निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाच्यांग्राको ऊन, भांगो र पुवा (अल्लो)को धागो एवं कपडा बनाउने चलन जीवितै छ। त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम-काम्लो, राडी-पाखीलाई प्रयोग गर्ने चलनलाई जातीय-सांस्कृतिक रूपमा रैथाने पहिचान मानिन्छ।
इतिहाससँग सम्बन्धित एउटा चर्चित वाक्यांश छ- ‘एभ्रिथिङ ह्याज अ हिस्ट्री अर्थात् हरेक चिजको इतिहास हुन्छ’। जसको अर्थ हुन्छ- इतिहास जहिले पनि सान्दर्भिक र आवश्यक हुन्छ। इतिहासको जानकारी विना कुनै पनि चिजलाई पूर्ण रूपमा बुझ्न सकिंदैन। त्यस अर्थमा प्रत्येक व्यक्ति, समाज, समुदाय, जातजाति, स्थान, देश, राष्ट्र सबैका आआफ्नै इतिहास छन्।
अमेरिकी समाजशास्त्री सी. राइट मिल्सले सन् १९५९ मा प्रकाशित आफ्नो पुस्तक द सोसोलोजिकल इम्याजिनेशनमा उल्लेख गरेका छन् कि ‘व्यक्तिको जीवनी र इतिहास दुवैको स्पष्ट बुझाइ विना न कुनै व्यक्तिलाई बुझ्न सकिन्छ न त समाजको इतिहासलाई। कुनै पनि व्यक्तिको आनीबानी, व्यवहार, बोलीचाली र उसको छनोट गर्ने तरीका ऊ बाँचेको समाजको सामाजिक, आर्थिक, राजनीतिक, ऐतिहासिक र सांस्कृतिक अवस्थाले निर्धारण गरेको हुन्छ।
त्यसकारण समाजमा बस्ने कुनै पनि मानिसको जीवनलाई बुझ्न उसको इतिहासलाई बुझ्नुपर्दछ। त्यसैगरी, कुनै पनि समाजको इतिहासलाई बुझ्न त्यस समाजका सदस्यहरूको जीवनीलाई बुझ्नुपर्दछ’ (मिल्स, सन् १९५९)। मिल्सले भने झैं हामी आफू जन्मेको-हुर्केको समाजबारे इतिहास खोज्ने र सोही इतिहासको आधारमा वर्तमानलाई बुझ्ने सचेत प्रयासको परिणाम हो- ढोरपाटन: इतिहास, समाज र अर्थ-राजनीति। पुस्तकले ढोरपाटनको इतिहास, समाज र अर्थ-राजनीतिलाई ढोरपाटनकै आँखाबाट हेर्ने प्राज्ञिक प्रयास गरेको छ। किनकि पुस्तकको विषयवस्तु र लेखक दुवैले हालको ढोरपाटन नगरपालिकाको प्रतिनिधित्व गर्दछन्।
सामान्यतया इतिहास ‘जित्नेहरूको मात्र लेखिन्छ’ भन्ने आमविश्वास छ। हुन पनि अहिलेसम्मको इतिहास लेखन विजेता, राजा-महाराजा, पहुँचवाला र शक्तिशाली शासकहरूको इतिहासबाट निर्देशित रहँदै आएको छ। नेपालको राष्ट्रिय इतिहास लेखन पनि लामो समयदेखि शासककेन्द्रित नै छ। तर अब विश्वव्यापीकरणको प्रक्रियासँगै शिक्षा, सचेतना र सूचना प्रविधिमा आएका परिवर्तनले सीमान्तीकृत एवं भुइँतहका आममानिस, समुदाय र समाजको इतिहास लेखन पनि लोकप्रिय र बलशाली हुँदै आएको छ। ढोरपाटन : इतिहास, समाज र अर्थ-राजनीति पुस्तक पनि शासकहरूको बेवास्तामा परेको र भुइँतहको समाजको कथाहरूको सँगालो हो। तसर्थ पुस्तकको स्पष्ट सन्देश यो छ कि ‘यो हाम्रो आफ्नै गाउँठाउँ र समाजको स्व-इतिहास हामी आफैंले लेखेका छौं।’
दस्तावेजीकरणको रहर
