बागलुङ/ तेस्रो मेयरकपको उपाधि आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ । आइतवारदेखि सुरु मेयरकपको बिहिवार भएको खेलमा आयोजक बागलुङ नगरपालिका निलोले पर्वतको पैंयुँ गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बागलुङ नगरपालिकाका जर्सी नम्बर १४ का मनिष ठकुरीले खेलमा ह्याट्रिक गरे । मनिषले पहिलो हाफको ३८ औं मीनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोश्रो हाफको ४२ औं मिनेट र इन्जुरी टाइममा गोल थपेर मनिष उत्कृष्ठ खेलाडी समेत घोषित भए । इन्जुरी समयमै बागलुङका जर्सी नंं १० का राजिव श्रीषले पनि गोल थपेर खेललाई ४–० मा पु¥याएपछि पैंयु स्तब्ध भयो ।
खेल जितेर बागलुङले ३ लाख ३३ हजार रुपैयाँ हात पा¥यो भने पैयुँले २ लाख २२ हजारमा चित्त बुझायो । १० टिमले भाग लिएको खेलमा नेपाली सेना र प्रहरीले पनि खेलेको थियो । दुवै टिम सेमी फाइनल प्रवेशमै पराजित भएका थिए । खेलले पालिका र बिभागीय टिमबीच मैत्रीपुर्ण वातावरण सिर्जना भएको र खेलाडीलाई प्रोत्साहन मिलेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उनले आगामी दिनमा खेलाडीलाई नियमित प्रशिक्षणमा राखेर दक्ष बनाउने काममा लाग्ने समेत बताए ।





