बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

असार पन्ध्रमा दही चिउराको महत्व

असार पन्ध्रमा दही चिउराको महत्व

दही चिउरा खान असार १५ गतेका दिन विशेष मानिएता पनि दही चिउरा स्वास्थ्यका लागि निकै राम्रो सन्तुलित आहार भएकाले यो खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीँ स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ ।


  • डा. नरनाथ पाण्डे
  • असार १५ २०८२, आइतबार

पृष्ठभूमि
केही वर्ष पहिलासम्म असार पन्ध्रका दिन विशेष रमाइलो हुनेगथ्र्यो । सामाजिक सञ्जाल र विज्ञान प्रविधिको युग नआउँदै गाउँघरमा असार पन्ध्रलाई सम्झँदा अहिलेसम्म पनि मनमा आनन्द आउने गर्छ । गाउँघरमा झमझम पानी परिरहेको, जताततै हरियाली वातावरण, नदीनाला र खोल्साखोल्सीहरू सुसाइरहेको आवाज, चराको चिरबिर र भ्यागुताको टर्रटर्र आवाज, खेतमा रोपाहा, आली बनाइरहेका वा छेउँकुना खनिरहेका बाहुसे, गोरु खेदिरहेका जोताहा, धानको बीउ गोडिरहेका वा खेत रोपिरहेका रङ्गीचङ्गी वस्त्र धारण गरेका र सुरिलो आवाजमा संयुक्तरूपमा दुःख, बिलौना वा मनोरञ्जन मिश्रित असारे गीत गाउँदै र यदाकदा पञ्चेबाजाको रमाइलो उत्सवसँगै काममा व्यस्त रहेका महिलाहरू, हिलोमा रमाउँदै हिलाम्मे शरीर बनाएका युवायुवतीहरू, दही चिउरा, केरा, अचारको परिकार र खाजा आदि स्मरणमा आउने गर्छ । अर्थात् खेतीपातीमा व्यस्त रहनुपर्ने असारको मध्य महिना असार १५ निकै महत्त्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन मानो रोपेर मुठी फलाउने दिनका रुपमा प्रौढ जनमानसमा अझै चित्रित छ । अहिले आएर असार पन्ध्रको महत्व बुझेर नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर पर्वका रूपमा मनाउन अपिल गरेको छ । परम्परादेखि नै असारमा खेतीबाली लगाउने, धान रोप्ने वा कुनै बिरुवा रोप्ने र कम्तीमा वर्षमा एकपटक भएपनि हिलो छुनुपर्ने मान्यतामा असार १५ लाई नेपाली समाजमा मनाउने गरिन्छ । यही दिनलाई दही चिउरा खाने दिन भनेर पनि नेपाली समाजमा बुझिन्छ । दिनभर काम गर्ने र खाजाको रूपमा दही चिउरा खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा प्रचलित छ । असार १५ मा दही चिउरा नै किन खाने वा यसको प्रचलन किन चलाइएको रहेछ त भनी विश्लेषण गरी हेर्दा दही र चिउराको सेवन गर्नु वर्षायाममा फाइदाजनक छ कि छैन र छ भने किन त भन्नेबारेमा आधारित रही यो आलेख तयार गरिएको छ ।

