शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

…र, ऊ पनि गइ !

…र, ऊ पनि गइ !

एयरपोर्टबाट बाहिरिएका केवल पाइला मात्रै थिएनन्, एउटा बलियो साथ पनिसँगै बाहिरिएको थियो  ।


  • रिया शर्मा
  • साउन १६ २०८२, शुक्रबार

प्रिय आकु,

म यता सन्चै छु, तिमी पनि सन्चै छौ नि ? एक्कासी पत्र देख्दा तिमी छक्क परौली ! अन्यथा नमान ल । बोल्न नसकिएको भावनालाई आज म शब्दमा उतार्दै छु । यो पत्र तिमीलाई भन्न नसकेको, तर मनभरी भएको छटपटीको अन्तस्करण हो । त्यो दिन जे भनिएन, अहिले त्यही लेख्दैछु ।

आज त तिमी विदेसिएको तेस्रो दिनमा आँखाभरी आँसु अनि मन हल्का होला भन्ने विश्वास लिएर यो पत्र कोर्दै छु । तर, आजको शब्दहरू अलि भारी छन्, अलि ओइलिएका पनि । कलम उचाल्दै गर्दा लाग्छ, यी अक्षरहरू आँसुले धमिलिएका छैनन् नि ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सयौं विदेसिएका युवा अनि अर्को हजारौं बाध्यताले बिदाइका हात हल्लाइरहेका आफन्तहरू बीचको त्यो अँगालो, त्यो थुनिएको रुवाइ, त्यो मुस्कानभित्र लुकाइएको बिदाइको पीडा अझै पनि आँखामा ताजै छ । विमानस्थलमा त्यो क्षण—जहाँ एकतर्फी यात्रा थियो तर दुईतर्फी बिछोड । जानुपर्ने र जान दिनुपर्ने बाध्यात्मक परिस्थिति ।

आँखाभरी नदेखिने आँसु, अनि मनमा चिरा पार्दै गरेको मौनता । त्यही मौनता आज यो पत्र बनेर बगिरहेको छ आकु । माउस, सबै थाहै भइसकेकै कुराहरू भैरहँदा पनि मनले ती कुराको सिलसिलालाई पचाउन सकिरहेको छैन । कहिलेकाहीँ आफूले फोन गर्न बिर्सिँदा या आफू केहीमा व्यस्त भएर तैँले मलाई गुनासो गर्दा आफ्नो बचावटमा मैले भन्ने गर्थे नि ! दिनहुँ कुरा होस् वा नहोस् हाम्रो सम्बन्ध उस्तै हुनेछ । आफ्नो सतही बचावटमा भनेका कुरामा सत्यता थियो र छ पनि । तर, म भावनात्मक रूपमा यी सबै कुरालाई सामना गर्न तयार चाहिँ रहिनछु, माउस !

प्रिय आकु,

तेरो भिजा लागेको खबर सुन्दा नेपालमा भन्दा उज्ज्वल भविष्य, आर्थिक सफलता, सबलता बारे सोचेर धेरै खुसी भए । सधैँ भिजा लगाई हाल, आइएल्सको समय सकिएला फेरि गर्नपर्छ भन्दै कराउने पनि मै थिएँ । विदेश जाने खबर त सुनायौ, म मुस्कुराएँ । त्यस मुस्कानभित्र एउटा भय थियो, जसले बिदाइको आभास दिइसकेको थियो । त्यतिबेला भन्दा अहिले बुझ्दैछु-बिदाइ त यात्राको सुरुवात हुँदोरहेछ ।

साथ छुट्दा मात्र होइन, सम्झनाले काँप्न थालेपछि बल्ल विदाइको गहिराइ थाहा हुने रहेछ । त गएपछि भीडभाडले भरिएको राजधानीमा, एक्लोपनको आभासले मलाई चुपचाप गिज्याइरहेको छ । बाह्र वर्षमा अचानक यो सजिलै कम गर्न नसकिने दुरी आएकोले होला अति धेरै भावनाले ओतप्रोत भइरहेकी छु । तँ धेरै नै आफ्नो भावना, माया, जिम्मेवारी सबै देखाउन जान्नेछस् । सधैं देखाइरहिस पनि, र रहनेछस् । तर, म अस्पष्ट अलग थिए । तँसँग भेट हुनुअघि म आफ्ना भावना देखाउन, व्यक्त गर्न वा खुलेर बोल्न पनि जान्दिनथेँ । तर, मलाई सामाजिक हुन सिकाउने, भावना व्यक्त गर्न सघाउने र आत्मविश्वास दिने समेत तँ नै होस्, माउस !