पुस्तक लेखनको शुरूआती चर्चा २०७९ सालको फागुनमा हरिचन छन्त्याल र तुल्सीराम सापकोटाको आपसी छलफलबाट शुरू भएको हो। दुवै जना अधिकारीचौरका रैथाने भएका कारण साविक अधिकारीचौरको इतिहास, समाज, राजनीति र शिक्षासँग सम्बन्धित विषय दस्तावेजीकरण गर्ने छलफलबाट शुरू भएको थियो। त्यसपछि आफू जन्मेको गाउँठाउँको अभिलेखीकरण गर्ने प्रस्ताव सहित काठमाडौंमा उपस्थित ढोरपाटनका अगुवाहरूबीच औपचारिक-अनौपचारिक छलफल थुप्रै पटक भए। परिणामस्वरूप २०७९ चैत १८ गते ढोरपाटन नगरपालिकाबाट काठमाडौं आई बसोबास गर्नेहरूको प्रतिनिधिमूलक भेलाले तुल्सीराम सापकोटाको संयोजकत्वमा ‘ढोरपाटन सरोकार समाज, काठमाडौं’ गठन गर्यो। यो पुस्तक तयार पार्न लेखन र सम्पादन संयोजनको भूमिका हरिचन छन्त्यालले निभाउनुभयो।
त्यसपछि कामको थालनी भने २०८० को शुरूआतबाट भयो। शुरूमा ढोरपाटनको सामाजिक, आर्थिक र राजनीतिक इतिहास दस्तावेजीकरण गर्ने रहरले शुरू गरिएको छलफल अन्ततः ढोरपाटनबारे एउटा भरपर्दो पुस्तक लेखन/प्रकाशन गर्ने निचोडमा पुगियो। विशेषतः पुस्तकमा ढोरपाटनको इतिहास, सामाजिक जनजीवन, अर्थ-राजनीति, प्रेरणादायी व्यक्तित्वका जीवन भोगाइ र स्मृतिलाई समावेश गर्ने खाका बन्यो। जसले ढोरपाटन क्षेत्रको इतिहास, समाज र राजनीतिबारे आगामी पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने उद्देश्य बोकेको छ।
यसको पछाडि ऐतिहासिक कालखण्डदेखि निसी, भुजी, तमान र बडिगाड क्षेत्रका आमनागरिकले बहु-तहमा भोग्दै आएको अवधारणागत, संरचनागत, भौगोलिक र प्रशासनिक समस्या एवं विभेदको मुख्य भूमिका छ। जसबाट छुटकाराका निम्ति अग्रजहरूले २०२० सालको मध्यदेखि विभिन्न समयमा छुट्टै जिल्लाको माग पनि गरे। कहिले हाइस्कूलको ‘ललीपप’ मा झुक्कियौं। कहिले संविधान संशोधनद्वारा निसीभुजी केन्द्र बन्न सक्ने राज्यको तल्ला तहका एकाइहरू प्यूठान र रुकुम जिल्लामा समावेश गरिए र रनभुल्लमा पर्यौं। तर राज्यले कालीगण्डकीको किनारमा बसेर भेरी र बडिगाडको शिरमा विकासको मूल फुटाउने भजन गाइरह्यो।
संविधानसभा मार्फत राज्यको पुन:संरचना गर्दैगर्दा उठेको छुट्टै जिल्लाको मागको आन्दोलनलाई अखण्ड बाग्लुङ र मानव साङ्लोको नामले तुहाइयो। ‘अचानोको पीर, खुकुरीलाई के थाहा?’ विभेद र समस्या नहुँदो हो त सात दशकभन्दा लामो निर्वाचनको इतिहासमा निसीभुजी र तमानमा जन्मेका नागरिक राष्ट्रिय तहको नीतिनिर्माणमा सहभागी हुन्थे होलान्। तर २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावको अपवाद बाहेक कोही भएनन्। त्यसैले आफ्नो गाउँठाउँको इतिहासलाई दस्तावेजीकरण गर्ने रहरले अन्ततः ढोरपाटन : इतिहास, समाज र अर्थ-राजनीति पुस्तक जन्मियो।
इतिहासका चिनाहरू
