
बागलुङका परिभाषा अनेक सुनिन्छन । तर सर्वमान्य परिभाषा एउटै छैन । अर्थात प्राप्य परिभाषामा पनि मतैक्यता हुन सकेको छैन । उसले यसको परिभाषा काटेको छ, यसले उसको परिभाषा काटेको छ, यस्तै त्यस्तै छ अहिलेसम्म बागलुङको परिभाषा ।
लेख्नेले त लेखिदिए- यहाँ बाघ लुङ (लस्कर) लाएर हिंड्थे रे त्यसैले बागलुङ भनियो रे । बजारको नजिकै मगर बस्ति छ । मगरहरु भन्छन्– मगर भाषामा बागको अर्थ समथर चउर हो र लुङको अर्थ ढुङ्गा हो रे । बागलुङ बजार वरिपरिको ढुङ्गे चट्टान (पहरा) माथि रहेको समथर भूभाग भएकाले बागलुङ भयो रे । अनि अर्को पनि छ- अहिलेको बानपाको ७ नम्वर वडातिर बोउलुङ भन्ने ठाउँ छ त्यहि बोउलुङ पछि गएर अपभ्रंश हुँदै बाउलुङ र अझपछि आएर बागलुङ लेखियो रे !

लेखक शर्मा
अझ पछिल्लो परिभाषा त झनै रोचक मानिन्छ- बागलुङेहरु बाघजस्ता शूरा र बहादुर छन । परि आएको खण्डमा दौडिरहेको राजाको घोडा, बाघ बहादुर बनेर समात्छन । तेजेन्द्र बहादुर खड्काले बाघले झैं झम्टेर राजा महेन्द्रको रातो घोडा समातेका थिए रे । उनै तेजेन्द्र बहादुरले घोडाबाँधे पारीको सदरमुकाम खोसेर बागलुङ ल्याए । अनि बागलुङ आएका प्रहरीका हाकिम हुन वा प्रशासकहरुले जनतालाई दुख दिएर सताए भने टिन ठटाएर लखेट्ने पनि बाघबहादुर नै थिए । बाघ जस्तो निडर भएर त्यस्ता प्रशासकको झ्याँको झार्न पनि पछि परेनन् बाघ बहादुरहरु ।
बदमासि गरेर भागेका प्रहरीका हाकिम (एसपी) लाई बलेवा एअरपोर्टबाट कठालो समातेर बागलुङमै ल्याएर कारवाही पनि गरे । (प्रसंग तलका अनुच्छेदमा पाईन्छ), अहिलेका त यस्ता छन भने बागलुङ चउरका पुर्खाहरु पनि बाघ जस्ता शूरवीर थिए, त्यसैले उनीहरुको वीरतालाई जोडेर बागलुङ नामाकरण भएको हो भनेर पनि ठट्टा गरिन्छ । जेहोस, देशकै परिभाषा एकै छैन भने यो त जिल्ला हो कसरी यौटै होस् । तै बागलुङको परिभाषाहरु पनि छन भन्न पाईएको छ । ल अब छोड्दिऊँ यी रे रे परिभाषाका कुरा । अब बागलुङलाई अलि अगाडि गएर बुझौं ।
अहिलेको बागलुङ बजार पहिला कस्तो थियो त एक पटक विगत फर्केर हेर्दा गलत नहोला । आज भन्दा ६० वर्षअघि बागलुङ बजारको बारेमा विभिन्न भाष्यहरु बनेका थिए । त्यतिबेलाको विकट दुर्गम ठाउँ बागलुङ बजारमा खानेपानीको हाहाकार हुन्थ्यो । पानी खोज्न बजार नजिकैको छहराको धारा र त्याहाँ पनि पानी नपाए काँठेखोला पुगेर ल्याउँथे बजारियाले पानी । छहराको धारा जस्तै नजिकका अन्य परम्परागत धाराहरुमा पानीको मनग्य उपलब्धता थिएन । अर्थात पानीको लागि निक्कै कठिन थियो । विशेषत घरमा चाहिने खानेपानीको जोहो गर्ने जिम्मा गृहिणीको हुन्थ्यो । कम्ता दुःख थिएन गृहिणीलाई, त्यतिबेला पँधेरो नपाएर ।
एक बिहानै गाग्री कोखामा झुण्ड्याउँदै पँधेरो धाउने दिनचर्या गृहिणीको मात्रै हुन्थ्यो । धन्न, २२/२३ सालतीर हुनुपर्छ, मकर बहादुर बान्तवा भन्ने अञ्चलाधिशले आठ दशवटा सार्वजनिक पानीका धारा बजारमा ल्याइदिए पछि केहि सुविस्ता भएको थियो रे । जनसंख्याको बृद्धि संगसंगै यो पानी पनि अपुग हुँदै गयो र पुन पानीको हालत उही पुरानै दुखजिलो अवस्थामा पुग्यो ।
पानी बोक्ने गृहिणीको दयनीय र दुखि हाल देखेर त्यो बेलाका चर्चित गायक धर्मराज थापाले गीतै बनाएर गाईदिए- बागलुङको बजार, पंधेर्नीलाई दुख हजार । यहि गीतले बागलुङमा पानीको साह्रै दुख छ भन्ने भाष्य निर्माण भयो । सबैतिर फैलियो । बागलुङ आउने सरकारी कर्मचारीले बागलुङमा त राम्रोसंग नुहाउन पनि पाईंदैन भनेर काठमाण्डौ पोखराबाट यता सरुवा भएर आउन नमानेर तर्किन्थे रे । अनि पानी पंधेरो नजिक छैन भनेर छोरी पनि बागलुङ चउरमा दिंदैन्थे रे !

