बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको लेकसिटी कलेजमा ’कार्निभल’ को भव्य तयारीः मंसिर २६ मा हुँदै

पोखराको लेकसिटी कलेजमा ’कार्निभल’ को भव्य तयारीः मंसिर २६ मा हुँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८२, सोमबार

पोखरा/  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल आयोजना गर्ने भएको छ । पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ ।

कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्, जहाँ मह, अचार, सातु, हस्तकला, सजावट सामग्री, कपडाका झोला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ ।

त्यसैगरी, खानाका परिकारहरू—सेलरोटी, मम, चाउमिन, चटपट, पानीपुरी, अचार लगायतका लोकप्रिय व्यञ्जनहरू विद्यार्थी स्वयंसेवकहरूले नै सञ्चालन गर्नेछन् । कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा पूर्वविद्यार्थीहरू स्टल व्यवस्थापनमा सक्रिय रहने क्याम्पस प्रमुख श्रेष्ठले बताए । कार्यक्रमलाई अझ मनोरञ्जक बनाउन कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, लाखेनाच लगायतका आकर्षक प्रस्तुतिहरू राख्ने तयारी अघि बढाइएको ईसीए संयोजक अमोद प्रसाद कोइरालाले बताएका छन् । उनका अनुसार, विद्यार्थीहरूको कला, सिर्जनशीलता र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्निभल कलेजको महत्त्वपूर्ण वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ ।

साँझ हुने लाइभ कन्सर्टमा ख्यातिप्राप्त स्थानीय ब्यान्डहरूको प्रस्तुति रहनेछ । साथै, विभिन्न व्यक्तिहरू, संस्थाहरू र कलेजका साझेदारहरूले कार्निभललाई प्रायोजन तथा सहयोग गर्ने कलेज प्रशासनले जनाएको छ ।कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार, कलेजले हरेक वर्ष शैक्षिक भ्रमण, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, वर्कशप तथा सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक कचहरी कार्यक्रम पनि कलेजकै मौलिक पहिचान बनेको छ ।

वि.सं. २०६४ मा स्थापना भएको त्रिविबाट सम्बन्धनप्राप्त लेकसिटी कलेजले विविएस, विएएसडब्लु (समाजसेवा), र विए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । वार्षिक सय विद्यार्थी भर्ना क्षमता रहेको कलेजमा हाल ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । शैक्षिक उत्कृष्टता र खेलकुदमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएकोमा कलेज प्रशासन गौरवान्वित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->