बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङको प्राविधिक सहयोगमा सशक्त विचार निर्माण तथा सकारात्मक सोच अभिवृद्धि सम्बन्धी एक दिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
सकारात्मक सोच, आत्म–अनुशासन, तनाव व्यवस्थापन, नेतृत्व क्षमता तथा आत्म–विश्वास जस्ता जीवन उपयोगी सीपहरू विकास गराउँदै व्यक्तिगत तथा सामाजिक जीवनलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले प्रशिक्षण दिईएको हो । कार्यक्रमले केवल सकारात्मक सोच मात्र होइन, गहिरो, स्थायी र सशक्त विचार निर्माण गर्नुपर्ने आवश्यकता माथि विशेष जोड दिएको थियो ।
कार्यक्रममा चारतारे युवा क्लब सिवाईसी नेपालका आजीवन तथा विशिष्ठ सदस्य, सिवाईसी साकोसका शेयर सदस्य, जिल्लास्थित सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, सिवाईसी नेपालद्वारा सञ्चालित ‘वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम’ अन्तर्गतका समितिका प्रतिनिधि तथा बागलुङ जेसिजका सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका ब्रह्मकुमार वि.के. रमन भट्टराईले प्रशिक्षण दिँदै सकारात्मक सोचमार्फत जीवनमा आउने परिवर्तन, मनको शक्ति, आत्म–अनुशासन र तनाव व्यवस्थापनका सरल विधि तथा दैनीक जीवनमा अपनाउन सकिने व्यवहारिक उपायहरूबारे विस्तृत रूपमा जानकारी दिएका थिए । मनको उर्जा सही दिशामा प्रयोग गर्न सके व्यक्तित्व, व्यवहार र लक्ष्यप्राप्ति क्षमतामा उल्लेखनीय सुधार सम्भव हुने भन्दै उनले सशक्त विचार निर्माण समयको अनिवार्य आवश्यकता भएको उल्लेख गरे ।
सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बद्लिँदो विश्व परिवेशमा केवल सकारात्मक सोचको कुरा गरेर यथास्थितिमा बसिरहन नहुने धारणा व्यक्त गर्दै अहिलेको समय सशक्त, गहिरो र उद्देश्यपूर्ण विचार निर्माणको रहेको बताए ।
प्रशिक्षणका सहभागीहरूले पछिल्लो समयमा समाजमा देखिएका चुनौती, सामाजिक समस्या तथा तिनका समाधानका उपायबारे आफ्ना विचार र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रम सिवाईसी नेपालका कार्यसमिति सदस्य सीता शर्माको स्वागत तथा कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





