बागलुङ/गलकोटमा शुक्रबार बिहान साँढे १० बजे एक पुरुष मृत भेटिएका छन् । गलकोट नगरपालिका ३ को सुस्मिता गेष्ठ हाउसको माथिल्लो तलामा अन्दाजी ५५ वर्षिय सुवोध कुमार कुशवाह मृत भेटिएका हुन् ।
पर्सा जिल्लाको कालीकामाइ गाउँपालिका २ का कुशवाह सुतेकै खाटमा मृत भेटिएको प्रहरीले बताएको छ । उनी मृत भेटिएको थाहा पाएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरी नायव निरीक्षक तोरणध्वज पौडेलको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थल जाँच गरेको थियो ।
त्यसपछि बुर्तिवाङबाट आएका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्वको टोलीले पनि थप अनुसन्धान गरेको बताइएको छ ।
अघिल्लो दिन अत्याधिक मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । मृतक अघिल्लो महिनासम्म गलकोटको निजी विद्यालयमा अध्यापन गराउने गरेका थिए । विद्यालयले उनलाई शिक्षकबाट हटाएपछि उनी गलकोटमै थिए ।





