बागलुङ/सदरमुकाम बागलुङ बजारको बाङेचौर खेलमैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै समन्वय प्रमुख थापाले कठिनाईबीच खेलाडिले भविष्य खोज्नुपर्ने बाध्यता रहेको तितो यथार्थ व्यक्त गरे । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मोसफलका खेलाडि प्रतिभा पहिचान गर्न फलदायी भएपनि आर्थिक तथा व्यवस्थापकिय चुनौतीले प्रतियोगिता सञ्चालन गर्न नै समस्याको थापाले बाध्यता बताए ।
थापाको भनाई जिल्लाका दुई पालिका ताराखोला र तमानखोला प्रतियोगितामा सहगिता नजनाएकोप्रति लक्षित थियो । राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिँदै थापाले प्रतिभा पहिचान, बालबालिकाको भविष्य निर्धारण गर्ने र अन्तराष्ट्रिय क्षेत्रमा देशको पहिचान गराउने खेलकुद क्षेत्रलाई विश्वस्तरीय बनाउन राज्यले मनन् गर्नुपर्ने बताए ।
शनिबारसम्म चल्ने प्रतियोगितामा १ सय ४८ पदकका लागि जिल्लाका आठ पालिकाका ८ सयभन्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी, मार्शल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले जानकारी दिए ।
प्रतियोगितामा बागलुङ, गलकोट, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला, बरेङ, निसीखोला र बडिगाड गाउँपालिकाले सहभागिता जनाउने छन् । तमानखोला र ताराखोला गाउँपालिकाले भने आर्थिक अभाव देखाउँदै प्रतियोगिता सहभागिता जनाउन असमर्थ रहेको सूचना प्राप्त भएको खेलकुदका अध्यक्ष कँडेलले बताए ।
मोसफलको खेलकुद कुम्भका रुपमा लिइने राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन उत्कृष्ट र अनुशासित मार्चपास गर्ने टिमलाई नगद १८ हजार रुपियाँ, ट्रफी र प्रमाण–पत्रद्वारा पुरस्कृत गर्ने कार्यक्रम रहेको खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालले बताए ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, गण्डकी प्रदेश खेलकुद परिषदकी सदस्य तथा बागलुङ जिल्ला संयोजक कन्चन थापा कोइरालालगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्षता तथा स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले गरेका थिए भने सञ्चालन खेलकुदका सचिव किशोर थापाले गरेका थिए ।





