हाम्रो जीवनमा स–साना घटनाले पनि अथाह खुसी दिन सक्छन् । जीवन सुखदुःखको सङ्गम हो । जीवनमा कहिले सुख र कहिले दुःखको अनुभूति महशुस हुनु स्वाभाविक हो । हरेक मानिसको जीवनमा विभिन्न किसिमका घटना घट्ने र ती घटनामध्ये कतिपय घटनाले गहिरो दुःखको अनुभव गराउँछन् भने कतिपय घटनाले परम् सुखको अनुभूति दिलाउँछन् । यहाँ एकल महिलाको रूपमा निस्सार जीवन व्यतीत गरिरहेकी याङ्जीलाई उनको प्रेमीले तिमीलाई हरियो कुर्ता र टीका सुहाउँछ भनेकोमा उनले असीम आनन्द महशुस गरेकिर्छिन् । उनलाई केही राहत र शान्ति मिलेको अनुभूति भएको छ । उनले भारी मन केही हलुका भएको महशुस गर्छिन् । यसर्थ वैयक्तिक अनुभूति व्यक्त गर्दै जीवनमा घट्ने कतिपय ससाना घटनाले पनि अथाह खुसी र सुख दिन सक्छन् ।
प्रगतिशील विचार धारामा आधारित सुप्रसिद्ध कथा हो ‘आयाम’, नेपाली समाजमा नारीले भोग्नु परेका यथार्थ समस्याको चित्रण कथामा छ । आधुनिक नेपाली साहित्यकी प्रगतिवादी कथाकार बिना थिङ (वि.सं. २०३७) द्वारा लिखित यस कथामा पितृसत्तात्मक सोचले जकडिएको नेपाली समाजको चित्रण पाइन्छ । नेपाली समाजमा विधुवाले विवाह गर्न नहुने र मृत पतिको नाममा वैधव्य रहनु पर्ने मान्यताको सशक्त विरोध कथामा गरिएको छ । विदुर श्रीमानले तत्कालै विवाह गर्न हुने तर विधुवा महिलाले जीवन भर वैधव्य बस्नु पर्ने कारणको विरोध गर्दै विधुवा विवाहलाई प्रोत्साहन गर्नुपर्ने प्रगतिशील चिन्तन यहाँ उदृत छ ।
नारीवादी विचारधारालाई अङ्गालेको यस कथामा पुरुषवादी सोचले महिलाहरूको संवेदना र अधीनस्थताको जगमा प्रहार गरेको, महिलाहरू रुढीवादी परम्पराको दलदलमा धकेलिएको जस्ता विषय समेटिएका छन् । नेपाल जस्तो पितृसत्तात्मक सोचले जरा गाडेको देशमा यो विकृत सोचलाई निर्मूल पार्न महिलाका अधिकार र समावेशिता मात्र नभएर पुरुषको सोच र व्यवहारमा परिवर्तन आवश्यकता छ ।
लैङ्गिक हिंसाविरुद्ध यावत् अभियान चले पनि महिला सशक्तीकरणका उद्देश्यहरू मार्फत पितृसत्ता विरुद्ध आवाज उठाउने प्रयास भने कमजोर देखिन्छन् ।
कथामा ‘म’ पात्र, आमा र शान्तमायाले श्रीमानको निधन पश्चात् भोग्नु परेको निरस, एक्लो, असुरक्षित र दुःखमय जीवनको कारुणिक र मार्मिक पक्षलाई उजागर गरिएको छ । नेपाली समाजमा रहेको परम्परागत मूल्यमान्यता र अन्धविश्वासबाट माथि उठेर विधुवा विवाहलाई मान्यता दिनुपर्ने, विधुवा नारीका वेदना, छट्पटी र समस्यालाई मनन गर्नुपर्ने र उनीहरूको बाँकी जीवनको निर्णय गर्ने स्वतन्त्रता उनीहरुलाई दिनुपर्ने धारणा कथामा छ ।

याङ्जी र शान्तमाया मुखपात्र रहेको यो कथा पतिको मृत्युुपछि एकल जीवन बिताउन विवश नारीहरूको प्रतिनिधि कथा हो । याङ्जी र शान्तमाया दुवै छोटो समयमै विधुवा भएका नारी हुन् । याङ्जीले पतिको अभावमा जीवनको अर्थ र उद्देश्य समाप्त भएको ठान्छिन् । भने शान्तमायाले पति वियोगमा एकल महिलाले भोग्नु पर्ने पीडा, मर्म र वेदना भोगेकी छिन् । आर्थिक अभावले ज्याला मजदुरी गर्नुपर्ने, घामपानी भन्न नपाउने, ठेकेदारको कुदृष्टिबाट बच्नु पर्ने कष्टकर भोगाइ उनको रहेको छ । याङ्जी आमाको प्रेरणाबाट जागिर र सुरजको प्रेमले जीवनशैली नै परिवर्तन गर्ने चरित्र हुन् । उनी सासुको उत्प्रेरणा र स्वीकृतिमा परम्परागत मूल्यमान्यताबाट विद्रोह गर्दै दोस्रो विवाह गरी जीवनलाई रसिलो लयमा फर्काउन सफल हुन्छिन् । नेपाली समाजमा एकल महिलालाई घरभित्र र बाहिर सुरक्षित रहन सङ्घर्ष गर्नुपर्ने यथार्थ कथामा प्रस्तुत छ । शान्तमाया र याङ्जीको पारिवारिक, आर्थिक एवं शैक्षिक अवस्था फरक भए पनि एकल महिलाका रूपमा जीवनका भोगाइ र सङ्घर्ष समान रहेका छन् ।