ढोरपाटनको ऐतिहासिक पहिचानलाई बुझ्न विभिन्न प्रतीकहरू महत्त्वपूर्ण छन्ः ब्वाँसो, नाउर, बँदेल (बराह), भुजीपात, भेडाको ऊन र खानी। मानव सभ्यताको इतिहासलाई सरसर्ती हेर्दा शिकारी युगको चरणमा जंगली कुकुर (ब्वाँसो प्रजाति) मान्छेसँगको सम्पर्कमा आएको र जुठो खान पल्किएपछि झन् नजीक भएको विश्वास गरिन्छ। त्यसैले पशुपालन र कृषि युगको आरम्भमा कुकुर नै पहिलो पाल्तु जनावर भयो। १८ हजार वर्षअघि शिकारीले फ्याँकेका जुठो खाने लोभमा शिकारीको वास वरपर जंगली कुकुर घुमफिर गर्न थाले। ती जंगली कुकुर भुकेर हिंस्रक जंगली जनावर रहेको छेउछाउ नजान समेत शिकारीलाई पूर्व संकेत गर्दथे। जंगली कुकुरलाई बिस्तारै शिकारीले आफ्नो संगतमा लिएर पहिलो पाल्तु जनावर बनाए।
त्यसपछि कुकुर घरपालुवा भएर मान्छेको असली पहरेदार बन्यो। पाल्तु ती कुकुरले जंगली जनावरहरूलाई लखेटेर घाइते बनाएर मान्छेलाई शिकार गर्न समेत सहयोग गरे। त्यसपछि मान्छेले भेडाबाख्रालाई घरपालुवा जनावर बनाए (कोरोव्किन, सन् १९८१:२५)। समाज विकास चरणको यो सन्दर्भ औंल्याउँदा ढोरपाटनको माथिल्लो क्षेत्रमा बँदेल, नाउर, घोरल र ब्वाँसो पाइन्छन्। ढोरपाटन उपत्यकामाथिका विशाल बुकी खर्कमा भेडापालन र गोठ हुनुले माथिको भनाइलाई पुष्टि गर्दछ।
ढोरपाटन उपत्यकामा उत्तरगंगा नदीको उद्गमस्थलमा ढोर बराह सहित सो क्षेत्रमा सिद्ध बराह, लाटा बराह, सिम बराह, चिसापानी बराह र जल्पा बराह पनि रहेका छन्। धेरै भेडा पाल्ने ठाउँमा बराह देवताको वासस्थान हुन्छ भन्ने मगर समुदायमा धार्मिक विश्वास र आस्था रहेको छ। घरपालुवा भेडा र नाउर भनिने जंगली भेडालाई बराह देवताको प्रतीक मान्ने गर्दछन्। यहाँका मगर समुदायले बराह देवतालाई शक्ति, बुद्धि प्रदानसँगै कुलको रक्षा गर्ने प्रतीकका रूपमा पुज्ने गर्दछन्।
त्यसैगरी ’ढोरपाटन’ नाम कसरी रहन गयो होला ? जसको नामले हामी ’ढोरपाटनवासी’ भएका छौं। ढोरपाटन बन्नमा पक्कै पनि त्यहाँको प्रकृति, मानव जातिको भाषिक, सांस्कृतिक, रैथाने परम्पराले थुप्रै संक्रमण पार गरेको छ। हामीले भेट्ने-देख्ने खोलानाला, ठूला पहाड, उच्च हिमाल, समथर घाँसे मैदान, पहरा र पत्थर निश्चय नै मानव सभ्यताभन्दा पहिले नै थिए। जसका नामकरण जुन समुदाय पहिले आयो र आफ्नो भाषा, परम्परा, संस्कृति अनुसार आकृति हेरेर राख्यो। अहिलेसम्म फेला पारिएका इतिहासका दस्तावेजहरूले पक्कै पनि ढोर, ढोरपाटन र उत्तरगंगाभन्दा पहिले ‘भुजी’ को सन्दर्भ आउँछ।
भोजपत्रलाई समाज विकासका क्रममा मान्छेहरूले प्रयोगमा लिएको सन्दर्भले ‘भुजी’ ढोरपाटनको पहिलो जननी हो। भोजपत्रको जंगल भएकाले ‘भुजीपात’ को कपडा लगाएका राजालाई ‘भुजेल मगर राजा’ भनिएको र त्यहाँको नजीक चुइनेटा देउरालीको पूर्वतिरको मुहानबाट बग्ने खोलाको नाम ‘भुजीखोला’ रहन गएको हो भन्ने स्पष्ट छ। प्राचीन समयमा भोजपत्र वा भुजीपातमा लेख्ने चलन थियो। भारतमा दोस्रो-तेस्रो सहस्राब्दी ईसापूर्वमा विकास भएको ब्राह्मी लिपि र खरोष्ठी लिपिलाई भारतीयहरूले सुकेको पात (ताडपत्र), भुर्जको छाल (भुर्जपत्र) आदिमा लेख्ने गर्थे (कोरोव्किन, सन् १९८१:९७)। ढोरपाटनमा भुजीपातको जंगलै छ। गाउँमा प्लास्टिकको चलनपछि सेंगुमा साप्ने भुजीपात त्यसको रूखबाट झिक्नै छोडियो।
