बागलुङ/जिल्ला अदालत बागलुङमा सरुवा भइ आएकी न्यायाधिस सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । उच्च अदालत बार एसोसिएसन बागलुङले सोमबार एक कार्यक्रमका बीच शर्मालाई स्वागत गरेको हो ।
उक्त अवसरमा बोल्दै न्यायाधिस अधिकारीले न्याय सम्पादनलाई चुस्त बनाउन पहल गर्ने बताइन् । ‘बार र बेञ्च मिलेर आम नागरिकलाई न्याय दिने हो, त्यसैले सबै मिलेर जानुको बिकल्प छैन’ अधिकारीले भनिन्, ‘कार्यविधिगत रुपमा कतै त्रुटी भएमा बारले बेञ्चलाई सच्चिने मौका दिनुपर्छ ।’ क्षमताले भ्याएसम्म न्याय दिने नै मुख्य काम हो भन्ने बुझेर बार र बेञ्चको सहकार्य हुने उनले बताइन् ।
बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमुर्तीको रुपमा महिला पाएको बागलुङले पहिलो हो भन्दै बारको अध्यक्ष समेत महिला भएको बेलामा न्यायालय महिलामैत्री र अन्य बेला भन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष लक्ष्मी बाँस्कोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ जिल्ला अदालतमा आएकी हुन् । यसअघि यहाँ रमेशकान्त अधिकारी जिल्ला न्यायाधिस थिए । उनी रुपन्देही सरुवा भएका छन् ।





