बागलुङ/जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजार तीन सय ७५ जनाले सेवा लिएका छन् ।
जैमिनी नगरपालिका र रोटरी क्लव अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक सय ३६ जना आँखाका बिरामी र दुई सय ३९ जना महिला स्वास्थ्य सम्बन्धि बिरामीले सेवा लिएका हुन् ।
पालिका मुकाम कुश्मीशेरा बजारमा सञ्चालन भएको निःशुल्क शल्यक्रिया शिविरमा आँखाका एक हजार १ सय ३६ बिरामीमध्ये ५८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।
पालिकास्तरमा सञ्चालित शिविरबाट शल्याक्रिया गराउने यो पहिलो ठुलो संख्या हो । हिमालयन आँखा अस्पतालका चिकित्सक हरिबिक्रम अधिकारी नेतृत्वको नेत्र विशेषज्ञ तथा प्राबिधिकहरुको सहभागितामा जाँच तथा शल्यक्रिया भएको थियो ।
शिविरमा वरिष्ठ गाईनोलोजिस्ट केशव भुर्तेल नेतृत्वको चिकित्सकको समुहले महिला स्वास्थ्य सम्बन्धि जाँच गरेका थिए भने रेडियोलोजिस्ट कालु शर्मा नेतृत्वको समुहले भिडियो एक्सरे सेवा दिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
नगरपालिकाले सामाजिक संस्थाहरुसँग सहकार्य गरेर हरेक वर्ष विभिन्न खालका स्वास्थ्य सम्बन्धि शिविर सञ्चालन गर्दै आएको छ । तीन दिन चलेको शिविरमा १२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले सेवा दिएको थियो । शिविरमा सहभागि सबैको निशुल्क स्वास्थ्य तथा आँखा जाँच र उपचार गरिएको शर्माले बताए ।