झरीबाट बच्न निंगालोबाट बुनिएको दुईपाखे परम्परागत ओराउलाई सेंगु भनिन्छ। यही ऐतिहासिक तथ्यलाई चिनाउन पुस्तकको मुख्य पृष्ठ (कभर)मा भुजीपात राखिएको छ। पहिले ढोरपाटनको घर घरमा हुने भुजीपात अहिले दुर्लभ भएको छ। भुजीपात र त्यसको फोटो पाउन निकै मिहिनेत गर्नुपर्यो। वनमा गएर फोटो खिचियो, तर भने जस्तो तस्वीर कैद गर्न सकेनौं। गाउँमा भुजीपात झिक्ने विधि र सीप भएका अग्रजहरू सक्किनुभयो भन्ने गहिरो अनुभूति गरिरहेका छौं। जसले इतिहासका चिनाहरू कति छिटो लोप हुँदै छन् भन्ने बोध भएको छ।
भुजीपातको जस्तै अर्को प्रसंग ‘रेशमी महापथ’ को छ। दोस्रो शताब्दीको ईसापूर्व चीनमा हान वंशको सम्राट्को सेनाले आक्रमण गर्यो। जहाँ सीप, कला भएका हूण जातिको सघन बसोबास थियो। हान वंशको सेनाले हूण जातिलाई कब्जामा लिएर दास बनायो। त्यतिले मात्रै नपुगेर हान साम्राज्य मध्यएशियालाई समृद्ध बनाउने अभियानमा लाग्यो। हान वंशको साम्राज्य पूर्वदेखि पश्चिमसँगै सारा एशिया वारपार गर्नेगरी फैलियो। पूर्व-पश्चिम एशियाली मार्गलाई ’रेशमी महापथ’ नामकरण गरियो। यही मार्ग प्रयोग गरेर चीनले रेशमी कपडाको व्यापार गर्यो। उक्त रेशमी मार्ग सिल्करोड हुँदै अहिले बेल्ट एन्ड इनिसिएटिभ (बीआरआई)का रूपमा स्थापित गरिएको छ।
बीआरआई नेपालमा कार्यान्वयनको पक्षमा छ। बीआरआई पुरानो सिल्करोडको नयाँ स्वरूपमा विश्वलाई एउटै क्षेत्र र एउटै सडक बनाएर जोड्ने लक्ष्य सहितको चिनियाँहरूको महत्त्वाकांक्षी परियोजना हो। चीनको रेशमी कपडाको विश्वमै सबैभन्दा माग थियो (कोरोव्किन, सन् १९८१:९७)। हिन्दूको प्रभाव नपर्दै हूणहरू नेपाल आएको सन्दर्भ औंल्याउँदै जनकलाल शर्मा (२०३९) लेख्नुहुन्छ- ‘हूणहरूले उत्तरबाट हाम्रो प्रायद्वीपमा जुन समय बाटो खोले त्यसको पछिपछि अर्को जाति हेप्ताल पनि आयो। खासमा हेप्तालहरूमा हूण जातिको सांस्कृतिक प्रभाव पर्यो। तथापि हेप्तालहरू मूलतः मध्यएसियाका बासिन्दा थिए।’
यही समयमा उत्तरी क्षेत्रबाट नेपालमा हूणहरू प्रवेश गरेको देखिन्छ। रेशमी धागो बनाउन सिपालु उनै हूणहरूकै सन्तानका रूपमा त्यस क्षेत्रमा धागो बनाउने कला फैलिएको बलियो प्रमाण छ। अहिले पनि निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाच्यांग्राको ऊन, भांगो र पुवा (अल्लो)को धागो एवं कपडा बनाउने चलन जीवितै छ। त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम-काम्लो, राडी-पाखीलाई प्रयोग गर्ने चलनलाई जातीय-सांस्कृतिक रूपमा रैथाने पहिचान मानिन्छ।
(उजिर मगर, हरिचन छन्त्याल, झकेन्द्र घर्ति मगर र गोबिन्द छन्त्यालद्वारा सम्पादित ढोरपाटन : इतिहास, समाज र अर्थ-राजनीति पुस्तकको परिचयबाट साभार। यो पुस्तक आजै सार्वजनिक भएको छ।)





