पोखरा/मंसिर १ गते सोमबार । दिनको पौने १ बजे फोन आयो ‘म्यानपावरले ठगी गरेको छ, समाचार लेख्दिनुप¥यो ।’ फोनमा सबै कुरा नहुने उत्तरपछि पीडित भनिएका व्यक्तिलाई भेटेर जाने निर्णय गरेँ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरा महानगरपालिका नगर अधिवेशन भएकाले पहिला त्यता जानुपर्ने बाध्यता आइलाग्यो र लागेँ राप्रपाको अधिवेशनतर्फ । अधिवेशनको उद्घाटन सत्र चल्दै थियो । अध्यक्ष र महामन्त्रीबीचको विवादले लामो समयदेखि उनीहरु एकै मञ्चमा थिएनन् । त्यही क्रममा फोन आयो अर्जुन हिताङको नम्बरबाट । पीडितहरु म्यानपावर आइसकेपछि कार्यक्रम बीचमै छाडेर त्यता लागेँ ।
मसँग सवारी साधन छैन । हिडेर जाँदा ढिला हुन्छ लिन आउनु भनेर अर्जुनलाई बोलाएपछि म कार्यक्रमस्थलबाट पोखरा महानगरपालिका कार्यालय (जेन–जी आन्दोलनमा जलाइएको) अघि कुरेर बसँे । आएपछि हामी म्यानपावरतर्फ लाग्यौँ । म पुग्दा त्यहाँ पीडितसहित अन्य २–३ जना व्यक्ति र पत्रकार सुरेश सुनार र विष्णु पोखरेल पनि भेटिए । लगत्तै म्यानपावरभित्र प्रवेश ग¥यौैँ । घटनाको पूर्ण जानकारी थिएन । हामीले म्यानपावरकै कार्यालय परिसरमा पहिला पीडित भनिएका व्यक्तिको कुरा सुन्यौँ । सहकर्मी साथीहरुले भिडियो लिए । मैले पनि लिएँ । त्यत्तिकैमा त्यहाँ २–३ जना युवाहरुको प्रवेश भयो । हामीमाथि उनीहरुको निगरानी थियो । हामीले वास्ता गरेनौँ । पीडितको कुरा सुन्नैमै व्यस्त भयौँ ।
अक्टोबर २४ २०२५ मा दुबईमा जागिर लगाइदिने भन्दै उडेका उनी अलपत्र परेका रहेछन् । दुबई पुगेपछि उनको मेडिकल गर्नुपर्ने भनिएको रहेछ । गएको १७ दिन उनलाई कहिले यता, कहिले उता गर्दै हल्लाएको रहेछ । पछि उनले माछा/मासु राख्ने कोल्डस्टोर्समा काम पाएका रहेछन् । त्यहाँ १३ घण्टा कोल्डस्टोर्समै बस्नुपर्ने भएपछि नेपाल आउन चाहेका रहेछन् । मेनपावरले भनेजस्तो काम नदिएको गुनासोसँगै बुझाएको रकम फिर्ता पाउनुपर्ने माग रहेछ ।
भएको के हो भन्ने जानकारी लिनका निम्ति हामी हामी अमित्य ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रालिका शाखा निर्देशक दीनेश मगरकहाँ पुग्यौँ । उनको कार्यकक्षमा पुग्दा ठाउँ ‘यहाँ साँघुरो हुन्छ, ठूलो ठाउँमा जाऊँ’ भन्दै हामीलाई अलिक ठूलो ठाउँमा लगियो । हामीले कुनै दबाब दिने वा पक्षधरताको कुरा गरेका थिएनौँ । घटनाबारे जानकारी माग्ने नै हाम्रो उद्देश्य थियो । पीडित भनिएकाहरुले न्याय पाऊन् भन्ने हाम्रो मनसुवा हुने नै भयो ।
उनीहरुकै आग्रहमा म, अर्जुन, सुरेश र विष्णुसहित पीडित व्यक्ति बस्यौँ । त्यत्तिकैमा सुरेश र पीडितलाई बोलाए । उनीहरु गए तर पीडित र उनको आमा हामी भएकै ठाउँमा आएर बसे । निकै समय कुर्दा मैले समयको सदुपयोग गर्दै पीडितसँग पुनः घटनाबारेमा जानकारी लिएँ । त्यतिबेला साढे २ बजिसकेको थियो । त्यत्तिकैमा हामीलाई पनि भित्र बोलाइयो ८ मिनेट पीडितसँग कुरा गरेर हामीभित्र प्रवेश ग¥यौँ । हाम्रो सबै गतिविधि उनीहरुले सिसिटिभीमा (अडियोसहितको) निगरानी गरिरहेका थिए ।
