पोखरा/जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ मा १९ युवाको मृत्यु भएपछि गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएको घोषणा गरे । तर उनको राजीनामा अहिलेसम्म प्रदेश सरकारसमक्ष भने पुगेको छैन । उनले भदौ २४ मा कागजमा हस्तलिखित राजीनामासार्वजनिक गरेका थिए ।
गण्डकी सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.टकराज गुरुङले मन्त्री देवकोटाको राजीनामा नआएको बताए । ‘हामीले पनि सामाजिक सञ्जालबाटै उहाँले राजीनामा दिएको थाहा पाएका हौ,’ मन्त्री गुरुङले भने, ‘अहिले हामी पोखरामै छौ, तर उहाँको राजीनामा आइसकेको छैन । थप कुरा थाहा भएन ।’
देवकोटाले भने त्यतिबेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत अन्य मन्त्रीहरु पनि पोखरामा नभएकाले लिखित राजीनामा दिन नपाएको दावी गरेका छन् । हाल काठमाडौंमा रहेका देवकोटाले आफुले राजीनामा फिर्ता लिने सोंच नरहेको तर पोखरा आएर सबैसंग सल्लाह भने गर्ने बताए । ‘मुख्यमन्त्री मंगलबारमात्र पोखरा पुगेको सुनेको छु’, टेलिफोनमा देवकोटाले भने, ‘छिटै पोखरा आउँछु । सबैसंग सल्लाह गरेर अघि बढ्छु ।’
केन्द्र सरकारले १९ जनाको हत्या गरेको, युवाको सहादत र सयौं घाइते भएको घटनाले मर्माहत बनाएको उनले राजीनामा पत्रमा लेखेका थिए । उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका हुन् ।
मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका थिए । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा गोरखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।





