मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कास्की अदालतमा कागजात बुझाउने म्याद थप

कास्की अदालतमा कागजात बुझाउने म्याद थप


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

पोखरा / जिल्ला अदालत कास्कीले ‘जेन–जी’ आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएका मिसिल कागजात संकलन गर्नका लागि १ महिना म्याद थप गरेको छ ।अदालतले हिजो बुधबारदेखि लागू हुने गरी आगामी पुस १० सम्मका लागि म्याद थप गरेको हो ।

आन्दोलनका क्रममा अदालत भवनमा भएको आगजनीबाट भौतिक संरचना, चालु तथा फैसला भएका मुद्दाका मिसिल, फैसला कार्यान्वयनका निवेदन र सूचना प्रविधिको उपकरणमा क्षति पुगेपछि अदालतले पक्षहरूसँग भएका प्रमाणका आधारमा मिसिल खडा गर्न लागेको हो । अदालतका स्रेस्तेदार राजन खनालद्वारा जारी सूचना अनुसार सर्वोच्च अदालतबाट गत असोज ५ मा जारी भएको ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ बमोजिम म्याद थप गरिएको हो । यसअघि २४ असोजमा सूचना प्रकाशित गरी १० मंसिरसम्मको समय दिइएको थियो । तर, तोकिएको अवधिभित्र उल्लेख्य मात्रामा मिसिल कागजात प्राप्त नभएको र अझै धेरै कागजात संकलन गर्न बाँकी देखिएपछि पुनः सूचना प्रकाशन गरिएको अदालतले जनाएको छ ।

अदालतले यस अवधिभित्र आफ्नो परिचय खुल्ने कागजात, तारेख पर्चा, फिराद, प्रतिउत्तरपत्र, निवेदनपत्र, फैसला, आदेश लगायतका मुद्दासँग सम्बन्धित कागजातहरू अनिवार्य रूपमा पेश गर्न सम्पूर्ण मुद्दाका पक्ष, कानुन व्यवसायी र सरोकारवालालाई अदालतले अनुरोध गरेको छ । सर्वोच्चको निर्देशिकाको परिच्छेद ३ को दफा ५ को उपदफा (१) मा नष्ट भएका मिसिल कागज संलग्न गर्न ६० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था रहेको अदालतले स्मरण गराएको छ ।

यसका साथै जेन–जी आन्दोलनका क्रममा तारेख गुज्रेका, प्रतिउत्तर दिने म्याद गुज्रेका वा फैसला कार्यान्वयनमा हाजिर हुनुपर्ने व्यक्तिहरूले पनि १० पुसभित्र अदालतमा उपस्थित हुन पाउने छन् । अदालतले यो अवधिभित्र तारेख थाम्ने, थमाउने, प्रतिउत्तर पेश गर्ने र फैसला कार्यान्वयनको सूचना म्यादमा हाजिर हुन सकिने व्यवस्था मिलाएको छ । तोकिएको समयभित्र उपस्थित नभए कानुन बमोजिम हुने व्यहोरा अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->