हामी एक पक्षको कुरा सुनेर भित्र गयौं ,मेनपावरवालाकै आग्रहमा । भित्र पुगेर केही बेर कुरा गर्दा त्यहाँ पाँच–सात जना थिए । माहोल शान्त थियो । घटनाबारे कुरा चल्यो पिडितले आफूले भनेजस्तो काम नपाएको र जानुअघि आफुलाई सबै जानकारि नदिएको बताउँदै गए । मेनपावरवालाले आफ्नो बचाउ गर्दै कुरा गरिरहे । मेनपावरवालाको मान्छेहरु भरिदैँ गए । भरिदै जाँदा उग्र हुँदै हामीमाथि खनिन थाले ।
अर्को पक्षको कुरा सुन्न नपाउँदै हामीमाथि निकै दबाब दिन थाले । पीडित भनिएका व्यक्तिले दीनेश मगरसँग आफूलाई राम्रो काम परेन भन्ने कुरा जाहेर गरे । उनले काम मन नपरेको र अर्को ठाउँमा लगाइदेऊ नभनेर नेपाल नै फर्कन्छु । काम गर्न सक्दिन भनेर भिडियो बनाएको कुरा पनि सुनाए । त्यसपछि दीनेश आफू केही बोलेनन् । उनले बोलाएका गुण्डाहरु बोल्न थाले । त्यत्तिकैमा एकजनाले भने हामीले सिआइडी पनि बोलाएका छौं । त्यो साँचो थियो वा थिएन सिसिटिभि फुटेजमा छ ।
सुरुमा शान्त तरिकाले नै चलेको वार्तालाप गुण्डा शैलीमा हामीलाई धम्क्याउँदै सबै जना खनिन थाले । हामीलाई मेनवापरका निर्देशक दीनेश मगरको कुरा सुन्न नै दिएनन् । हामीले प्रयास ग¥यौँ तर मानेनन् । एकपछि अर्को गर्दै गुण्डाशैलीमा थपिदै गएपछि उनीहरुले अनुमति विना म्यानपावरभित्र किन भिडियो खिचेको भन्दै हप्काए ।
हामीले हाम्रो कुरा राख्न खोज्दा रोकियो । बोल्नै दिएनन् । सुरुमा मसहित मेरा तीन सहकर्मी, पीडित भनिएका युवा उनको आमा, म्यानपावरका शाखा निर्देशक दीनेश मगरसहित अन्य पाँच–सात जना भएको ठाउँ भरियो ।
त्यत्तिकैमा कालो लेदरको ज्याकेट, कालो चस्मा र जिन्सको पाइन्ट लगाएका एक जनाले ‘नसोधि किन आएको’ भनेपछि सहकर्मी साथीले ‘यहाँ आउन सोध्न पर्छ र ? हामी बुझ्न आएका हौं’ भनेपछि ती व्यक्ति आक्रामक देखिए । गुण्डागर्दी देखाउँदै ती व्यक्तिले भन्न थाले ‘यसले मलाई ओपन च्यालेन्ज ग¥यो त ।’ त्यत्तिकैमा त्यहाँ उनीहरुको संस्था रहेको बताउँदै ती सबै पदाधिकारी रहको भन्दै एकाएक खनिए । तिनै कालो ज्याकेट लगाउने जंगिएपछि अन्य सबै थपिए । ती व्यक्तिले त्यहाँ रहेका अरुलाई आदेश दिए ‘ढोका बन्द गर यिनहरुलाई जान दिने हैन’ । ढोका लगाइयो । भित्र र बाहिर उत्तिकै मान्छे थिए ।
हामीलाई घेरेको करिब एक घण्टाको आसपासमा मैले स्वीकृत विना भिडियो खिचेकोमा माफी माग्दै उनीहरुको डरले त्यो भिडियो डिलिट गरेँ । रिसाइकलविनबाट समेत डिलिट गरेँ । पीडितको भिडियो त्यहाँबाट निस्किएपछि जतिबेला लिँदा पनि हुने थियो भन्ने भयो ।
