पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई बढी भन्दा बढी सेवा दिने कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउने जनाएका छन् । त्यसपछि अन्य क्षतीग्रस्त कार्यालयहरुको पुनर्संरचना गर्दै जाने उनले बताए ।
जेन जी को आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका भौतिक संरचनाहरुको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री पाण्डेले आन्दोलनको आव्हान गर्ने जेन जी पुस्ताबाट यस्तो विध्वंस नभएको बताए । ‘जनताको सेवा प्रवाह बढी हुने कार्यालय तत्काल सञ्चालन गरी सेवालाई सहजरुपमा अघि बढाउदै लैजान्छौ’, संञ्चारकर्मीहरुसंगको छोटो प्रतिक्रियामा मुख्यमन्त्री पाण्डेले भने, ‘सुरक्षा निकायका कार्यालयलाई प्राथमिकतामा छन् । त्यसपछि अन्य सेवा प्रवाह गर्ने कार्यालयलाई मर्मत संभार गरी अघि बढ्छौ ।’
आगजनी र तोडफोडलाई आन्दोलनको मौका छोपेर बस्ने विध्वंसकारीहरुले समयको फाइदा लिएको, आन्दोलनको नाममा घुसपैठ गरेर सम्पत्ती जलाउने नष्ट गरिएको उनले बताए । ‘नेपालमा धेरैपटक आन्दोलन भएका छन् । तर यति ठूलो विध्वंस आन्दोलनकारीले गरेका थिएनन् । सार्वजनिक सम्पत्ती नोक्सान गर्ने कुरालाई आन्दोलन भन्न सकिदैन । जसले आन्दोलन आव्हान गरे, उनीहरुका हातबाट यस्तो काम भयो भन्ने लाग्दैन’, उनले भने, ‘बिचमा खेल्न चाहने, नेपाललाई तहसनहस बनाउन चाहने शक्तिले अहिले टाउको उठाउने मौका पाए । त्यसैले यस्तो हुन पुग्यो ।’ व्यक्ति गलत हुन सक्ने तर यो संरचनाले केही नविगारेको भन्दै उनले प्रहरी कार्यालय जे एन, जे एक्स र जेन वाइ आए पनि चाहिन्छन, अहिलेको गृहमन्त्रीलाई पनि चाहिने बताए । नेपाललाई कमजोर बनाउन चाहनेले मौका पाएको उल्लेख गर्दै उनले जे हुनु भैसक्यो अव हामी सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
क्षतीग्रस्त संरचनाको पुनर्निर्माण गर्दै जाने उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जनताले स्वतस्फुर्त बनाइदिन लागेकोमा खुशी व्यक्त गर्दै पाण्डेले यसले विध्वसंमा जनता सहभागी छैनन भन्ने सन्देश दिएको बताए । ‘जे भए पनि हतोत्साहित भएर हुदैन । मुलुकमा यस्ता घटना भइरहन्छन्’, उनले भने ।
तत्काललाई बजेटमा ठूलो हेरफेर हुदैन
मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमा तत्काललाई ठूलो हेरफेर नहुने बताए । ‘बजेट परिमार्जन र पुर्नलेखन भन्दा पनि स्लाइडली जान्छौ,’ उनले भने, ‘संघले प्रदेशलाई दिने विभिन्न अनुदान रकम तलमाथि भएमा भने बजेटमा पुनर्बिचार गर्नुपर्ने हुन्छ । किनकी यत्रो संरचना त बनाउन पर्यो नी ।’
अहिलेको आन्दोलनले राजनीतिक दल र नेताहरु पुर्नसंरचना हुनुपर्ने सन्देश दिएको उनले बताए । ‘रोजगारी, शुसासन र भ्रष्टाचारका कुरा लिएर जो आन्दोलनमा आएका थिए । उनीहरुको मागलाई सम्बोधन गर्दै दल र नेता बदलिएर अघि बढ्नु पर्छ’ उनले भने ।





