दमौली / तनहुँ कारागारबाट पनि ३२७ जना कैदीबन्दी फरार भएका छन् । जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका हुन् ।
कारागारका निमित्त प्रमुख पूर्ण राउतका अनुसार भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष रहेका छन् । “स्थिती नियन्त्रण बाहिर गयो, सुरक्षाकर्मीले समयमै नियन्त्रणमा लिन नसक्दा कैदीबन्दी भाग्न सफल भए ।” राउतले भने । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन लगायतका, जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए ।
सोही क्रममा कारागार परिसर पनि निशानामा परेपछि कैदीबन्दी भागेका हन् । फरार कैदीबन्दीमध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए ।