अर्का सहकर्मी र उनका क्यामेरामेनलाई चिनेका कारण उनीहरुको बारेमा खासै धेरै कुरा गरेनन तर, म र अर्का सहकर्मीको बारेमा बढी सोधखोज गरे । कुन मिडिया ? के ? नानाथरि सबै सोध्न थाले । हामीले पनि प्रश्नको जवाफ दियौं । कार्ड देखाउन भने । देखायौ तर कार्डको फोटो नै खिच्न थाले । त्यही बेला उनीहरुले हाम्रो भिडियो फोटोसमेत खिचेर आफ्नो सर्कलमा हाले । उनीहरुको ह्वाट्एप ग्रुपलगायतमा ।
उनीहरुले पटक पटक हाम्रो फोटो वा भिडियो खिचिरहे । तिनै कालो ज्याकेट लगाउनेले मिडियाकै कार्ड देखाए । कुन मिडिया लेखेको मैले हेर्न भ्याइन । यहाँ भएका कुरा यही सीमित राख्नू भन्दै त्यहाँ भएको बारेमा लेखे बाहिर जे पनि गर्न सक्ने धम्की दिए ।
यतिसम्म गरे कि, हाम्रो नाम फोटोकपी पेपरमा लेखेर हस्ताक्षर गर्नसमेत भने । हामीले प्रतिकार गरेपछि हाम्रो नाम नम्बर, बस्ने ठेगाना र मिडियाको नाम ठेगाना लेखे । त्यतिबेला बस्ने ठेगाना भनौँ या नभनौ दोधारमा पुगँे । मैले भनिन्, अर्का सहकर्मीले पनि भनेनन् । मिडियाकै मात्र भन्याँै ।
त्यसपछि पीडितलाई बाहिर पठाएर हाम्रो क्यामेरा, मोबाइल माग्न थाले । मैले पहिला नै डिलिट गरेँ, मेरो सम्पत्ति किन दिने भनेर उम्किएँ । साथीहरुको क्यामेरा लिए । भिडियो, फोटो र अडियो रेकर्ड छ कि छैन भनेर सबै हेरेपछि रिसाइकल विनबाट समेत डिलिट गराइयो । त्यो बेला हामीलाई निकै असुरक्षित महसुस भयो । तत्काल निस्कने उपाय सोच्न थालेँ । कार्यालयमा फोन गर्ने र महासंघ (नेपाल पत्रकार) गुहार्नका लागि फोन निकालेर अनलक गरेँ तर वातावरण सहज नदेखेपछि फोन नगर्ने निर्णय गरेँ ।
मलाइ तत्काल साथीहरुसँगै पीडितलाई निकाल्नु थियो । निस्किनका लागि मैले अहिले यति गरौं भाइ तिमीले (पीडित भनिएका) तिम्रो मेडिकल रिर्पोट माग । यसपछि सबै प्रमाण हेरेर काम गरौँला भनेपनि हामीमाथि झन् खनिए । कता भौतिक आक्रमण नै हुन्छ कि भन्ने सम्मको स्थिति बन्यो ।
हाम्रो केही सीप चलेन । त्यसपछि हामीलाई नै रोहबरमा राखेर पीडितलाई म्यानपावरमा नआउने गरि सहमति गराउन पुनः धम्क्याए । त्यहीमध्येका एकले ‘अब कुरा नलब्याऊँ’ भन्दै सहजीकरण चाहिँ गरे ।
मैले पनि मौका छोपेर पीडित र उनको आमालाई त्यहाँबाट निकाल्ने प्रयास गर्दै ‘तपाईंहरु यहाँ नआउनुस् । अब कानूनी लडाइँ लड्नुस, प्रहरी वा वैदेशिक रोजगारमा मुद्दा हाल्नुस’ भनेँे । पीडितको आमाले आफू अब ऋण गरेर मुद्दा लड्न नसक्ने बताइन् । त्यही बेला मैले उनको छोरालाई कानमा खुसुक्क भनँे, ‘भाइ यहाँबाट अहिले उम्कने कोसिस गर्ने हो बाँकी कुरा बाहिर पुगेर गरौँला । तपाईंहरुले भनेजस्तै हुन्छ भनेर निस्क । तर,उनीहरुले पीडितलाई बाहिर जान दिएनन् । मैले जोडबल गर्दै सहकर्मी अर्जुनलाई बाहिर निकालेँ ।
करिब साढे दुई घण्टा बन्दी बनेका हामी निस्कियौं । निस्कदा उनीहरुले मिलेर काम गरौं भन्दै केही प्रलोभन समेत देखाउने र विज्ञापन दिनेजस्ता कुरा गर्न थाले । पछि थाहा भयो २५ हजार रुपैयाँको चेक दिएर घटना त्यहीँ साम्य पार्ने काम भएछ । पीडितले नचाहँदा–नचाहँदै उनीहरुले जबरजस्ती गरेछन् ।