दहीको महत्व
प्राचीनकालदेखि नै प्रयोगमा ल्याइएको पौष्टिकताले भरिपूर्ण स्वादिलो दुग्धजन्य पदार्थ दही हो । दुधलाई विभिन्न फाइदाजनक व्याक्टेरियाले प्रशोधन गरी जमाएर दही बनाईदिन्छन् । दुधमा पाइने सुगरलाई व्याक्टेरियाले ल्याक्टिक एसिडमा परिणत गराई दुधको प्रोटिन तयार गर्दा दही बन्न जान्छ । दही प्रायः गाई, भैंसीे र केही मात्रामा बाख्रा वा केही वनस्पतिको दुधबाट समेत तयार गर्न सकिन्छ । दुधमा पाइने ल्याक्टोबेसिलस, स्ट्रेप्टोकोकस, ल्याक्टोबेसिलाई, बिफिडो व्याक्टेरियाले दुधबाट दही बनाइदिन्छन् । दही बनाउनको लागि सर्वप्रथम दुधलाई तताउनुपर्छ र चिसो भएपछि त्यसमा प्राकृतिक व्याक्टेरियाले आफ्नो काम सुरु गर्न थाल्छन् र केही घण्टापछि दहीमा परिणत गरिदिन्छन् । वनस्पतिजन्य दुधमा भटमास, धान, नट्स, बदाम तथा नरिवल आदिबाट समेत दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दुधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूको लागि र भेगान वर्गको लागि लाभदायक हुन्छ ।

दहीे प्रशोधित दुग्ध पदार्थ हो जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिनहरू (भिटामिन ए, बि१२, बि२, कोलिन आदि) पाईन्छन् । यसको सेवनले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्टेरोल कम हुने, पाचन राम्रो हुने, प्रतिरोध क्षमता बढ्ने जस्ता फाइदा हुन्छन् ।

लेखक

धेरै मात्रामा दही उत्पादन गर्दा वा उद्योगमा दही तयार गर्नुपर्दा पास्चुराईजेसन गरेर वा हानिकारक व्याक्टेरिया मारेर मात्र तयार गरिन्छ । त्यस्तै दहीलाई प्रोबायोटिक्स्को रूपमा तयार गर्दा सुरुमा हानिकारक व्याक्टेरिया नष्ट गरी त्यसमा लाभदायक ल्याक्टोबेसिलस व्याक्टेरिया राखिन्छ र प्याकिङ्ग गर्नु अघि राम्रोसँग व्याक्टेरियाको मात्रा निर्धारण गरी बजारमा पठाईन्छ । दहीलाई प्रोबायोटिक्स् पनि भनिन्छ जसले पेटको स्वास्थ्यलाई असाध्यै राम्रो गर्छ ।

दहीमा पाइने प्रोबायोटिक्स् गुण र यसका फाइदा

छोटकरीमा भन्दा प्रोबायोटिक्स् भन्नाले शरीरलाई फाइदा गर्ने जीवित व्याक्टेरिया हुन् भने प्रिबायोटिक्स् भन्नाले यस्ता लाभदायक व्याक्टेरिया राम्रोसँग हुर्कन र वृद्धि विकास हुन सहयोग गर्ने खाद्यपदार्थ हुन् । यी दुवै शरीरको लागि आवश्यक छन् ।

फाइदाजनक व्याक्टेरियाले (प्रोबायोटिक्स्) हाम्रो शरीरमा रोग विरुद्ध लड्ने क्षमता बढाउने, डिप्रेसनका लक्षणहरू सुधार गर्ने, मोटोपन घटाउन सहयोग गर्ने, ल्याक्टोज नपचाउने व्यक्तिमा देखापर्ने लक्षण हटाउने, रोग प्रतिरोध क्षमता बढाउने, एन्टिबायोटिक सेवन गर्दा हुने झाडापखालाको रोकथाम गर्ने, पेटको गम्भीर समस्या (आई.बि.डि.) को रोकथाम गर्ने, कोलेस्टेरोल नियन्त्रणमा राख्ने, भिटामिन ‘के’ र शरीरलाई आवश्यक तत्व बनाउने जस्ता काम गर्दछन् । यस्ता तत्व (फ्याटी एसिड) ले ठूलो आन्द्राको भित्री तहलाई सुरक्षा गर्ने र बलियो बनाई हानिकारक पदार्थ, भाईरस र अन्य हानिकारक व्याक्टेरियाको असरबाट बचाउँछन् । साथै ईन्फ्लामेसन घटाउने र क्यान्सरको जोखिम पनि घटाउने काम गर्दछन् । प्रिबायोटिक्स् ओट्स, केरा, बेरी, लसुन, प्याज, फलफूल, तरकारी तथा गेडागुडीमा प्रशस्त पाईन्छ भने प्रोबायोटिक्स् दही र प्रशोधित खाना (किम्ची र केही अचार) मा पनि पाईन्छ । त्यसकारण पेटका अधिकांश समस्यामा प्रोबायोटिक्स् प्राप्त गर्नका लागि दही खानु राम्रो हुन्छ ।

