पोखरा/पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । तालिममा गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी छन् ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमासाउन १८ गतेदेखि सुरु भएको तालिम २३ गतेसम्म चल्ने छ ।
तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए ।
कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए ।





