बागलुङ/नेपाल प्रेस युनियन बागलुङले स्थापना दिवशमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । केन्द्रीय सर्कुलर अनुसारका कार्यक्रम तय गर्न आइतबार बसेको जिल्ला शाखाको बैठकले अस्पतालका बिरामीलाई फलफूल बितरण, दिप प्रज्वलन, खेलकुद र अग्रज पत्रकारसंग संवाद कार्यक्रम गर्ने तय भएको युनियनका अध्यक्ष संगम घर्तीमगरले बताए ।
पाका पुस्ताको अनुभव साटासाट गर्ने उद्देश्यले संवाद कार्यक्रमको आयोजना गरिएको घर्तीमगरले जानकारी दिए । युवा पुस्तामा पत्रकारिताको चासो कम भएको, पाका पुस्ताले गरेको दुःख बारे युवामा थाहै नभएकोले अनुभव साटासाट गर्न यो कार्यक्रम ल्याइएको हो । त्यस बाहेकका नविनतम कार्यक्रम पनि सप्ताहमा जोड्ने बताइएको छ । जेठ १३ गते स्थापना दिवश भएकाले १२ गतेदेखि कार्यक्रम शुरु हुनेछन् ।
दुइ साताअघि लोमान्थाङ मिडिया समिट आयोजना गरेको केन्द्रीय समितिले साताव्यापी कार्यक्रम गर्ने भएपछि जिल्ला शाखाले पनि विभिन्न कार्यक्रम तय गरेको हो । प्रेस स्वतन्त्रता, सूचनाको हक लगायतको क्षेत्रमा पनि युनियनले औपचारिक र अनौपचारिक कार्यक्रम गर्ने छ । २०४८ सालमा नेपाल प्रेस युनियन स्थापना भएको थियो । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा युनियनले काम गर्दै आएको छ । अन्तराष्ट्रिय पत्रकार महासंघमा पनि युनियन सदस्य छ ।





