पोखरा/रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
शनिबार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् । छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिएका थिए । सो अवसरमा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।





