बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कन्या क्याम्पसको ३४ औं वार्षिकोत्सव

कन्या क्याम्पसको ३४ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा/पोखरा ३ नदीपुरमा रहेको गण्डकी प्रदेशको एक मात्र कन्याका लागि पढाइ हुने क्याम्पस कन्या क्याम्पस ३५ औं वर्षमा प्रवेश गरेको छ ।

सोमबार आयोजित ३४ औं वार्षिकोत्सव कार्यक्रम शैक्षिक उन्नयनका लागि चिन्तन, विभिन्न पुरस्कार तथा छात्रबृत्ति वितरण, वार्षिक प्रतिवेदन प्रस्तुति, आगामी कार्ययोजना र कन्याहरुको सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिए ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुलाई व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लले स्वागत गर्दै सरकार, समुदाय र अभिभावकले छोरीहरुको शिक्षाका लागि विशेष चासो दिनुपर्ने बताए ।

उनले देशलाई चाहिने जनशक्ति बाहिरिनु उचित नभएकोले उनीहरुलाई यहीँ बस्ने वातावरण बनाउन अति आवश्यक भइसकेको बताए ।कन्या क्याम्पसले छोरीहरुको उच्च शिक्षा र उनीहरुलाई यहीं बसेर काम गर्नका लागि सेतुको काम गरिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘यसपालि हामीले मन्टेसरी तालिमको आयोजना गर्यौं । जो फलदायी पनि भयो । अहिले तालिम लिएका ११ जनाले राम्रो सुविधासहित काम गरिरहेका छन् । टियुसँग बीबीएको पढाइ संचालनका लागि पहल भइरहेको र छिट्टै अष्ट्रेलियाको एक कलेजसँग शैक्षिक आदान प्रदानका लागि सम्झौता पनि गर्दैछौँ ।’

क्याम्पस प्रमुख सुरेश मानन्धरले आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन पेश गर्दै ३४ वर्ष अगाडी स्थापना भएको कलेज निरन्तर छोरीहरुको शिक्षाका लागि लागिपरेको प्रदेशको एक मात्र क्याम्पस भएकोले सरकार,समुदाय र अभिभावकबाट सकारात्मक हातेमालो आवश्यक भएको बताए ।

विश्व विद्यालय अनुदान आयोगबाट २०७८ सालमा क्युएए प्राप्त गरेको कलेजको सो प्रक्रिया नवीकरणको लागि कार्य गर्नुपर्ने, आयोगबाट यसपटक ५४ लाख बढी अनु्दान प्राप्त भएको उनले जानकारी दिए । छात्रबृत्ति कोषका लागि १ करोड जम्मा भइसकेको र यसवर्ष ५ लाख जम्मा भएको उनले जानकारी दिए ।

क्याम्पसबाट सप्ताहव्यापी खेलकुदका कार्यक्रम, हाजिरिजवाफ,निबन्ध लेखन प्रतियोगिता, छात्रा भलिवलमा सहभागिता, प्रजनन् स्वास्थ्यका बारेमा अभिमुखीकरण, रक्तदान कार्यक्रम लगायतका कार्य गरिएको मानन्धरले बताए । उनले गत आर्थिक वर्ष कुल चार करोड ९९ लाखको वासलात रहेकोमा २ करोड ७१ लख खर्च भएको बताए । साथै उनले यसवर्ष ४ लाख बढी आम्दानी भएको बताए ।

आगामी वर्षमा गर्ने कार्यहरुको जानकारी गराउँदै उनले प्राविधिक शिक्षामा जोड दिए ।

कार्यक्रममा प्रमसख अतिथि गुरुङले कक्षा १२ की सुप्रिया गुरुङ, रोज बराल, आरती राई,रिकी गुरुङ, जुना गुरुङ र स्मिता सापकोटालाई सम्मान गरे । साथै २० सेवा गरेका क्याम्पस प्रमुख सुरेश मानन्धर र उपप्राध्ध्यापक दुर्गाराज रेग्मीलाई सम्मान गरेका थिए । ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख चित्र श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->