दही खानुका फाईदाहरू
सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दहीको सेवन गर्दा हुने फाइदाहरू यसप्रकार छन्–
१. दहीमा प्रोटिन उच्च मात्रामा पाइने हुँदा यसको सेवनले ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्तमा तौल समेत कम बनाउँछ ।
२. डिप्रेसन र चिन्ता घटाउँछ किनकि प्रोबायोटिक्स्मा हुने (Lactobacillus Helveticas and Bifidobacterium longum) किटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।
३. रगतमा हुने खराब कोलेस्टेरोल (LDL) घटाउँछ ।
४. विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।
५. सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ ।
६. डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।
७. कोषहरूको विभाजन, कार्य र क्षमतामा बृद्धि ल्याई बुढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्वहरूले हाड कमजोर हुने वा मक्किने रोग (ओस्टोपोरोसिस्) लाई पनि निको बनाउँछन् ।
८. पाचन राम्रो बनाउने र स्नायु सम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ ।
९. दहीमा हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वहरूले (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) भरिपूर्ण हुने भएकोले दहीको सेवनले रोगविरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।
१०. दहीको सेवन गर्दा यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला र कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।

दही सेवन गर्न नहुने अवस्थाहरू
दहीको सेवन गर्दा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्याँस चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन्छन् भने पछि पछि यी समस्या घट्दै जान्छन् । यदि दहीको सेवन गर्दा अन्य समस्या देखापर्ने गरेका छन् भने दहीका प्रतिअसर पनि हुनसक्छन् । उदाहरणका लागि दुधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनैपनि दुग्ध पदार्थ र दहीको समेत सेवन गर्नु हुँदैन । यो बाहेक निम्न अवस्थामा दही सेवन गर्नु हानिकारक हुन्छ–

१. ल्याक्टोज पचाउन नसक्ने अवस्था : कसै कसैको शरीरमा ल्याक्टेज तत्वको अभाव भएको अवस्थामा दुधमा भएको ल्याक्टोज सुगर पच्दैन जसले गर्दा पेटका विभिन्न समस्याहरू देखिन्छन् । यदि त्यस्ता व्यक्तिमा ल्याक्टेज इन्जाइमको अभाव छ भने दही वा कुनैपनि दुग्ध पदार्थको सेवन गर्दा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

२. दुधको एलर्जी : दुग्ध पदार्थमा पाइने केसिन र ह्वे (Casein and whey) जस्ता प्रोटिनको कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीं मृत्युजन्य अवस्था (एनाफाइलेटिक सक) आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थको सेवन गर्नुहुँदैन ।

३. चिनी राखेको दही : दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकोले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।

४. विरुद्ध आहार : चिया, कफि, दुध, पनीर, खिर, काँक्रा, खरबुजा, मेवा आदि दहीसँग विरुद्ध आहार हुने भएकोले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।

चिउराको महत्व
धानलाई भिजाएर हल्का सुकाएर चिउरा तयार गर्ने मिल वा ओखलमा कुटेर मात्र चिउरा तयार गरिन्छ । यो नेपाली परम्परागत र लोकप्रिय खाद्यपदार्थ हो । चिउरा खान पनि स्वादिलो हुनुका साथै यसमा प्रशस्तै पौष्टिक तत्वहरू पाइन्छन् । मुख्यगरी चिउरामा भिटामिन, खनिज, फाईबर, कार्बोहाइड्रेट र प्रोटिन पनि पाइन्छ । चिउरा पकाउनु नपर्ने भएकाले तयारी खानाका रूपमा र अन्य खाद्यपदार्थसँगै खान सकिन्छ, यसमा अलि बढी मात्रामा कार्बोहाइड्रेट पाइने हुँदा शक्तिको मुख्य स्रोत हुनसक्छ, चिउरा सेवन गर्दा डम्म अघाएको महसुुस् हुने र अडिलो बनाउँछ, यसका साथै चिउरा तयार गर्दा फलामको मिलमा कुटिने हुँदा आइरन तत्व पनि पाउन सकिने भएकाले चिउराको बढी नै महत्व रहेको छ ।

