पोखरा /नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी विद्यालय सम्बद्ध संघसंस्थाले विहीबार कास्की जिल्ला प्रशासन कार्यालय अगाडि कोण सभा गरेका छन् ।
संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै प्याव्सन, एन प्याव्सन, हिसान कास्कीले सभा गरेका हुन् ।
कोण सभामा बोल्दै प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले असहमतिका बुँदा नसच्याएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएर आफ्ना माग पुरा गर्न सकारलाई आग्रह गरेका छौ’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनले माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने छौं ।’
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले निजी तथा आवसीय विद्यालयका सञ्चालकलाई हतोत्साहित बनाउने काम गरेको बताए । ‘आफ्ना सम्पूर्ण जग्गाजमिन घर धितो राखेर विद्यालय सञ्चालन गरेका छौ’ उनले भने ‘जीवनको पुरै समय शिक्षा सेवामा खटिदै गर्दा नेपाल सरकरबाट सम्मान पाउनुको साटो उल्टै हतोत्साहित गर्ने काम भएको छ । तुरुन्त यो ऐन सच्च्याउन माग गर्दछौ ।’
हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले ऐन नसच्याएसम्म आन्दोलन नरोकिने बताए । प्याव्सन कास्कीका सचिव सुरेन्द्रमानसिंह भण्डारीले पहिलो चरणको आन्दोलन सकिएको बताउँदै आज केन्द्रबाट दोस्रो चरणको आन्दोलनको घोषणा हुने जानकारी दिए । कोण सभा लगत्तै संयुक्त संघर्ष समितिले जिल्ला प्रशाशन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका थिए ।
पूर्ण छात्रा वृत्ति भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामाग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैर नाफामुलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग निजी तथा आवासीय विद्यालयको रहेको छ ।
त्यसै गरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्ने सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने माग राखेका छन् ।





