बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखाले प्रसिद्द बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भएको भन्दै स्विकृतीका लागि गुठी संस्थानलाई पत्राचार गरेको छ ।
वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्र अनुसार समिति गठन भइ सिफारिसका लागि आए अनुसार संस्थानलाई जानकारी गराएको पत्र लेखेका हुन् । उक्त पत्रअनुसार अध्यक्षमा भूपेन्द्र खड्का चयन भएको उल्लेख छ ।
समितिको सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का चयन भएको लेखिएको छ । समितिकै सदस्यहरुमा मनोज खड्का, भुपेन्द्र खड्का (ध्र्रुब), अर्जुन खड्का, बिधा खड्का, धु्रव खड्का र शिवबहादुर खड्का छन् ।
समितिका अध्यक्ष कुमार खड्काले भने भेला, अधिवेसन केही नभइ नयाँ नामाबली आएको बताए । संस्थानको निर्णय अनुसार कुमार खड्काको पदावधि आगामी २०८५ भदौसम्म रहेको छ । उनी समितिमा दोश्रोपटक गतवर्ष नियुक्त भएका थिए ।
हाल गुठी संस्थानको पदाधिकारी समेत खाली रहेकोले उक्त सिफारिस अनुसारको नामावली स्विकृत हुने संभावना समेत न्युन भएको सरोकारवालाले बताएका छन् ।





