आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जो डाक्टर बन्न पाएनन् तर समाजको अगुवा बने

जो डाक्टर बन्न पाएनन् तर समाजको अगुवा बने

विधिको शासन खोज्दा अञ्चलाधीशको धम्की !


  • प्रकाश बराल
  • मंसिर १९ २०८२, शुक्रबार

बागलुङ/ ४७ वर्षअघि अर्थात् २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । युवालाई संगठितसमेत बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर, विधिको शासन बारे जागरण ल्याउने, युवामा नेतृत्व विकास गर्ने र सामाजिक काममा युवा परिचालन गर्ने लक्ष्य थियो । सामाजिक काम र विधिको शासनको कुरा गर्दा उनलाई अञ्चलाधीशको धम्कीसमेत आयो ।

युवालाई जागरण ल्याउन गरी संगठित गर्न रोक्ने प्रयास भयो । तर, उनले अडान लिएर बसे । जसका कारण युवाहरुको सामाजिक र व्यक्तित्व विकास गर्ने संस्था जेसीज जन्मियो । त्यतिबेला जन्माएको संगठन अहिले पनि नेतृत्व विकासमा अग्रणी छ ।

बागलुङ जेसीजका संस्थापक श्याम श्रेष्ठ उमेरले ७५ बर्षका भए । तर, सक्रियता तन्नेरीझँै छ । घुँडा दुख्ने समस्याले हिँड्न गाह्रो पर्छ तर पनि उनी सकी–नसकी निस्कन्छन् । औपचारिक कार्यक्रममा पनि पूरै समय बसेर सबैको कुरा सुन्छन् । आफ्नो पालो आयो भने नेतृत्वका गुणबारे बोल्छन् ।

उनको मन्तव्यमा जहिले पनि विधि पद्धतिको कुरा अडेका हुन्छन् । भन्छन्, ‘विधिको शासन हुनुपर्छ ।’ बागलुङ नगरपालिका वडा नंं २ का श्याम श्रेष्ठ ‘शासन विधिको हुनुपर्छ’ भनेर युवा अवस्थाबाटै सामाजिक सेवामा होमिएका व्यक्ति हुन् । अहिले पनि उनी हरेक संस्थादेखि राजनीतिक दललाई पनि यही सुझाव दिने गर्छन् । विधिको शासन बारे बोलेकै कारण पटक–पटक तारेख खेपेका छन् ।

४७ वर्षअघि स्थापना भएको बागलुङ जेसीजको उनी संस्थापक अध्यक्ष हुन् । त्यही नाताले नउी जेसीजका हरेक गतिविधिमा संलग्न भैरहन्छन् । युवाको व्यक्तित्व र नेतृत्व विकासमा जेसीज क्रियाशील छ । सामाजिक सेवा, पर्यटन प्रवद्र्धन तथा नीति निर्माणमा युवा सहभागिताको पैरवी उनको कर्म हो ।

२०३५ सालमा श्याम श्रेष्ठको अगुवाइमा सयौं युवा जुटेर यहा“को धौलागिरि बहुमुखी क्याम्पसमा जेसीज गठन भएको थियो । उद्घाटन कार्यक्रममा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी जगन्नाथ शर्मा सहभागी थिए । भोलिपल्टै श्रेष्ठलाई अञ्चलाधीश कार्यालयमा तारेखमा बोलाइयो । अघिल्लो दिन बोलेको ‘कि शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भनेको के होे ? भन्दै स्पष्टीकरण मागियो । श्रेष्ठले डटेर यो जेसिजको अन्तर्राष्ट्रिय मान्यता रहेको बताए । अञ्चलाधीशले स्वीकारेनन् । अर्कोदिनको तारेख बोकाइयो ।