कक्षा १० सम्म आइपुग्दा पनि मेरा एकदम कम भाग्यले दिएका साथी मात्र थिए । जुन कति मेरा थिए, कति मेरो दक्षतासँग थिए । र, कति मेरो कमजोरीका साथी थिए । त्यस्ता साथीहरू अहिले सामाजिक सञ्जालका भित्ताहरूमा देखिने गतिविधिमा मात्र सीमित छन्, जहाँ लाइक गरिन्छ र औपचारिकता पूरा गरिन्छ । त्यसमध्ये केही साथीहरूबाट प्राप्त भावनात्मक विच्छेदन र गहिरो असन्तुलनले पनि होला, तँ यसरी जाँदा म अझ बढी असहज महसुस गर्दैछु । एकै घरमा बस्दा तेरो साथी बनाउने कलाको उपजको रुपमा म तेरो साथी बनिदिएँ । तर आफू बोल्न र कसैले मलाई साथी मान्छ र साँच्चै नै साथी मान्छ भन्ने कुरामा शङ्का लाग्थ्यो ।

भेट हुन अघिबाटै हामी फेसबुकमा नयाँ साथी बनाउने सन २०१४ तिरको होडमा जोडिएका रहेछौँ । त्यो दिन भाग्यले कसैले देखोस् वा नदेखोस्, आफूले नै थाहा नपाए पनि सधैं सँगै रहने सम्बन्ध बनाइरहेको छ भनी संकेत गरेको जस्तो लाग्यो । एउटै घरबाट छुटेर दुई अलग सहर गएपछि, एसएमएस र फोन कलमार्फत् हामी अझ नजिकिँदै गयौं  ।

भनिन्छ नि, सम्बन्ध यस्तो होस् कि नजिक रहँदा पहिरनको काम गरोस्, अनि टाढा हुँदा श्रृंगारको । हो यस्तै होस् त मेरो लागि ।

 यति थाहा छ, कुनै दिन जब तिमीहरू फेरि फर्किन्छ्यौ, म उही विमानस्थलमा तिमीहरूलाई रिसिभ गर्न जानेछु, त्यतिबेला यी शब्दहरू सम्झिएर हामी दुवै हाँस्न सकौँ !

कहिलेकाँही तैले मलाई माया गर्दिनस्, के के भनेर गिज्याइरहँदा मलाई खिन्न हुन्थ्यो । म किन भावना धेरै देखाउन, महसुस गरेका संवेगलाई व्यक्त गर्न सक्दिन ? मैले आफ्नो अव्यक्त व्यक्तित्वबाट जति गर्न सके सकिन ? बरु तलाई कतिपटक म चाहिएको ठाउँमा म भइन होला ? भनेर मनले आफैसँग सधैं असन्तुष्टि जनाइरहन्छ । म मा पछिल्ला केही वर्षमा पहिले भन्दा सुधार भएको जस्तो लाग्छ, तर मैले यो सम्बन्धलाई उत्तिकै प्राथमिकता, माया र जिम्मेवारीबोध गर्छु भनेर तँलाई महसुस गराउन सकें कि सकिन, थाहा छैन । जसरी रामायण हेर्दा हनुमानले छाती चिरेर मनमा राम भगवान देखाउँछन्, त्यसरी मेरा सबै भावना देखाउन मिल्ने भए हुन्थ्यो जस्तो भइरहेको छ अहिले ।

