सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक– लुटिएका हतियार फिर्ता गर्न आह्वान

गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक– लुटिएका हतियार फिर्ता गर्न आह्वान


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

पोखरा/ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले जेन जीको आन्दोलनका क्रममा सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आव्हान गरेको छ ।

यही भदौ भदौ २३ र २४ गते भएको आन्दोलनका कारण प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावबारे छलफल गरिएको बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ।

लुटिएका हतियार हालसम्म फिर्ता नभएकाले सञ्चार माध्यममार्फत फिर्ताका लागि आह्वान गरिने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुन बमोजिम कारबाही प्रक्रियामा लगिने बैठकले निर्णय गरेको हो । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र मातहत सुरक्षा निकायलाई निर्देशन दिइएको छ । शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने निर्णय पनि बैठकले गरेको छ।

बदलिँदो परिस्थिति र सम्भावित शान्ति सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाज समेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्ने निर्णय गरिएको छ। वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने बैठकले निर्देशन दिएको छ। वर्तमान सन्दर्भ समेतलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->