बागलुङ/संविधान दिवश मुल समारोह समितिले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।
बुधबार बसेको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा राजनीतिक दल, सामाजिक संस्था, स्थानीय तहका प्रतिनिधि, कार्यालय प्रमुखको भेलाले असोज २, ३ र ४ गते संविधान दिवश मनाउने निर्णय गरेको हो ।
बैठकले यो पटक दिवशलाई शान्त र शालिन रुपमा मनाउने भएको हो । बिहिबार नेपाल बार एसोसिएसन, बागलुङको नेतृत्वमा अस्पतालमा बिरामीलाई फलफूल वितरण गर्ने, हरेक कार्यालय तथा संस्थाहरु सरसफाइ गर्ने, शिक्षा विकास तथा समन्वय इकाइले अपांगता भएका विद्यार्थीलाई हितकर सामाग्री सहयोग गर्ने, बागलुङ उद्योग बाणिज्य संघले मानव सेवा आश्रममा खाद्यान्न सामाग्री बितरण गर्ने, गैसस महासंघले कारागारका कैदीबन्दीलाई खेल सामाग्री दिने निर्णय भएको हो ।
तीन दिनसम्म छापा तथा विद्युतीय संचार माध्यमले नेपालको संविधान र राष्ट्रिय दिवश बारे रचनात्मक तथा सिर्जनात्मक लेखरचना प्रकाशित गर्ने, अन्तरवार्ताहरु संचालन गर्ने, शहिद तथा घाइतेलाई उचित सम्मान गर्ने गराउने, असोज ३ गते ऐतिहासिक पार्कमा शहिदप्रति सम्मान गर्दै माल्यापर्ण गर्ने, दिप प्रज्वलन गर्ने लगायतको कार्यक्रम तय भएको समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
२०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको हो । संविधानसभाले बनाएको संविधानले संघिय लोकतान्त्रिक गणतन्त्र सहितको समावेशी, समानुपातिक व्यवस्थाको परिकल्पना गरेको छ । विशेष मौलिक हकको व्यवस्थापन भैसकेको संविधानले दिएका क्षेत्रमा राज्यले कानून बनाएर कार्यान्वयन गर्दै जाने शर्तपनि राखिएको छ ।