हुन त मन र मस्तिष्कलाई राम्रोसँग थाहा थियो कि राजधानी हुँदा पनि दिनहुँ भेट्न सकिँदैनथ्यो । महिना–तीन महिनामा मात्र भेट हुन्थ्यो । अब भेटौँ भन्नलाई दुई˗तीन महिना होइन दुई˗तीन वर्ष नै । सायद यो भन्दा बढी नै कुर्नुपर्ने हुनेछ । पहिले कुराकानी त दिनहुँ हुन्थ्यो । कहिले कसो दिन बिराएर । तर, यहाँ बोल्नलाई अफिस पुग्ने निस्कने बेला, खाजा खाने बेला हेथ्र्यौ भने अब मोबाइलमा एक अर्को टाइम जोन थपेर समयको अन्तर हेर्दै फोन र म्यासेज हुनेछन् ।

त सँगै सहरमा नहुँदा एक डर जस्तो लाग्दैछ माउस ! कि मैले केही कुराले मन भारी भयो भने, मन खुसी भयो भने, केही परेर, सुनेर, सोचेर म आत्तिएँ भनँे, मैले तुरुन्तै डायल गर्ने नम्बरलाई अब तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ भन्ने छ । केही आपत नै परे आउ मैसँग बस भनेर भन्ने मेरा आफन्त बाहेकको पहिलो व्यक्ति अनि भेट्न आइहाल, आइहाल्छु, भेट्नै पर्नेछ, त्यही बस्दै गर, म चाहिएको कुरा लिएर आइहाल्छु भन्ने एक मेरो गौरवको साथी, हाल अर्कै देशमा छ भनेर स्वीकार्न गाह्रो भइरहेको छ ।

अब यहाँ त्यो चाहिँदैन, खादिन, लगाउँदिन, नपठाइदे, नल्याइदे भन्दै म झगडा कोसँग गर्नु ? अब समय अनुसार यो गर, त्यो गर गर्नैपर्छ, भन्दै गरे नगरेको हेर्न आएर नगरे भने गाली कसले गर्छ ? केही कुराले ठुस्केर बस्यौं भने घरीघरी फोन र टन्न मेसेज गरेर फकाउन पनि यो टाइम जोन तगारो बन्ने भो ।  मैले दुईपटक फोन उठाइन भने घरमा फोन गरेर केही भनेकी छे ? कहाँ छे ? के गर्दै छे ? फोन उठेन भन्दै डर मानेर बस्ने अनि मैले कल ब्याक गरेपछि १० मिनेटसम्म मलाई सासै नफेरी अब गाली कसले गर्छ ? हुन त अब मज्जाले मेसोले बोल्न पाए दङ्ग हो, त्यसै ठुस्किनु त केही छैन । त्यही पनि सँगै हुँदा भइरहेका कुराहरु त यादबाट र बानीबाट हटेर कहाँ जाने रहेछन् र ! समयमा शक्ति छ, यो बानीलाई अबको नयाँ जीवनको परिवेशका अर्कावानीसँग विस्थापन अवश्य गर्नेछ । तर कहिले गरिदिन्छ यहाँ त गाह्रो भइसक्यो नि !

माउस ! तलाई त्यहाँ पनि उत्तिकै गाह्रो छ । नयाँ ठाउँ लगभग चिनेको मान्छे आफ्नो श्रीमान मात्रै । सबै कुरा जिरोबाट सुरु गरेर यहाँ जस्तै हिरो बन्नुछ । नयाँ परिवेशमा ढल्नु छ । आर्थिक, सामाजिक, व्यक्तिगत स्वास्थ्य सबै पाटालाई यो अस्तव्यस्ततामा सन्तुलन गर्नुछ ।

मलाई यी सबै कुरा सम्झेर विदेशिन डर लाग्छ तर तैले त ती सबै कुरालाई महसुस गर्दै मिलाइरहेकी छस् । तिमीहरु नयाँ परिवेशमा कसरी यी सबै असन्तुलित कुराको चपेटामा आफूलाई सम्हालेर सङ्गालेर र सशक्त उभ्याएर राख्छौ भन्ने चिन्ता अनि जसरी पनि व्यवस्थापन गरिहाल्छौँ, भन्ने विश्वास पनि छ ।