फेरि सीडीयोले पनि त्यही कुराको प्रष्टीकरण मागे । उनले प्रशासनमा पनि विधिको शासन हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यताबारे बोले । ‘मलाई हतोत्साही बनाउन खोजियो तर मैले विधिको शासन हुनुपर्छ भन्नेमा अडान लिए“,’उनले भने, ‘राजाको पंचायती शासन चलिरहेको बेला अञ्चलाधीश र सीडीओओलाई त्यो नारा पच्ने कुरा भएन ।’ नेपाल जेसीजको संस्थापक अध्यक्ष डा. भेषबहादुर थापाले पनि यो नारा छपाएका थिए । थापाले सन् १९६४ अर्थात् नेपाली मिति अनुसार २०२१ सालमा तत्कालिन राजा महेन्द्रलाई संरक्षक राखेर उनैबाट उद्घाटन गराएका थिए । त्यसपछि निस्केका जेसीजको सबै लेटरप्याडमा प्रमुख संरक्षक भनेर राजाको नाम लेखिएको देखेपछि मात्र प्रशासकहरु पछि हटेका थिए । तर पनि हरेक गतिविधिमा उनको निगरानी हुने गरेको थियो । यो नारालाई सकेसम्म प्रस्तुन नगर्न प्रशासकहरु हरदम प्रयास गर्थे ।

श्यामका बाबु ताराप्रसादको कपडा पसल थियो । उनले पनि व्यापारलाई साथ दिएका थिए । २०३५ साल कात्तिकको कुरा हो । उनी व्यपार संघकै तर्फबाट नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय साधारणसभामा भाग लिन स्याङजाको नाउडाँडासम्म हिँडेर काठमाडांै गएका थिए । काठमाडांैमा तत्कालीन राष्ट्रिय अध्यक्ष वीरेन्द्र श्रेष्ठले भेटे । उनले श्यामलाई जेसीज खोलेर तत्कालै अन्तर्राष्ट्रिय सम्मेलनमा फिलिपिन्सको मनिला जान पाउने अफर सुनाए ।

बागलुङमा व्यापार संघ र रेडक्रसबाहेक युवाहरुको क्षेत्रमा काम गर्ने कुनै संस्था थिएन । त्यसैले श्यामले पनि युवालाई नेतृत्वमा लैजान सकिने आशले तत्कालै फर्केर जेसीज गठन गरेका थिए । उनको यो प्रयासलाई उनका अगुवा देवेन्द्र अधिकारी र बालकृष्ण नेवाले साथ दिएका थिए । १८ वर्षदेखि ४० वर्षको उमेर समूहका युवाहरुको संलग्नतामा ‘एक वर्ष, एक व्यक्ति अनि एक पद’ भन्ने मान्यताले जेसीज संचालन हुने गरेको छ । जेसीज गठन हुनासाथ केन्द्रीय समितिबाट आएका प्रशिक्षकले नेतृत्व र क्षमता बिकासका तालिम संचालन गराए । युवाहरुमा जोश र जाँगर देखियो ।

उनले फिलिपिन्समा गएर कार्यक्रम उद्घाटन गर्न आएका राष्ट्रपति मार्कोससँग हात मिलाएर बोल्ने अवसर पाए । जेसीजको अन्तर्राष्ट्रिय अध्यक्ष कार्ल पिटरसनलाई नेपालमै बनेको ढाका टोपी लगाइदिए । उनको यो कामलाई अन्तर्राष्ट्रिय मंचमा पनि धेरैले चासोको विषय बनाए । उक्त घटनाबाट उनले जेसीज आस्थाको अर्को वाक्य ‘बन्धुत्वको भावना राष्ट्रहरुको प्रभुसत्तादेखि सर्वोपरी छ’ भन्ने भावना बुझ्न पाएको बताए ।