पुरानो बागलुङ बजार
गल्कोटमा रहेको सदरमुकाम बागलुङ त आयो तर बागलुङ बजारमा उपलब्ध सुविधाहरु कमजोर भएकाले बाहिरबाट आउनेहरुलाई सदरमुकाममा त्यति ज्यादा आकर्षण भएन । कर्मचारीहरु बागलुङ आए कि जानकै हतार गर्थे । र, पनि केहि समय काम गर्दै गएपछि जिल्ला भ्रमणमा पुगेका हाकिमहरुले भ्रमणको क्रममा रसरंगमा फँसेछन । गाउँलेहरुले हाकिमहरुको स्वागत सत्कारमा रोधिघर जमाउँदा तरुनीहरुसंगको बस उठले लोभिन पुगे । जिल्लामा आउँदा हाकिमहरुले फटाफट् काम गर्दिन थाले । गाउँले र हाकिमका स्वार्थ मिलेपछि रोधिमा रमाउन पटक-पटक गाउँ फर्केर जान थालेछन । महिनामा जम्मा पाँच छ सय तलब खाने हाकिमहरु पचास साठी रुपैयाँको टिएडिए भरेर फर्कि-फर्कि किन जान्छन भन्ने कौतुहलता आफ्नै सहकर्मी कर्मचारीले पत्ता लगाएपछि गुह्य खुल्दै गयो ।
ति रसिला गाउँहरुमा ढुङ्गाले छाएका कलात्मक ढुङ्गाको छाना भएका टम्म मिलेका घर देखि बाँस निगालो र काठबाट निर्मित माना, पाथी, कुरुवा, ठेकाठेकी, डाला, नाङ्ला लगायत घरायसी उपयोगी सामान पनि पाईने, र ति केहि खरिद गर्दै र केहि उपहार स्वरुप मिलेका सामान पिउनलाई बोकाएर ल्याउँदा रहेछन । उनीहरुका भित्रि करतुत पिउन मार्फत अरुले पनि थाहा पाए । यसरी रसिक ठाउँमा आऊजाऊ गर्दागर्दै यिनिहरु चोखिन यौटा भाष्य निर्माण गरेछन । त्यहि भाष्य पछि गएर उखानको रुप लियो । त्यो उखान थियो- काठको मानु ढुङ्गाको छानु, स्वास्नी नपाए बागलुङ जानु । यो उखान बनेर बाहिर फैलिए पछि बागलुङ आउन नमान्ने कर्मचारीहरु जीब्रो लेप्राउँदै बागलुङमा हाम्फालेर आउन थालेका रहेछन ।
उखान प्रचलनमा आएपनि बागलुङेले रचेको र चलनमा ल्याएको उखान भने थिएन त्यो । तर नवागन्तुकले बागलुङ बजार आउँदावित्तिकै मुखबाट चुहाई हाल्थे र सोध्थे- काठको मानु ढुङ्गाको छानु, स्वास्नी नपाए बागलुङ जानु भन्ने साँच्चै हो र ? यसरि हल्का ढंगले बागलुङेलाई खिस्साउँदा बागलुङेले प्वाक्क मुखाँ हान्नु जस्तो गर्थे तर हान्न सक्दैनथे । समय यस्तो थियो कि सहेर बस्नुको विकल्प थिएन । माथि परिभाषित भएजस्तै बागलुङेहरु सुतेका बाघ हुन । सुतेको बाघलाई नजिस्काएसम्म मस्त निन्द्रामा सुत्छ । जिस्काएपछि झम्टिन्छ, जिस्काउनेलाई एक गास बनाउँछ ।
विगतमा एकजना प्रहरी हाकिमले यौन काण्ड मच्चाए जसका कारण स्थानीय लेखन्दास कृष्णप्रसाद श्रेष्ठको हत्या भयो । श्रेष्ठको हत्यारा खोज्दैजाँदा जो रक्षक उही भक्षक भैदियो । प्रहरीका अञ्चल हाकिम प्रहरी उपरीक्षक (एसपी) नै हत्यारा हो भन्ने पत्ता लागेपछि उनी भागेर बलेवा एअरपोर्टमा उड्नै लाग्दा बागलुङेले लछार-पछार पार्दै बागलुङ ल्याएको घटनाले बागलुङे बाघै हुनभन्ने प्रमाणित गरेको थियो । त्यो समयमा हतियारधारी प्रहरीसंग भिड्नु भनेको बाघकै मुटु भएको मान्छे चाहिन्थ्यो ।
