बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनप्रियमा शुभकामना आदानप्रदान र विदाई, शैक्षिक योगदान र संस्थागत गौरवको सम्मान

जनप्रियमा शुभकामना आदानप्रदान र विदाई, शैक्षिक योगदान र संस्थागत गौरवको सम्मान


  • ढाेरपाटन संवाददाता
  • असोज ५ २०८२, आइतबार

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा आसन्न दशैं, तिहार, छठ लगायत नेपालीहरूको प्रमुख चाडपर्वको उपलक्ष्यमा आइतबार क्याम्पस सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा अवकाशप्राप्त प्राध्यापकहरूको विदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रमले केवल पर्वको हर्षोल्लास मात्र होइन, संस्थागत उपलब्धि, प्राध्यापकहरूको योगदान र भविष्यका शैक्षिक आकांक्षाको विमर्शलाई समेत उजागर ग¥यो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नेपाली साँंस्कृतिक पर्वहरूको उल्लासले प्राध्यापकको शैक्षिक जिम्मेवारीलाई ओझेलमा पार्न नहुनेमा जोड दिए । उनले प्राध्यापकहरूलाई अनुसन्धान, लेखन, प्रकाशन तथा एमफिल, पिएचडी जस्ता उच्च शिक्षामा सहभागी भई ज्ञानको दायरा विस्तार गर्न आग्रह गर्दै, निवृत्त पूर्व क्याम्पस प्रमुखहरूको निरन्तर प्रगतिको कामना गरे ।

विशिष्ट अतिथि तथा क्याम्पस प्रमुख कृष्णबाबु बरालले आफ्नो मन्तव्यमा सेवा निवृत्त पूर्व क्याम्पस प्रमुखहरूको अनुभव र सहयोग क्याम्पस प्रशासनका लागि अमूल्य रहेको उल्लेख गर्दै, संस्थासँगको सम्बन्धलाई स्थायी रूपमा जोगाइराख्न अनुरोध गरे । उनका अनुसार क्याम्पसको निरन्तर विकासमा अनुभवी पूर्व नेतृत्वको सल्लाह र मार्गदर्शन आवश्यक छ । विदाइ मन्तव्य दिँदै पूर्व क्याम्पस प्रमुख भरतराज गौतमले जनप्रियले विश्वविद्यालय अनुदान आयोगबाट दुईपटक प्राप्त गरेको गुणस्तर मान्यताको प्रमाणपत्र क्याम्पसको सुशासन, पारदर्शिता, जवाफदेहिता र शैक्षिक उत्कृष्टताको प्रमाण भएको उल्लेख गरे । उनले प्राध्यापकको बढुवा, स्थायित्व, फ्याकल्टी डेभलपमेन्ट र व्यक्तिगत क्षमतावृद्धिमा क्याम्पसले कुनै सम्झौता नगरी अघि बढिरहेको तथ्यलाई जनाउँदै, आफ्नो कार्यकालको अनुभवले जनप्रियको शैक्षिक शाख अझ उज्यालो बनाउने विश्वास व्यक्त गरे ।

जनप्रियमा २७ वर्षसम्म सेवा समर्पण गरेका पूर्व क्याम्पस प्रमुखहरू भरतराज गौतम, लोकराज भण्डारी, माधव वियोगी र कृष्णप्रसाद गुरुङलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजुक्छे र क्याम्पस प्रमुख बरालले दोसल्ला ओढाई र मायाको चिनो प्रदान गर्दै विदाई गरे । यो सम्मान केवल व्यक्तिगत योगदानको कदर मात्र नभई संस्थागत स्मृतिको स्थायी धरोहर पनि बनेको देखियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पुष्पराज सिग्देल, सञ्चालक समितिका कोषाध्यक्ष गणेशबहादुर अधिकारी, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य वेदहरि तिमिल्सिना, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति नरेश बराल, कर्मचारी संघका अध्यक्ष देवी पनेरु लगायतका वक्ताहरूले अवकाशप्राप्त प्रमुखहरूको दीर्घ योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरू सुख, स्वास्थ्य र सिर्जनशीलताले भरिपूर्ण होस् भन्ने शुभकामना व्यक्त गरे ।

पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल जनप्रिय इकाईका सभापति विकास थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव राजेन्द्र पौडेलले गरेका थिए । कार्यक्रमले जनप्रिय बहुमुखी क्याम्पसको संस्थागत गौरव, शैक्षिक नेतृत्वको सम्मान र भविष्यप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाएको अनुभूति सहभागीहरूले व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->