पोखरा/जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा विगठन भएर आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।
नयाँ निर्वाचन घोषणासंगै प्रदेश निर्वाचन कार्यालय, पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउन युवाहरू पुग्न थालेका छन् । नाम दर्ता गराउनेमा प्राय युवा पुस्ता छन् । जेन जीको आन्दोलनपछिको राजनीतिक घटनाक्रमबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएको यसले पुष्टी गर्छ ।
निर्वाचन आयोगले यही असोज १२ गतेदेखि कात्तिक मसान्तसम्ममा मतदाता नामावली दर्ताका लागि समय सिमा तोकेको छ । यो सूचना थाहा पाएपछि मतदाताहरु नामावली दर्ताका लागि आउन थालेको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । उनका अनुसार असोज १२ गते पहिलो दिन २ सय ६८ जनाले नाम दर्ता गरेका थिए । यसैगरी असोज १९ मा २१ जना, भदौ २१ मा १३० जनाले नाम दर्ता गराएका छन् । ‘अहिलेसम्मको ट्रेन्ड हेर्दा नामावली दर्ता गर्नेमा ९५ प्रतिशत युवा पुस्ता छन्’, न्यौपानेले भने । विशेष गरी १८ देखि २५÷३० वर्ष उमेरकाले नाम दर्ता गराइरहेका छन् ।
१६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने तर मतदान भने १८ वर्ष पुगेपछि मात्र गर्न पाउने व्यवस्था छ । १८ वर्ष मुनिका नाम दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।
कार्यालयमा नामावली दर्ता गर्न आउने युवामा छुट्टै जोश देखिन्थ्यो । उनीहरुले पुराना दल र नेताको काम गर्ने शैलीप्रति वितृष्णा जागेको बताए । पोखराको महेन्द्रपुलबाट आएकी १८ वर्षीया एक किशोरीले फागुनमै निर्वाचन हुनुपर्ने र त्यसमा मतदान गर्न पाउनु पर्ने बताइन् । उनले यसपटकको जेन जी आन्दोलनले राजनीतिक चेतना बढाएको र मताधिकारबारे पनि सचेत गराएकाले नाम दर्ताका लागि आएको बताइन् ।
कास्कीमा हालसम्म १ लाख ४० हजार ३ सय ९० पुरुष, १ लाख ५३ हजार ४ सय ६८ र अन्य ४ जना गरी २ लाख ९३ हजार ८ सय ६२ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय भनिए पनि कार्यालयले कास्कीको मात्रै निर्वाचनसम्बन्धी कार्यक्रम गर्छ ।