याङ्जी सासूको प्रेरणाले रोजगार बनेकी छिन् । आफ्नो कार्यालय प्रमुख सुरजसँग प्रेम सम्बन्धमा रहेकी उनले आमासँग आफ्नो प्रेम सम्बन्धको खुलासा गरी उनैसङ्ग विवाह गर्न चाहेको बताउनुले उनी साहसी र प्रगतिशील पात्रका रूपमा रहेकी छन् । यता ज्याला मजदुरी गर्दा जीवन र अस्मिता असुरक्षित भएकाले घरेलु कामदार बन्ने चाहना राखेकी शान्तमायाले दोस्रो विवाह गरी आफ्नो जीवनलाई माया र प्रेमले रङ्गाउछिन् ।
सहरिया परिवेशमा रचित यस कथामा नेपाली समाजमा ज्यालामजदुरी गरेर खाने एकल महिलाहरूको अस्मिता सुरक्षित नरहेको, महिलाहरूलाई हेर्ने दृष्टिकोण र परम्परागत सोच कायम रहेको, एकल महिलाहरूको जीवन वेदना, छटपटावट, पीडा र मर्मकाबिच गुज्रिएको विषय प्रस्तुत छ । डाक्टर दम्पती एक्लिएको परिवेशबाट नेपाली युवायुवतीहरु विभिन्न वहानामा विदेशिने गरेको कारण हरेक घर युवाविहीन हुँदै गएको, जीवनको उकालो लाग्दै गरेका बुढाबुढी सहाराविहीन हुनु परेको यथार्थता स्पष्ट हुन्छ, भने घरेलु कामदार राख्ने तथा जन्मदिन मनाउन डिनरका लागि रेस्टुराँ जाने नवसंँस्कृति पनि यहाँ वर्णित छ । कथामा नेपाली समाजमा रहेको आदर्श तथा अनुकरणीय पारिवारिक सम्बन्धलाई विषयवस्तुका रूपमा उठाइएको छ । नेपाली समाजमा सासू र बुहारीबिच हुने कटुतापूर्ण सम्बन्धको विरोध गर्दै हार्दिकतापूर्ण जीवन ज्युनुपर्ने सन्देश दिइएको छ । कथामा आमा र याङ्जीबिचको आत्मीय र सुमधुर सम्बन्धले नेपाली समाजमा नयाँ आयाम थप्नुका साथै सामाजिक सोचाइ र व्यवहारमा सुधार आउनु पर्ने भाव व्यक्त छ ।
वर्षौदेखि एकल जीवनको पीडा भोगेकी आमाले छोराको निधनपछि बुहारीको एक्लोपनलाई बुझेर उनको जीवनलाई गतिशील र सार्थक बनाउन प्रेरणा प्रदान गरी आदर्श सासूको दृष्टान्त बनेकी छिन् । पति वियोगमा दुखी बनेकी बुहारीलाई बाह्य जीवनमा सक्रिय हुन प्रेरित गर्ने आमाले बुहारीको जीवनमा आमूल परिवर्तन चाहेकी छन् । फलस्वरूप याङ्जीको जीवनशैलीमा परिवर्तन आउँछ । उनले याङ्जीको प्रेम सम्बन्ध र विवाह गरेर घरजम गर्ने मनस्थितिलाई सहजै अनुमोदन गर्छिन् । विवाहपश्चात एउटै घरमा बस्नुपर्ने सर्त राखेर आफूहरुको सम्बन्ध सासू र बुहारीभन्दा माथि उठेर आदर्श आमाछोरीको उचाइमा रहेको पुष्टि गर्छिन् । यसरी वैधव्यता धारण गरी वेदनामय जीवन बिताइरहेका महिलाहरूको जीवन सुखद र सार्थक बनाउन अभिभावकको बलियो साथ र सहयोग चाहिन्छ । यसर्थ हरेक घरमा सासू बुहारीबिच याङ्जी र आमाको जस्तै आदर्श सम्बन्ध हुनुपर्छ । हरेक अभिभावकको सकारात्मक सहयोगबाट सन्तानको जीवनमा परिवर्तन आउन सक्छ । सासूहरूले पनि आमाको भूमिका निर्वाह गर्न सक्नु पर्ने र बुहारीलाई छोरीको स्थानमा राखी आत्मनिर्भर र सक्षम बन्न प्रेरित गर्नुपर्ने भाव सहित विधुवा विवाहलाई सामाजिक र सांँस्कृतिक मान्यता प्रदान गरिनु पर्ने सन्देश कथामा छ ।
यसर्थ यस कथालाई नारी समस्यामा आधारित उत्कृष्ट सामाजिक कथा मान्न सकिन्छ । कथामा नेपाली समाजमा रहेका एकल महिलाका कारुणिक र मार्मिक भोगाइलाई विषयवस्तु बनाइएको छ । विधुवा विवाहको पक्षमा वकालत गरेकै कारण कथा प्रगतिशील विचारधारा नजिक छ ।
