सर देखिएका बिरामीलाई अपरेसन गरिएको छ भने पनि फेरि दोहोरिने सम्भावना पनि धेरै देखियो।

क्यान्सरको उपचारका लागि नेपालमा धेरै खालका प्रविधि आइसकेका छन्। हामीले उपचारका क्रममा अपरेसन, किमोथेरापी, रेडियो थेरापी लगायतका प्रविधि अपनाउँछौं।

कहिलेकाहीँ अपरेसन गर्नै नमिल्ने छ भने उनीहरूलाई दुःखाई कम हुने र खान सजिलो हुने गरी उपचार गरिन्छ।

मुखको क्यान्सरबाट जोगिने केही उपाय छन्।

यसको लागि सबभन्दा पहिलो भनेको सुर्ती, सुपारी, चुना, चुरोट र रक्सीको सेवन गर्नु हुँदैन।

दोस्रो कुरा मुखको सरसफाइ गर्नुपर्छ। दाँतको हेरचाह र सरसफाइ हुनुपर्छ अनि नियमित परीक्षण गर्नुपर्छ।

तेस्रो भनेको चपाउँदा मुखमा घाउ हुने खालका खाना हुँदैन। धेरै कडा खाना खान पनि हुँदैन। त्यसले पनि घाउ बनाउन सक्छ।

क्यान्सरको पहिलो र दोस्रो चरणमा आयो भने उपचार गर्न सजिलो हुन्छ अनि खर्च पनि सामान्य हुन्छ। तर तेस्रो/ चौथो चरणमा उपचार गर्न गइयो भने खर्च धेरै हुने र उपचार हुन पनि गाह्रो हुन्छ।
(वरिष्ठ नाक, कान, घाँटी तथा हेड एण्ड नेक क्यान्सर सर्जन डा. देज कुमार गौतम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा कार्यरत छन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->