आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डा. तरुण पौडेल चिकित्सा कोषद्वारा स्वास्थ्यकर्मीहरु सम्मानित

डा. तरुण पौडेल चिकित्सा कोषद्वारा स्वास्थ्यकर्मीहरु सम्मानित


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८२, शनिबार

बागलुङ/मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरु सम्मानित भएका छन् । ‘डाक्टर तरुण पौडेल चिकित्सा कोष’ले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अंग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो ।

शुक्रबार बागलुङमा आयोजित कार्यक्रममा कोषको १३ औं वार्षिकोत्सव सम्पन्न गरिनुको साथै १० औं पुरस्कार सम्मान अर्पण र इन्द्रलक्ष्मी स्मृति पुरस्कार समर्पण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले कोषको पुरस्कार तथा सम्मान बितरण गरे ।

मानव अंग प्रत्यारोपणको संस्थापक भएर राज्यलाई नै योगदान गरेका डा. पुकारचन्द्र श्रेष्ठलाई उक्त अवसरमा सम्मानित गरियो । बागलुङ नगरपालिका वडा नं. ३ घर भइ बेलायतबाट अध्ययन गरी भक्तपुरस्थित शहिद धर्मभक्त माथेमा, मानव अंग प्रत्यारोपण केन्द्रका संस्थापक समेत रहेका डा. श्रेष्ठलाई कोषले सम्मान गरेको हो । कोषका संरक्षक प्रा.डा. तरुण पौडेल र कोषका अध्यक्ष काजी रोशन समेतले उक्त सम्मान प्रदान गरे ।

डा. श्रेष्ठले सन् २००१ देखि ६ सम्म बेलायतमा अध्ययन र अनुसन्धान गरेर फर्केपछि नेपाल सरकारले मानवअंग प्रत्यारोपण थालेको थियो । उक्त केन्द्रमा अहिले सम्म १ हजार ६ सय बढी मानिसको अंग प्रत्यारोपण भैसकेको छ । डा. श्रेष्ठले मानव अंग मध्ये कलेजो, मृगौला र फियो लगायतका अंग प्रत्यारोपण गराएको बताए । साथै नेपालमा डायलायसिस मार्फत मृगौला पिडितको आयु बढाउने र त्यसै समयमा अंग प्रत्यारोपण गरेर बचाउने काममा पनि उनले अगुवाई गरेका थिए । अहिले भने मृगौलाको उपचारको दायरा फराकिलो भएको छ ।

शिशु जन्मंदा नरोएपछि ६ घण्टा भन्दाबढी समयसम्म कृतिम श्वास दिएर बचाएकी बैतडीकी अनमी शान्तिकुमारी पुजारालाई पनि कोषले सम्मान गरेको छ । बैतडीको सिगास गाउ“पालिका वडा नंं ४ की २० बर्षिय लक्ष्मी धामीले गत साउन ८ गते जन्माएको शिशु निसासिएपछि श्वास फेर्न नसकी जन्मेर पनि रुन सकेका थिएनन् । जन्मेपछि नरोएका शिशुलाई लगातार ६ घण्टा कृतिम श्वास दिएर बचाएको घटना सार्वजनिक भएको थियो । रातको समय भएकोले चाहेर पनि हेलीकोप्टरबाट उद्दार समेत गर्न नसकेपछि रातभर मुखैले श्वास दिएर उनले शिशु बचाएको बताइन् । उक्त शिशु जन्मेको बैतडीको आधारभूत स्वास्थ्य केन्द्र कान्धारबाट साँढे ४ घण्टा हिडेपछि मात्र गाडि चढ्ने ठाउँ पुग्न सकिन्छ । थप चारघण्टा गाडि चढेपछि मात्र डडेल्धुरामा उपचार गर्ने अस्पताल छ । उक्त जानकारी पाएर तत्कालिन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले पनि फोन गरेर धन्यवाद दिएका थिए । साथै उनी स्वास्थ्य मन्त्रालयबाट समेत सम्मानित भएकी थिइन् ।

पोखरामा कार्यरत सिनियर अहेव जयप्रसाश कोइरी, बालबालिकाको हितमा क्रियशिल बुटवलका अनुपमान सैजु र सर्वस्व दान गरेर अस्पतालमा बस्ने पोखरा लेखनाथका दम्पत्ति रेवतीरमण पौडेल र शान्ति पौडेललाई पनि कोषले सम्मान गरेको छ । सबैलाई १५ हजार नगद पुरस्कार र सम्मान गरिएको थियो ।

२०७० सालदेखि कोषले ग्रामीण क्षेत्रमा बसेर योगदान गर्ने चिकित्सक, अहेव र अनमीलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । कोषले ल्याब एसिस्टेन्ट र अहेवको परीषामा उत्कृष्ठ भएका धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानका मौषम थापा र सुरेश पौडेललाई पनि ५÷५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । धौलागिरि अस्पतालमा १६ बर्ष सम्म प्रमुख मेडिकल सुपरिटेष्डेन्ट भैसकेका प्रा.डा. तरुण पौडेलले उक्त कोष स्थापना गरेका हुन् । कोषले स्वतन्त्र रुपमा क्रियाशिल र सेवामा लागेकाहरुको खोजी गरेर पुरस्कृत र सम्मानित गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिए ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य शकुन्तला शर्माको संचालन र सदस्य केवी रानामगरको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले देशलाई बस्न लायक बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास आवस्यक भएको भन्दै स्वास्थ्य क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्दा स्वास्थ्य सेवा प्रभावकारी बन्ने बताए । साथै आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएमा बसाई सराइ समेत रोकिने उनको धारणा थियो । हरेक नागरिकले आँफ्नो जन्मभूमी बिर्सन नहुने भन्दै श्रेष्ठले सक्नेले आफ्नै क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे । डा. पौडेलले पनि आफ्नो क्षेत्रमा कोष स्थापना गरेर चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दा जिल्लाकै गरिमा बढेको बताए । कार्यक्रममा सम्मानित डा. पुकारचन्द्र श्रेष्ठ, जानकीकुमारी पुजारा, अनुपमान सैजु, कोषका सदस्य रामप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->