नेपाली समाजमा अशिक्षा र अन्धविश्वासका उपजमा एकल महिलाको जीवन र दिनचर्याको चियोचर्चो गर्ने, उनीहरुको जीवनशैलीलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने, उपेक्षित र तिरस्कृत भावले हेर्दै असामाजिक व्यवहार गर्ने, पतिको मृत्युको कारक मान्ने कुसंस्कारका विरुद्धमा याङ्जीकी सासू आमाले बुहारीलाई घरबाट बाहिर निस्कन, जीवनको लय बदल्न, रोजगारीका लाग्न प्रेरित मात्र गरिनन् । उनको प्रेम सम्बन्धलाई स्वीकार गरि उदार दृष्टिकोण प्रकट गरिन् । जुन पक्षका आधारमा कथाकारले प्रगतिवादी दृष्टिकोण प्रस्तुत गर्दै समाज सुधारको सन्देश दिएको बुझिन्छ ।
नेपाली समाजलाई रुढीबादी परम्पराबाट बाहिर ल्याउन लेखकले लिएको विचार निकै सान्दर्भिक छ । आमाको बलियो साथ सहयोग र उत्प्रेरणाले याङ्जीको जीवन बदलियो, याङ्जीको सहयोगले शान्तमायाको जीवन बदलियो । हामीले एकल महिलाको आत्मसम्मानमा चोट पु¥याउने र तिरस्कारले हेर्न नहुने तथा उनीहरूलाई अवसर प्रदान गर्नु पर्ने, आत्मविश्वास जागृत गराउनु पर्ने, उनीहरूको जीवनलाई प्रेमपूर्ण लयमा फर्काइ सार्थक बनाउन सहयोग गर्नु पर्ने यस कथाको मुल ध्येय हो । मानिसले समयानुकूल सामाजिक व्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्छ । हाम्रा सामाजिक मूल्य मान्यताले हाम्रो जीवनलाई उपेक्षित, अपमानित र असुरक्षित बनाउँछन् भने त्यस्ता व्यवहारलाई क्रमशः परिस्कृत गर्दै लैजानु पर्छ ।
यसरी यो कथा हिन्दु नारीहरुको वैधव्य कारक समस्यामा आधारित प्रगतिवादी सामाजिक कथा हो । कथामा नेपाली समाजमा निहित सासूबुहारीको कटुतापूर्ण र दमनात्मक सम्बन्धबाट माथि उठेर उक्त सम्बन्धलाई आमाछोरीको जस्तो आदर्श सम्बन्ध देखाइ सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने सन्देश दिइएको छ । हाम्रा सामाजिक मूल्यमान्यता र परम्पराका नाममा जीवनलाई निरस, निरुद्देश्य र निष्क्रिय बनाउन नहुने सन्देश कथामा उदृत छ । कथाकारले याङ्जी र आमाको समधुर, मर्यादित र परिपुरकमय सम्बन्धबाट आजका सासुबुहारीको सम्बन्ध आमाछोरी जस्तै हुनु पर्ने, हरेक घरमा बुहारीको उपस्थिति छोरीको जस्तै सम्मानजनक हुनुपर्ने बताइएको छ । कथाकारले आमाको उत्प्रेरणाबाट पति वियोगको वेदना र कुण्ठामा रुमल्लिई निरस र एक्लो जीवन बिताइरहेकी याङ्जीलाई बाह्य जगतमा लाग्न प्रेरित गरे जस्तै एकल महिलाहरूलाई व्यक्तित्व विकासको अवसर प्रदान गर्नुपर्ने, उदार दृष्टिकोण राख्नु पर्ने सन्देश दिइएको छ । समयानुकूल हाम्रा मूल्यमान्यता र सामाजिक व्यवहारमा परिवर्तन जरुरी हुन्छ । विधुवा नारीलाई कुण्ठा र वेदनामय जीवनबाट माथि उठाउन र समग्र नारी जातिको सम्मानका खातिर विधुवा विवाहले कानुनी तथा सामाजिक मान्यता प्राप्त गर्नुपर्छ । हरेक व्यक्ति आफ्नो काम, जिम्मेवारी र कर्तव्यप्रति इमान्दार हुनुपर्छ । विशेष गरी नारी समस्या समाधान र नारी हक अधिकारको रक्षार्थ नारी जाति स्वयंको दृष्टिकोण उदार हुनुपर्छ । हरेक अभिभावकले आफ्ना सन्तानको सुख र खुसीको लागि मार्गदर्शक र उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश कथामा व्यक्त छ ।
नोट ः यो लेख कक्षा १० को पाठ्यक्रममा आधारित भएकाले एसईईमा सम्मीलित हुने विद्यार्थीहरुलाई विशेष उपयोगी हुनेछ ।




