बागलुङ/गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले रेडियो दुरदराजका नागरिकको आवाज भएको बताएकी छिन् । उनले रेडियोले सूचना मात्र प्रशारण नगरी जनताको धड्कन बनेर उनीहरुको जीवन उज्यालो बनाएको बताइन् ।
धौलागिरि एफएमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘रेडियो ः विगत, वर्तमान र भविष्य’ विषयक अन्तरसम्वाद कार्यक्रममा भण्डारीले प्रविधिको विकाससँगै रेडियोमा थपिएको चुनौती सामना गर्ने अवसर पनि आएको बताइन् । २०६१ मा चरम राजनीतिक संकटबाट गुज्रेका रेडियोहरु अब फेरी आर्थिक संकटमा आएको भन्दै उनले त्यसबाट बच्न रेडियोले सामाजिक संजालमार्फत जनतामा जाने वातावरण बनाउनुपर्ने समेत बताइन् ।
‘हो अहिले रेडियो सुन्नेहरु घटेका छन्, विज्ञापनको बजार पनि घटेको छ’ उनले भनिन्, ‘यो बेलामा सरकारले न्युनतम सहयोग गर्नुपर्छ र रेडियो जनताको चाहना अनुसार चल्नुपर्छ ।’ सामाजिक संजालमा रमेको वर्तमान पुस्तालाई रेडियो सुन्ने वातावरण बनाउनुपर्ने उनले बताइन् । त्यसका लागि रेडियोले दिने सामाग्री नयाँ पुस्ताको आवस्यकतामा चल्नुपर्ने बताइन् । सूचना र मनोरञ्जन हातका औंलामा खोज्ने युवापंक्ति अब रेडियोमा जोडिनुपर्ने उनको भनाइ छ ।
प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशमा स्थापना भएपछि प्रदेशभित्रका संचार माध्यम र पत्रकार महासंघका शाखाको सबलीकरण गर्ने प्रयास शुरु भएका छन् । पहिलो पटक गण्डकी प्रदेशले रजिष्ट्रार कायालय खोलेपछि राजधानी जानुपर्ने बाध्यता भएका धेरै संचार माध्यमलाई प्रदेश स्तरमै काम बन्ने वातावरण पनि बनेको छ ।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीष, राजनीतिक दलको तर्फबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य टेकबहादुर केसी आजादले बोलेका थिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले ‘रेडियो ः विगत, वर्तमान र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले उक्त कार्यपत्रमा रेडियोले नागरिकलाई सूचनामा पहुँच विस्तार गरेको, सामुदायिक सशक्तीकरण गरेको, लोकतन्त्र र पारदर्शीतामा पहुँच बढाएको, बिपत् र सूचना प्रवाहमा अग्रपंक्तिमा उभिएको तथा सांस्कृतिक संरक्षणमा काम गरेको समेत उल्लेख गरेका छन् ।
तर पनि रेडियोमा जनशक्ती घटेको, विज्ञापन बजार खुम्चेको, व्यवसायिकतामा कमी आएको र सामाग्रीमा नविनता हराएकोले रेडियोप्रति विश्वास पनि कम भएको उनले बताए । त्यसका लागि प्रस्तुती शैली परिवर्तन गर्नुपर्ने, समाजमा भूमिका बढाउनुपर्ने, आर्थिक पक्षलाई ख्याल गर्नुपर्ने र श्रोताको सहभागिता बढाउनु पर्ने जस्ता आवस्यकता औल्याएका छन् ।
कार्यपत्रमाथी नेपाल पत्रकार महासंघ गण्डकीका पुर्व महासचिव गणेश पौडेलले टिप्पणी गरेका थिए भने लेखक यामबहादुर थापाले रेडियोलाई सुझाव प्रस्तुत गरेका थिए ।
धौलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, सम्पादक ताराप्रसाद शर्माको संचालन र स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
२०६१ को कात्तिक २७ गते धौलागिरि क्षेत्रमै पहिलो पटक धौलागिरि एफएम स्थापना भएको थियो । यो एफएम खुलेपछि ग्रामीण बासिन्दाले सूचनाको पहुँच बिस्तार गर्न पाएको रेडियोका अध्यक्ष गौतमले बताए । सशष्त्र द्वन्द्वको बेला एफएम र अन्य माध्यममा समेत काम गर्ने पत्रकारले धेरै सास्ती भोगेर पनि सूचना प्रवाह गरेको चुनौतीपुर्ण घटनाक्रमबारे गौतमले जानकारी गराए ।




