सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ओढारचौर–ढोडेनी सडक कालोपत्र

ओढारचौर–ढोडेनी सडक कालोपत्र


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार
फाइल तस्विर

तस्बिर : नारायण रिजाल
बागलुङ/ट्याक खुलेको २५ वर्षपछि ओढारचौर–ढोडेनी सडक कालोपत्र भएको छ । सदरमुकामबाट नजिकै रहेर पनि सडक सुविधाबाट बञ्चित बनेका बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीबासीले गैँची, बेल्चा र कोदालोको सहायताले २०५६ सालमा ट्याक खोलेको ओढोरचौर–ढोडेनी कालोपत्र गरिएको हो ।

सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम शुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए । साढे दुई किमी लम्बाईको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाईएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।

सहरी शासकीय तथा पूर्वाधार सुधार कार्यक्रममार्फत तरकारी गाउँले परिचित ढोडेनी कालोपत्र सडकले जोडिएको हो । तरकारी र दुध उत्पादन गरेपनि जीर्ण सडकले समयमै बजार पठाउन नसक्दा निराश किसानमा सडक कालोपत्र भएपछि सहज आवातजावत र कृषि उपज ढुवानीमा राहत मिल्ने भएपछि खुशीयाली छाएको छ । स्थानीयले गैँची र कोदालोको सहाराले ओढारचौरको पहरो काटेर सडक बनाएको ढोडेनीका प्रेम प्रसाद आचार्यले विगत कोट्याए ।

तत्कालिन जिल्ला विकास समितिको ५ लाख रुपियाँ बजेट र ३६ दिनको श्रमदानबाट बनेको मोटरबाटो स्तरोन्नतिसहित कालोपत्रे ढोडेनीबासी दंग छन् । ‘हामीले दुखझेलो गरेर बनाएको बाटो छोरानातीको पालामा कालोपत्र भयो’’ आचार्यले भने । यो सडकको साढे दुई किलोमीटर सडक कालोपत्र भएपछि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर पर्वतको लस्ती, मालढुंगाहुँदै बागलुङ बजार पुग्नुपर्ने बाध्यता अन्त्य भएको ढोडेनीका ७६ वर्षिय जिवानन्द सापकोटाले बताए ।

पर्वतको लस्ती, धाइरिङ र बागलुङको ढोडेनीका किसानले उत्पादन गरेका तरकारी, फलफूल र दूध म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री गर्छन् । ‘‘सडक कालोपत्रे भएपछि हामीलाई धेरै फाइदा पुग्छ’’ लस्तीका दुध उत्पादक कृषक टेबहादुर क्षेत्रीले भने । पर्वतको लस्ती, खनियाघाट, मालढुंगाहुँदै १५ किलोमीटर दुरी पार गरेर बागलुङ बजार पुग्नुपर्ने नागरिकलाई उपल्लाचौर–ढोडेनी सडक कालोपत्र भएपछि ७ किमी दुरी छोटो पर्ने छ ।

नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी शुरु गरेका तीन सडकमध्ये बागलुङ नगरपालिका वडा नं. १ रामरेखाको गणेशघुम्तीदेखि निरयघाट जोड्ने १ किलोमिटर ६ सय मिटर लम्बाईको सडक कालोपत्र गर्ने काम सकिएको छ भने ओढारचौर–ढोडेनी सडकमा अहिले कालोपत्रको काम चलिरहेको छ । यस्तै, वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी सडक कालोपत्र गर्ने तयारी भईरहेको छ ।

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोड रुपियाँमा तीन सडक स्तरोन्नतिसहित कालोपत्रको काम गरिरहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउँछन् । यसअघि विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको ७ किमी सडक कालोपत्र भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->