काठमाडौंमा भएको जेसीजको ५ औं राष्ट्रिय सम्मेलन, वीरगंजमा भएको छैठाैं,  धनकुटामा भएको सातौं र विराटनगरमा भएको आठौं सम्मेलनमा चार दिनसम्म लगाएर पुगेको श्रेष्ठ सम्झन्छन् । हरेक सम्मेलनमा पुग्दा उनले राष्ट्रिय अध्यक्षहरुलाई केही न केही उपहार लगिदिन्थे । बागलुङमै बनाइने बुट्टेनली उनको उपहारमा छुट्थेन । धनकुटाको सम्मेलन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा पुगेका सबै सहभागीलाई पूर्वेलीले सुन्तला, जुनारलगायतका फलफूल दिएर स्वागत गरेको देखेपछि श्यामले सम्मेलनका अतिथिलाई जिल्लामा बनेका केही न केही उपहार लैजाने व्यवस्था मिलाए । आफ्नो कार्यक्रममा आउने हरेक अतिथिलाई पनि मायाको चिनो दिएर पठाउने चलन बसालेको स्थानीय कृष्ण शंकर श्रेष्ठ बताउँछन् ।

अहिले त चार्टर प्रेसिडेन्टको रुपमा उनलाई दिएका मायाको चिनो, प्रमाणपत्र र अन्य उपहारले घरै भरिएको छ । ‘मैले हरेकपटक पाएका उपहार सजाएर राख्ने गरेको छु, । ति उपहारको मिति समेत उल्लेख छन्,’ उनले भने, ‘कुन समयमा कुन संस्थामा आबद्ध भएँ भन्ने पनि लिखित बनाएर राखेको छु ।’ उनले ऐतिहासिक दस्ताबेजहरु सुरक्षित बनाएको बताए ।

उनी २०४२ सालमा बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष भए । उनकै पालामा संघको घडेरी किनेर घर बनाउने काम सुरु भयो । त्यसअघि उनी नेपाउ उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत भएर काम गरे । विद्यामन्दिर माविमा ९ वर्ष बिज्ञान पढाए । उनैले पहिलोपटक तत्कालिन धौलागिरि अञ्चलमा खेलकुद विकास समिति गठन गराए । ‘१४ अञ्चलमध्ये १२ अञ्चलमा मात्रै खेलकुद समिति थिए, धौलागिरि र कर्णालीमा थिएन,’ उनले भने, ‘राखेप अध्यक्ष शरदचन्द्र शाहलाई आग्रह गरेर २०३७ सालमा जिल्ला खेलकुद विकास समिति गठन गराएँ ।’अञ्चलाधीश अध्यक्ष रहने गरी आफै उपाध्यक्ष बसेर बनाएको समितिमा पछि अध्यक्ष पनि भए । खेलका बस्तुगत संघ बनाउन पनि उनले चासो राखे । बक्सीङ संघ, फुटबल संघ, खेल सांस्कृतिक संघजस्ता समिति पनि गठन भए ।

श्रेष्ठले दर्जन बढी स्थानमा विभिन्न कोष स्थापना गराएका छन् । बागलुङ उद्योग बाणिज्य संघमा पूर्णतारा अवार्ड स्थापना गरेका छन् । उत्कृष्ठ युवा उद्यमीलाई उक्त अवार्ड दिइन्छ । त्यस्तै उद्योगपति र व्यवसायीलाई तारा मेमोरियल अवार्ड दिइन्छ । बाबु ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा ती अवार्ड राखिएको हो । त्यसबाहेक विद्यामन्दिर पुस्तकालयमा ‘शिसिर हेमन्त बालप्रतिभा स्मृति कोष’ स्थापना गरेका छन् । सानै उमेरमा उनले दुवै छोरा गुमाएका थिए । त्यसकै स्मृतिमा १ लाख ११ हजार रुपैयाँको उक्त कोष स्थापना भएपछि पुस्तकालयले बालप्रतिभा पुरस्कार दिंदै आएको अध्यक्ष राम थापा अबिरलले बताए ।