यस अघि अञ्चलाधिशले बजारियालाई दुख दिएर सताए पछि स्थानीयले टिन ठटाएर लखेटेको घटना पनि बहादुरीकै घटना थियो । त्यो कालखण्डमा यसो गर्ने हिम्मत अन्यत्र विरलै भेटिन्थ्यो । तत्कालिन शाही नेपाली सेनाका गुल्मपतिले ठे.षडानन्द शर्मा (गुरुप्रसाद) लाई मागेको पचास हजार रुपैयाँ नदिएको कारण विभत्स ढंगले हत्या गरी बोरामा हालेर काँठेखोलामा मिल्काएको घटनाले पनि बागलुङेको रगत उमाल्यो । हत्यारालाई कारवाहीको माग गर्दै बागलुङ बजारमा ठुला जुलुस निस्के । घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुप लियो । बीबीसीले यो घटनालाई निकै उछाल्यो । अन्तत दोषी सैनिकहरु कारवाहीको भागिदार बने भने मृतकका परिवारले प्रचलित कानुन बमोजिम राहत पाएर घटना साम्य भयो ।

बागलुङ बजार
त्यो बेलाको बागलुङको चउरमा तीन बाली उब्जनी हुन्थ्यो- धान, मकै, गहुँ । वरपर आँठोकाँठोमा पनि यिनै उब्जनी हुन्थे । स्थानीय गाई भैंसी सबैले पाल्थे । अन्नबालीसंगै दूध गोरस शुद्ध पाईन्थे, खान्थे । अर्थात सबै अर्गानिक खानेकुरा खान पाईन्थ्यो । होटलमा जिम्मुले झानेको दालको बासना र गौरीया चामलको भात मङमङ बसाउथ्यो । बजार होटल जता गएपनि नेपालै नेपाल र नेपालीपन बसाउँथ्यो । मान्छेको विचार पनि शुद्ध हुन्थ्यो ।
शुद्ध मन र विचार हुनेहरुले अन्यायका विरुद्ध ज्यान दिएर लड्थे । बाघ भएर भिड्थे । तर अहिलेका खानामा पश्चिमा कुईरेको गन्ध आउँछ । कण्टिनेण्टल चाईनिज र युरोपियन मेन्यु खानाका गन्ध बजारभरी भेटिन्छ । नेपाली अर्गानिक खानाको ठ्याक्कै विपरित डिसहरु बजारमा मात्र नभएर सर्वसाधारणका घरघरका भान्छाहरुमा प्रवेष पाएका छन । जंकफूड र मिसावटयुक्त खानाले मान्छेका मनहरु शुद्ध छैनन भने तनहरु पनि तन्दुरुस्त छैनन । तन र मन अशुद्ध हुँदै गएपछि शूरवीरता पनि मलिन हुँदै जाँदो रहेछ । फिर भि, बागलुङे स्वदेशका प्रमुख शहरहरुमा सम्बृद्ध र प्रतिष्ठित बनेर शानका साथ पहिचान बनाएर जीवनयापन गरेकाछन भने संसारका कुनैपनि सम्पन्न मुलुकहरुमा अरुको तुलनामा अब्बल बनेर नेपाल चिनाउन पछि परेका छैनन् ।
बागलुङ बजार
अन्तमा, समय सबैभन्दा बलवान अरु केहि नहुँदो रहेछ । त्यस्तो विकट र अभावग्रस्त बागलुङ आजभोलि राजधानी जत्तिकै त नभनौं तर उस्तैउस्तै सुविधा सम्पन्न बनेको छ । हप्तौंको यात्रामा कामाण्डौ पुगिने लामो दूरी छोटिएर दुईघण्टाको दुरी कायम भएको छ । पहेंलपुर धानका बाला झुल्ने बागलुङ बजार कंक्रिटका घरहरुको खातले ढाकिएको छ । हिंजो तरुनी पाईने आशामा बागलुङ आउनेहरु आज उतैबाट व्यवस्था मिलाएर आउन थालेका छन । कस्तो बागलुङ कस्तो भयो । बाँच्न मात्र पर्छ अझ के के देख्न पर्ने हो । लौ बागलुङकी देवी भगवती सबैको कल्यण गर ।





