पोखरा/राप्रपाका ४२ जना सांसदहरुले सामूहिक राजीनामा !
‘प्रिय युवा साथीहरू, तपाईँहरूको न्यायचित आन्दोलन र दृढ आवाजप्रति सम्मान जनाउँदै मैले गण्डकी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेकी छु ।’
यी दुई उद्धरण जेनजी आन्दोलनपछि गण्डकीमा प्रतिनिधित्व गर्ने राप्रपाका दुई प्रदेशसभा सदस्यहरुको हो ।
भदौ २३ को जेनजी प्रदर्शनमा राज्यको दमन र त्यसको भोलिपल्टको विध्वंसकारी प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।
‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामूहिक राजीनामा दिइ संसदबाट बाहिरिने निर्णय गरेको छ ,’ राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सोही विज्ञप्तिका आधारमा राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ र प्रमुख सचेतक विन्दु पौडेलले सामाजिक सञ्जालमा प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएको खुलाएका थिए ।
‘म गर्वका साथ भन्न चाहन्छु आज मैले पद छाडे पनि तपाईंहरूको सपना र भविष्यका लागि मेरो सङ्घर्ष अझ अटल बनेको छ । म सँधै युवाहरूको सुखद भविष्य र परिवर्तनका लागि लडिरहने प्रतिबद्धता गर्दछु,’ राजीनामा सहित पौडेलले सामाजिक सञ्जालमा लेखेकी थिइन ।
तर, राप्रपाका प्रदेशसभा सदस्यले सामाजिक सञ्जालमा राजीनामा दिएतापनि लिखित जानकारी भने प्रदेशसभा सचिवालयमा पुगिसकेको छैन ।
बरु प्रदेशसभा सचिवालयले भदौको तलब र दशैँभत्ता भनेर थप एक महिना गरि दुई महिनाको तलब एकमुष्ट रुपमा उनीहरुको खातामा पठाइदिएको छ ।
संघीयताको विरोध र प्रदेश खारेजीको एजेण्डासहितको राजा फर्काउने राजनीति गरिरहेको राप्रपाका दुईवटै प्रदेशसभा सदस्यहरु पदाधिकारीको हैसियतमा सुविधा लिँदै आएका छन ।
गण्डकीको राजनीतिक खिचातानीमा निर्णायक देखिने राप्रपा केही समय सरकारमा समेत सामेल भएको थियो । दलका नेता गुरुङ खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका थिए ।
प्रदेशसभा सचिवालयले हरेक महिनाको अन्तिम हप्तामा सभामुख, उपसभामुख देखि प्रदेशसभा सदस्यको तलब भत्ता पठाउने गर्दछ । सचिवालयका अनुसार असोज महिनाको तलब भने हाल्न बाँकी छ ।
‘भदौको अन्तिममा भदौको तलब र चाडपर्व खर्च भनेर थप एकमहिनाको तलब पठाइसकिएको हो,’ सचिवालयका एक अधिकृतले भने ।
राजीनामा मौखिक रुपमा आएतापनि लिखित रुपमा नआएका कारण प्रदेशसभा सदस्य कायमै रहेको हुँदा ऐन अनुसार पाइराखेको सुविधा उपलब्ध गराइएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।
‘मौखिकरुपमा थाहा पाइयो, तर अहिलेसम्म लिखितमा आएको छैन । लिखित जानकारी नआइ राजीनामा दिएको भनेर भन्न मिलेन, अहिलेसम्म आएको पनि छैन,’ उनले भने ।
यता, राप्रपाले भने राजीनामाबारे पुनर्विचार गर्ने संकेत दिएको छ ।राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पुनर्विचार हुनसक्ने बताए ।
‘अहिले हामी सल्लाह गर्दैछौँ, परिस्थिती जटिल बन्दै गएको छ । राप्रपा एक जिम्मेवार पार्टी हो,’ उनले भने, ‘हामीले यसलाई छलफल गर्नुपर्छ भन्ने भएको छ, पुनर्विचार गर्ने कि भन्ने तरिकाले अगाडि बढ्नेछौँ ।’
प्रदेशसभाका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविका सम्बन्धि ऐन, २०७६ अनुसार दलका नेताहरूले मासिक ५९ हजार ५०० रुपैयाँ तलब, एक हजार रुपैयाँ बैठक भत्ता, एक हजार ५०० सय सञ्चार, आवास बापत १५ हजार रुपैयाँ मासिक, फर्निचरका लागि ५ वर्षको ५० हजार पाउँछन् । यस अतिरिक्त निजी सचिवालयका लागि एक हजार ७५० रुपैयाँ, सवारी इन्धन मासिक ९० लिटर, मोबिल तीन महिनामा ५ लिटर, धारा–बिजुलीको मासिक १ हजार ५ सय, दैनिक भ्रमणभत्ता २ हजार, विदेश भ्रमण जाँदा १ सय ५० अमेरिकी डलर प्रतिदिन र १० लाखकै बीमा छ ।
प्रमुख सचेतकहरुले भने मासिक तलब ५८ हजार ८४०, बैठक भत्ता एक हजार, सञ्चार खर्च एक हजार ५००, आवासको मासिक १५ हजार, फर्निचरको एकमुष्ट ५० हजार उपलब्ध हुन्छ । यस अतिरिक्त निजी सचिवालयलाई १ हजार ७ सय ५० मासिक, सवारी इन्धन ९० लिटर, मोबिल तीन महिनामा ५ लिटर, बिजुली–धाराको १ हजार ५ सय मासिक, दैनिक भ्रमण भत्ता २ हजार, विदेश जाँदा १ सय ५० डलर र १० लाखको बीमा छ । प्रदेशसभामा प्रमुख सचेतक चारवटै दलका छन् ।