१९९७ सालमा स्थापना भएको विद्यामन्दिर माविको आधुनिक भवन निर्माणकालागि आयोजित महायज्ञ र भवन निर्माण समितिमा बरिष्ठ उपाध्यक्ष भएर काम गरे । बिद्यालय बनाउन उनले ५० हजार नगद सहयोग गरे । धौलागिरि अस्पताल सुधार समितिमा बसेर पनि काम गरे । त्यसबाहेक राधाकृष्ण मन्दिरमा ४ वेद, १८ पुराणसहितको पुस्तकालय कक्ष पनि निर्माण गरिदिएका छन् । मन्दिरमै पनि बाबुआमाको स्मृतिमा १ लाख २५ हजार राशीको पूर्णतारा स्मृति कोष स्थापना गरिदिएका छन् । कोषबाट मन्दिर व्यवस्थापनमा सहयोग मिलेको अध्यक्ष रमेश राजभण्डारीले बताए । त्यस बाहेक नेवारहरुको संस्था ‘ओझान्थाक्षें साहुखलाः परिवार’को पनि उनी अध्यक्ष छन् । जहाँ १० लाखको मुद्दतिकोष बनाएका छन् । त्यो कोषले संस्कृति संरक्षणको काम गर्छ ।

विद्यालय तहमा उनी निकै तेजी विद्यार्थीमा गनिन्थे । बागलुङमा एसएलसी दिने व्यवस्था थिएन । त्यसैले उनी दरबार हाइस्कूल पुगेर परीक्षा दिए । अब्बल पढाइले उनी प्रथम श्रेणीमा उत्तीर्ण भए । अमृत साइन्स क्याम्पसमा उनले आइएससी पढे । डाक्टर पढ्ने इच्छाले उनले एमबीबीएस परीक्षाको तयारी गर्र्दै थिए, आमाको निधन भयो । पढाइ नै छाडेर गाउँ फर्कनु प¥यो । पहिलो वर्ष उनको इच्छा पूरा हुन पाएन । अर्को वर्ष फेरि तयारी गर्दै थिए, दाइको मानसिक रोगको समस्या आइलाग्यो । उपचारकालागि विभिन्न स्थानमा लैजाने क्रममा उनले फेरि पनि पढ्न पाएनन् । त्यसपछि भने उनले त्रिचन्द्र कलेजमा बिएससी पढे ।

डाक्टर बन्ने सपना पूरा नभएपछि उनी समाजसेवामा होमिएका हुन् । उनको सामाजिक भावनाबाट धेरै मानिस प्रभावित छन् । ‘हामीलाई नेतृत्वमा आउने वातावरण उहाँकै प्रेरणाबाटै मिलेको हो,’ बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने । बागलुङ जेसीजका हालका अध्यक्ष गणेश महतोले त श्याम श्रेष्ठलाई गुरु मान्ने गरेका छन् । हरेक काम गर्दा चार्टर प्रेसिडेन्टलाई सोधेर मात्र गर्ने बानी छ । ‘केही बोल्न नजानेका युवालाई तालिम र अवसर दिँदा बोल्ने मात्र हैन, नेतृत्व संहाल्न सक्ने भएका छन्,’ महतो भन्छन्, ‘आफ्नो घर परिवार छाडेर युवाकालागि समय दिने व्यक्ति भेटिंदैन, उहाँबाट ४७ वर्षदेखि यो सहयोग मिलिरहेको छ ।’ उनको निरन्तरता र सक्रियता देखेर धेरैले प्रसंसा पनि गर्छन् । ‘यो उमेरमा पनि सक्रियता र युवाको साथमा लोकप्रिय बन्ने काम सजिलो छैन,’ स्थानीय काजी रोशन भन्छन्, ‘सबै उमेर समूहको उत्प्रेरणाको श्रोत बन्न सक्नुभएको छ ।’ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पनि श्रेष्ठको सक्रियता लोभलाग्दो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->