पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । अष्ट्रेलियन संस्था वाइल्डर्नेस कम्युनिटी र वाइल्डर्नेस नेपालले २६ लाख रुपैयाँ पर्ने अत्याधुनिक एम्बुलेन्स पालिकालाई सहयोग गरेको हो ।
अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यामिक विद्यालयमा सोमबार एक समारोहका बिच एम्बुलेन्स प्रदान गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाको स्वास्थ्य पूर्वाधारमा एम्बुलेन्स सहयोग ठूलो उपलब्धि भएको बताए । एम्बुलेन्स सञ्चालन र आवश्यक खर्च गाउँपालिकाले बेहोर्नेछ । अध्यक्ष केसीले विन र वाइल्डर्नेस कम्युनिटीसँग भविष्यमा सरसफाइ, फोहर व्यवस्थापन र स्वास्थ्य विस्तारका क्षेत्रमा, विशेषगरी एक्सरे मेसिनमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस्तै उपाध्यक्ष चन्द्र अधिकारी देवकोटाले आफ्ना नागरिकलाई उपचारका लागि अस्पतालसम्म लान एम्बुलेन्स अत्यावश्यक रहेको सुनाइन् । उनले नागरिकको जीवन रक्षामा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वसा व्यक्त गरिन् ।
‘गाउँका बासिन्दाको जीवनस्तर सुधार्ने महत्वपूर्ण भूमिका खेल्ने छ । स्वास्थ्य सेवाको पहुँच सहज बनाउने, आपतकालीन उद्धारमा जीवनरक्षा सुनिश्चित गर्ने, र शिक्षा तथा सामाजिक कल्याणमा योगदान पु¥याउने पहलहरू सबैलाई तारिफ गर्दै यस्ता काममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु’ उनले भनिन् ।
वाइल्डर्नेस कम्युनिटीकी प्रमुख डा. श्याली नब्सले संस्था र अन्नपूर्ण पालिकाका नागरिक बिच गहिरो सम्बन्ध भएकाले सक्दो सहयोग गरेको बताइन् । ‘हामीले यो एम्बुलेन्स केवल सहयोगको रूपमा होइन मानवीय सम्बन्धको प्रतीकको रूपमा दिएका हौं । भदौरे र अन्नपूर्ण गाउँका जनतासँग हाम्रो आत्मीय सम्बन्ध गहिरो छ र यस सानो प्रयासले धेरै जीवन बचाउनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भनिन् ।
वाइल्डर्नेस कम्युनिटी र विन १९९८ देखि स्वास्थ्य र सरसफाइ क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको उनले जानकारी दिइन् । २००५ बाट महिला स्वास्थ्य र शिक्षामा जोड दिन विद्यालयमा सहयोग प्रदान गर्दै आइरहेको छ । बालबालिकामा शिक्षाको पहुँच बढाउने र स्वास्थ्य सुधारमा सक्रिय रहँदै आएको छ र आगामी दिनमा पनि स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।