यत्तिकैको हावा गफ यता उताका कुरा गर्न सुनाउन पाएँ भने तसँग अति धेरै बोल्न सक्छु । कि तैले मलाई बीचमा ब्रेक लगाउनुपर्ने हुन्थ्यो, यो फट्यौरी यति धेरै बोल्ने रहिछे । किन चुप लाग्थी भन्ने बनाउने पनि मै हुँ । तर  मैले यो सबै कुराहरू प्रत्यक्ष भन्न नै सकिन । कि, मैले साथी भन्ने छिमेकीको भाइको छोरी पर्ने टाढाको नाताबाट परिवार भित्रकै सदस्य पाएकी छु । मेरो अव्यक्त व्यक्तित्वको शालिकलाई शालिनता बनाउन अथक प्रयास गर्ने एक अभिन्न अङ्ग पाएकी छु । जसको लागि मेरा सुख˗दुख उसकै हुन् । मेरो उधो˗उभो लागेको समय पनि उसकै हो । तँ जति तैले जसरी सायदै केही गर्न सकूँ । तर, तेरो हरेक खुसी, सुख˗दुःख, प्रगति, सफलता˗असफलतामा मेरो उत्तिकै दायित्व हुनेछ । यदि कहिल्यै जिम्मेवारीले थिच्यो वा तनाबले केही गर्न गाह्रो भयो भने, मलाई सम्झिनु । म जे सक्छु, त्यो गर्छु । जे-जसो हुन्छ, मलाई जानकारी दिइरहनु है, माउस !

म एकै सहरमा भौतिक रुपमा सँगै नभए पनि तँसँग सधैं हुनेछु । मेरो तर्फबाट हुने, मैले मेरो अन्त्य बिन्दुमा गएर गर्न सक्ने पनि सबै गर्नेछु । हाम्रो सम्बन्ध समयसँग अल्झिंदै होइन, अझ खुल्दै जानेछ, दूरीभन्दा पर अनुभूतिमा सुनिने गरी । अब पत्र पढेपछि के सोच्छेस्, त्यो म जान्दिनँ । यति लेखिरहँदा लागिरहेको छ, तलाई पढ्दा हाँसो उठ्ला कि ! किन यति धेरै भावुक भएकी हो भनेर । तर, यो नाटक होइन, यो त म नै हुँ, जस्ताको तस्तै । नवराज पराजुली कवितामा भन्छन् नि, ‘कालले हामीलाई छुटायो भने कलामा भेटौला, कथामा कहिल्यै छुट्दैनौँ हामी, कथामा भेटौँला ।’ यो हाम्रो उत्प्रेरणा, माया, गाली, सम्झाई˗बुझाइको सिलसिला तबमात्र अन्त्य हुनेछ, जब हामी अन्तिम सास लिनेछौँ ।

कवितामा जस्तै हामीलाई चिन्ने सबैको र हाम्रो आफन्तको कथामा भेट्नेछौँ ।  र  कुनै पनि कुरामा प्रतिस्पर्धा नराखेको र कहिल्यै पनि नराख्ने अनि बिना स्वार्थ र इष्र्या आफूभन्दा सधैँ अगाडि होस् भन्ने  कामना गरेर १२ वर्ष मनाइसकेको हाम्रो मित्रता जीवन्त होस् । तर, यति थाहा छ, कुनै दिन जब तिमीहरू फेरि फर्किन्छ्यौ, म उही विमानस्थलमा तिमीहरूलाई रिसिभ गर्न जानेछु, त्यतिबेला यी शब्दहरू सम्झिएर हामी दुवै हाँस्न सकौँ ! जसको शब्द नबोले पनि मनमा उकुसमुकुस गर्ने कथा छन ।

अहिलेलाई यत्ति, धेरै धेरै माया माउस !

उही तिम्रो माउस !

२० असार २०८२, काठमाडौं

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->