पोखरा/संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले हाललाई परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि बुधवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
जेन–जी आन्दोलनका कारण उत्पन्न विषम परिस्थिति साम्य भइनसकेको अवस्था रहेको भन्दै दलहरुले प्रदेश सभालाई बताएपछि बैठक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव गोबिन्द पौडेलले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको बताए । ‘बुधवारका लागि बैठक बोलाएका थियौ । तर सबै राजनीतिक दलहरुसंंग समन्वय गर्दा अहिले बैठक नराखौं भन्ने कुरा आयो’, सचिव पौडेलले भने, ‘संसद भनेको सबै राजनीतिक दलहरुको सहमतिमा चल्ने कुरा हो । दलहरुबाटै बैठक नगरौं भनेपछि स्थगित गरिएको हो ।’
यसअघि भदौ २५ मा प्रदेश सभा बैठक डाकिएको थियो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते नै आगजनीबाट प्रदेश सभाका सबै भवन जलेर ध्वस्त भएर खरानी बन्यो । यसले बैठक अनिश्चित हुन पुग्यो । खरानीबाट उठेर बुधबारका लागि गण्डकी प्रदेशसभा बैठक डाकिएको थियो । तर अझै परिस्थति अनुकूल नबन्दा प्रदेश सभाको बैठक अनिश्चित बन्न पुगेको हो ।
नदीपुरस्थित प्रदेशसभाका भवन पूर्ण रूपमा ध्वस्त भएपछि मालेपाटनस्थित कृषि मन्त्रालयको सभा हलमा बैठकको तयारी गरिएको थियो । बैठकको तयारीका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक पनि राखियो । बैठकअघि सदन चल्ने हलको निरीक्षणसमेत दलका पदाधिकारीहरूले गरेका थिए । हलमा रहेको कुर्सी, टेबल नै प्रयोग गर्ने, साउन्ड सिस्टम भाडामा लिएर चलाउने र संसद्को कारबाही मोबाइल रेकर्डमा राख्ने तयारी गरिएको थियो ।
तत्काल कामचलाउ हिसाबले सभा हलको तयारी गरिएको भए पनि दल भने अझै परिस्थिति अनुकूल भइनसकेकाले तयारी गर्नुपर्नेमा एकमत देखिए । बुधवारको बैठकमा शून्य र विशेष समयमा सांसदले आफ्ना कुरा राख्ने, खानी सञ्चालन विधेयक पारित गर्ने, गाँजा विधेयक पेश गर्ने र गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक पनि पेश गर्ने तयारी थियो ।
सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभा बैठक तिहार अघि की पछि बस्ने भन्न नसकिने बताए । ‘जेन जी आन्दोलन, पछिल्ला गतिविधि, दलहरुको कुरालगायत सवै पक्षको विश्लेषण गरेर बुधवारको बैठक स्थगित गरिएको हो’, सभामुख धितालले भने, ‘बैठक आव्हान गर्ने, फेरी स्थगित गर्ने कुरा राम्रो हुँदैन, अव बैठक स्थगित हुनेगरी आव्हान हुँदैन ।’
जेनजी आन्दोलनमा संसद् भवन, सचिवालयसहित ३ वटा संसदीय समिति, सबै दलका कार्यालय, पुस्तकालय, सवारी साधनलगायत सबै संरचना जलेर ध्वस्त भएका छन् ।कृषि मन्त्रालयको हलमा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य सबैको आसनका लागि टेबल–कुर्सी व्यवस्थापन गरिएको थियो । साउन्ड सिस्टम पनि भाडामा चलाउने तयारी सचिवालयको थियो ।