दही र चिउरा सँगै मिसाएर खाँदा हुने थप फाइदा
नेपाली परम्परामा दही र चिउरा मिसाएर खाने प्रचलन रहेको छ । दही चिउरा खाने दिन भनेर असार १५ लाई भनिएको भएता पनि दही चिउरा खाजाको रूपमा खाने प्रचलन नै रहेको छ । दही र चिउरा मिसाएर खाँदा थप फाइदा हुन्छ । गर्मी याममा बढी पसिना जाने, बढी परिश्रमका साथ काम गर्नुपर्दा शक्ति खपत हुनेहुँदा दही चिउरा मिसाएर खाँदा पानीको मात्र पनि परिपूर्ति हुन्छ, शीतल हुन्छ, तिर्खा मेटिन्छ, डम्म अघाइन्छ र पुनः काम गर्न सकिन्छ । खेर गएको शक्ति आपूर्ति हुन्छ र शरीरमा आवश्यक अन्य तत्व पनि प्राप्त गर्न सकिन्छ । दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, किनकि यसबाट थप शक्ति र अन्य तत्वहरू पनि प्राप्त हुन्छ । तर दहीमा सकभर चिनी मिसाएर खानु राम्रो हुँदैन । गुलियोको आवश्यकता परेमा केरा वा आँप मिसाएर खाँदा धेरै लाभ पाउन सकिन्छ । दही चिउरासँगै थप तरकारी वा अचार मिसाएर खान पनि सकिन्छ । दही चिउरा तयार गर्न पनि सजिलो हुने किनकि कामको चाप परेको बखत यो राम्रो खाजाको रूपमा हुनसक्छ भने बढी परिश्रम गर्नुपर्ने, बढी पसिना आउने, गर्मी हुने बखतमा दही चिउरा सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक छ ।

सारांशमा,
असार १५ गते नेपालीहरूका लागि धान दिवसको रूपमा मनाइने र खेतीपातीमा व्यस्त रहनुपर्ने महत्वको दिन हो । यो दिनमा सकेसम्म सबै खेतबारीमा गएर केही न केही खेती लगाउने वा स्याहार सुसार गर्ने र बिरुवा रोप्ने मात्र गर्ने हो भने पनि एउटा संस्कारकै रूपमा विकास हुनेछ । यस दिनमा खाजाको रूपमा दही चिउरा खाने चलन पनि छ । विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । गर्मी मौसममा त दही मानिसको लागि एक वरदान नै हो, जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । तर दही खाँदा समय मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, छाछ, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही खाँदा बिहानको समय उत्तम र त्यसपछि दिउँसोको समयमा पनि ठिक हुन्छ तर दही रातमा खानु त्यति राम्रो मानिँदैन । राति खाएको दहीले चिसो लाग्नसक्ने र पाचनमा प्रतिकूल प्रभाव पर्नसक्छ । अपच हुने र पेट बिग्रने एउटा मुख्य कारण खाना खान नजान्नु, नमिलाउनु र समयको बारेमा जानकार नहुनु हो । जे होस् दही चिउरा खान असार १५ गतेका दिन विशेष मानिएता पनि दही चिउरा स्वास्थ्यका लागि निकै राम्रो सन्तुलित आहार भएकाले यो खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीँ स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ । तर यति भन्दै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र दही खानु नै उत्तम हुन्छ । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->