आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कहिले बनिसक्ला निसी अस्पताल ?

कहिले बनिसक्ला निसी अस्पताल ?

‘झट्ट हेर्दा काम सकिएजस्तो भएपनि धेरै बाँकी छ,’ गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने, ‘भवन त राम्रो बनेको छ, तर बजेट अभावले पुरा भएको छैन ।’


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८२, शुक्रबार
?

बागलुङ/बागलुङको निसीखोला गाउँपालिकाले बनाएको नगर अस्पताल आर्थिक अभावले अलपत्र भएको छ । निसीखोला गाउँपालिका–३ र ४ को सिमानामा अस्पताल भवन निर्माणाधिन छ । आवस्यक पुर्वाधार बनिनसक्दा भवन अलपत्र छ ।

स्थानीयबाट जग्गा उपलब्ध भएपछि गाउँपालिकाले १० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधीन भवन आर्थिक अभावमा पुरा नभएको हो । १० शैयाको अस्पताल बनाउन नसक्दा पालिकाका बिरामी भने पाल्पा र बुटवल जान बाध्य छन् । ‘झट्ट हेर्दा काम सकिएजस्तो भएपनि धेरै बाँकी छ,’ गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने, ‘भवन त राम्रो बनेको छ, तर बजेट अभावले पुरा भएको छैन ।’ भवन निर्माण कम्पनीलाई नै भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।

हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले यो भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघिय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । तर, ठेकेदारले अघिल्लो वर्ष गरेको कामकै डेढ करोड बढी भुक्तानी पाउन बाँकी छ । जसका कारण यो वर्ष थप काम हुनै नपाएको प्रमुख प्रशासकीय अधिकृत जिवन पुनले बताए । संघिय सरकारमा पहल भएपनि बजेट नआएसम्म काम सम्पनन हुनेमा ढुक्क नभएको पुनको भनाइ छ ।

अस्पताल भवन पूरा भैहाले पनि यहाँ उपकरण खरिद, नियमित अस्पताल संचालन तथा दरबन्दीका लागि बजेट छैन । निसीखोलाको पनि आन्तरिक आय १ करोडभन्दा कम छ । ‘पहिलो चरणमा अस्पताल संचालन गर्नुपरेमा ३ करोड बढी खर्च निस्कन्छ,’ स्वास्थ्य शाखाकी प्रमुख जुनी घर्तीले भनिन्, ‘अस्पताल भनेर चलाएपछि सेवा पनि दिन सक्नुपर्छ, त्यसका लागि दक्ष जनशक्तिको खाँचो छ ।’ निसीखोलामा अहिले पनि होम डेलीभरी भेटिन्छ । भएका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरसमेत संचालन छैन । सुरक्षित सुत्केरी बन्नुपरेमा कतिपय महिला पाल्पा पुगेर डेरा बस्ने गर्छन् ।

गतवर्ष गाउँपालिकाले २० लाख खर्चेर असपतालको छेउमा रहेको खोलामा पक्की पर्खाल निर्माण गरेको छ । भौगोलिक रुपमा पालिकाको मध्यभागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले यो अस्पताल सम्पन्न भए पालिकाका २५ हजार बढी जनताले सेवा लिने अध्यक्ष घर्तीले बताए ।

ताराखोला, जैमिनी, काठेखोला लगायतले अस्पताल बनाएका छैनन् । जैमिनी र गलकोट नगरपालिकाले पुरानो प्राथमिक स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नती गरेर नगर अस्पतालको रुपमा संचालन गरेका छन् । ती अस्पतालमा पनि पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीकै भरमा सेवा संचालन छ । स्थानीय तहले लगानी गरेर गलकोटमा अपरेशनसहितको सेवा प्रवाह गराएको छ । जैमिनीले भने अपरेशन सेवा दिन सकेको छैन । ओपिडी, भिडियो एक्सरे लगायतको सेवा भने दिइएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले बनेका संरचना सदुपयोग गर्ने गरी केही कार्यक्रम जोड्ने बताए । वर्तमान अवस्थाले तत्काल काम गर्न भने समस्या परेको उनको भनाइ छ । उनले संघीय सरकारमा ओएनएम अनुसारको दरबन्दी र उपकरणका लागि पहल गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->