पोखरा/जेन–जी आन्दोलनपछि खरानी टक्टक्याएर उठेको पोखरा महानगरपालिका वडा नम्बर १५ ले सहयोगदाताहरुलाई सम्मान गरेको छ । भदौ २४ गते पोखरामा मच्चिएको विध्वंसको सिकार भएको वडा नम्बर १५ लाई पुनः सञ्चालनका लागि आवश्यक पर्ने जिन्सी तथा प्राविधिक सामानहरु सहयोग गर्ने विभिन्न २५ संघ संस्था तथा व्यक्तिलाई जेन जी आन्दोलनको एक महिना पुगेको अवसरमा सम्मान गरिएको हो ।
२३ गते बाट सुरु भएको भ्रष्टाचार र सामाजिक सञ्जाल विरुद्धको जेन–जी पुस्ताको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका थिए । त्यसैको विरोधमा २४ गते भएको आन्दोलनले वडा देखी सिंहदरबारसम्म जलाइएको थियो ।
पोखरामा समेत भएको आन्दोलनको क्रममा पोखरा महानगरपालिका सहित विभिन्न सरकारी, व्यावसायिक तथा नेताका घरसम्म जलाइएको थियो । पोखरामा जेन जेड आन्दोलनको क्रममा जलेर ध्वस्त भएको वडा १५ पनि एक हो ।
वडा १५ का वडाध्यक्ष तोरण बानियाले वडालाई वडाकै नागरिकले उठाएको बताए । आन्दोलनको क्रममा वडाका महत्वपूर्ण सबै कागजातसहित सबै सामान जलेर खरानी भएको थियो । तर, वडाले सहयोगका लागि आह्वान गरेको पाँच दिनमै वडा सञ्चालनका लागि आवश्यक पर्ने सबै सामान सहयोग स्वरुप प्राप्त भएको बताए ।
‘हामीले सहयोगको आह्वान गरेको पाँच दिनमै वडा सञ्चालनका लागि आवश्यक सबै सामान आइसकेको छ । आन्दोलनको क्रममा जलेर वडा कार्यालय ध्वस्त हुँदा काम कसरी गर्ने भन्ने थियो तर, स्थानीय संघ संस्था र व्यक्तिको साथले हामी थप हौसिएका छौं,’ उनले भने, ‘वडा आन्दोलनको क्रममा घुसपैठ भएर जलेपनि नागरिकको साथ पाउँदा कत्ति दुखी छैनौं ।’ बानियाँले जेन जी पुस्ताको आन्दोलनको माग जायज भएको सुनाए । देश भ्रष्टाचारमुक्त र सुशासनयुक्त हुन आवश्यक रहेको उनको भनाइ थियो । वडालाई १५ लाख रुपैयाँ भन्दा बढिको सामान सहयोग प्राप्त भएको उनले सुनाए । वडाले नगद सहयोग नलिएको र सामान सहयोग मात्रै लिएको उनले बताए ।
सहयोग गर्नेमा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखा, मितेरी टोल विकास संस्था, एम्यानुएल स्कुल, हेप्पी होम पोखरा, थ्री एन्जल नेपाल, युनाएटेड क्लब, अमिनतारा खानेपानी उपभोक्ता समिति, सिर्जनशील बाल विकास कार्यक्रम, नयाँ गाउँ चर्च, नयाँ आशा नेपाल, नेपाल सुसमाचार केन्द्र, एसओएस चिल्ड्रेन भिलेज गण्डकी, सगोल नेपाल, श्यामा श्यामा सत्संग राधेराधे, पोखरा सम्प्युनिटी सेन्टर, भविन्द्र विक, महेन्द्र विक र नगेन्द्र विक रहेका छन् ।
यस्तै फ्रिङकल एन्टरनेशलन ग्रुप, भिम कुमारी गुरुङ, संगम टोल विकास संस्था, विपन सौगात, ठूली मजुवा आमा समूह, लक्ष्मी टोल आमा समूह, शशि गुरुङ, शिवशक्ति टोल विकास संस्था र दिव्य ज्योती युवा क्लब रहेका छन् । यि संघ संस्थाले रंगरोगन, विद्युत व्यवस्थापनदेखी कम्प्युटर, प्रिन्टर, कुर्ची, टेबल, दराज लगायतका सामानहरु सहयोग गरेका कारण सम्मानपत्रले सम्मान गरिएको हो ।
सहयोगीहरुको तर्फबाट बोल्दै ठूली मझुवा आमा समूहकी अध्यक्ष दुर्गा मल्ल ठकुरीले वडा जलाउँदा दुःख लागेको र नागरिकको दैलोको सरकार नै वडा भएकाले आफुहरुले सक्दो सहयोग गरेको सुनाइन् । संघ संस्थाको तर्फबाट बोल्दै भूपेन्द्र प्रसाद आचार्यले वडाको विकासका लागि आफुहरु सद्यैँ सहयोग गर्न तयार रहेको सुनाए । जेन जी आन्दोलनको नाममा भएको अपराधिक गतिविधिबाट कति पनि विचलित नभइ अघि बढ्नुपर्ने आवश्यकता रहेको सुनाउँदै उनले अराजकहरुले विना कारण जलाएको बताए । कार्यक्रममा वडालाई सहयोग गर्ने सहयोगिदाता, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।





