मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखामा हेडसरलाई हेलिकप्टर चढाएर गरियो बिदाइ

गोरखामा हेडसरलाई हेलिकप्टर चढाएर गरियो बिदाइ

‘मैले कहिल्यै यो सम्मान पाउछु भनेर काम गरेको थिइनँ, आफ्नो कर्तव्य पुरा गरेको थिएँ’, जाँदाजाँदै भने, ‘मलाई गाउँलेहरुले यति माया गर्नु हुँदोरहेछ, आज थाहा पाएँ, यो सम्मान म सधैँ सम्हालेर राख्नेछु ।’


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८२, बुधबार

पोखरा / गोरखाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गरिएको सम्मानले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३८ वर्ष निरन्तर सेवारत रहेर निवृत्त भएका शिक्षक ईन्द्र उपरकोटीलाई हेलिकप्टर चार्टर गरी बिदाइ गरिएपछि चौतर्फी चर्चा भएको हो ।

सामान्यतया शिक्षकहरूलाई सेवापछि फूलमाला र गाजाबाजासहित बिदाइ गर्ने गरिन्छ । तर, धार्चे गाउँपालिका-२ रुञ्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३८ वर्ष पढाएका उपरकोटीलाई शिक्षक, विद्यार्थी र अभिभावकले पैसा उठाएर भव्य बिदाइसहित हेलिकप्टर चढाएर बिदा गरे  ।

उपरकोटीले ०४५ फागुन १९ गतेदेखि उक्त विद्यालयमा अध्यापन शुरु गरेका थिए । त्यतिबेला प्राथमिक तहको मात्रै पठनपाठन हुने उक्त विद्यालय उपरकोटीकै नेतृत्वमा माध्यामिक बनाइएको स्थानीय बताउँछन् ।

उपरकोटी नेतृत्व क्षमता तथा विद्यार्थी र अभिभावकसँगको सामिप्यताले गाउँमा लोकप्रिय बनेका हुन् । उनको मृदुभाषी बोलि र सरल व्यवहारबाट स्थानीय सधैँ नतमस्तक बनेका थिए ।

उपरकोटीको बिदाइमा स्थानीय जनता भावुक त बने नै, उनको लागि हेलिकोप्टरसमेत बुक गरिएको थियो । विद्यालयका विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र अभिभावकले उपरकोटीलाई विभिन्न कोशेलीसहित हेलिकोप्टरमा चढाएर काठमाडौँ पठाएका थिए ।

चितवन घर भएका उपरकोटीको लागि स्थानीयले काठमाडौँदेखि भरतपुरसम्मको हवाइ टिकटसमेत काटिदिएका थिए । यसप्रकारको सम्मानपछि कार्यक्रममा शिक्षक उपरकोटी पनि भावुक बने ।

‘मैले कहिल्यै यो सम्मान पाउछु भनेर काम गरेको थिइनँ, आफ्नो कर्तव्य पुरा गरेको थिएँ’, जाँदाजाँदै भने, ‘मलाई गाउँलेहरुले यति माया गर्नु हुँदोरहेछ, आज थाहा पाएँ, यो सम्मान म सधैँ सम्हालेर राख्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->