पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगमा १ सय ७७ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि २२ जिल्लाका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । सहयोगले बिभिन्न जिल्लाका कक्षा ९ मा पढ्ने ९ जना विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि छात्रवृत्ति प्रदान गरेको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा चिल्ड्रेन एकेडेमीका संस्थापक प्रिन्सिपल हिमाल गुरुङले प्रतिष्ठानको सहयोगले तमु समुदायका विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले विद्यार्थीहरुलाई सुझाव दिंदै शिक्षाको साथमा क्षमता अभिबृद्विसंगै अहिलेको परिवेशमा सिपयुक्त शिक्षा लिन आग्रह गरे । उनले सहयोग रकम ठुलो नभएको बताउँदै विद्यार्थीहरु प्रतिष्ठानसंग जोडिनु महत्वपूर्ण बिषय भएको उल्लेख गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवम् अधिवक्ता कर्णवहादुर तमुले संस्था स्थापनासंगै तमु समुदायको हकहितमा काम गरिरहेको बताए । छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई उक्त छात्रवृत्तिको सहि सदुपयोग गर्न उनको आग्रह थियो ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुको तर्पmबाट बोल्दै वनस्थली मावि लमजुङको कक्षा १० मा अध्ययनरत संगिता गुरुङले प्रतिष्ठानको सहयोगले राहत मिलेकोले उर्जाका साथ अध्ययनलाई अघि वढाउने बताइन् । २०५८ सालमा स्थापना भएको प्रतिष्ठानले २०६६ सालदेखि छात्रवृत्ति वितरण गर्दै आएकोमा हालसम्म ६ सय ४५ जनालाई छात्रवृत्ति वितरण गरिसकेको छ ।





