पोखरा/ पोखरामा क्रियाशील सामूदायिक विद्यालयका शिक्षक सम्बद्ध महासंघ सहित संघ संगठनले महानगर क्षेत्रभित्रका सामूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउने सम्बन्धमा आन्तरिक बहस सुरु गरेका छन् ।
राज्यको महत्वपूर्ण लगानी भैरहेको सामूदायिक विद्यालयमा घट्दै गएको विद्यार्थी संख्याका साथै यसतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षक सम्बद्ध संघ संगठनबाट खेल्न सकिने भूमिका लगायतका विषयमा बहस थालिएको हो । एक अर्कालाई दोषारोपण गर्नु भन्दा पनि सबैको सामूहिक प्रयासबाट यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विश्वाससहित शिक्षक सम्बद्ध सघ संगठनहरूले यस सम्बन्धमा सामुहिक बहसको थालनी गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टंकप्रसाद सुवेदीले जानकारी दिए । बहसको दायरा बढाउँदै यसका माध्यमबाट सामूदायिक विद्यालयको समग्र विकासका लागि राज्यको नियामक निकायसम्म पुग्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समयमा घट्दो जनसंख्या बृद्धिदरसँगै समाजमा हुँदा खाने र हुने खानेबीचको विभेदको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयहरूमा परिरहेको बताउँदै उनले सरकारको ठूलो लगानी भैरहेका यी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन राज्यको उचित नीति आवश्यक हुने धारणा राखे । सामूदायिक विद्यालयका शिक्षकलाई समयसापेक्ष तालिमका साथै व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा राज्यले जोड दिनुपर्ने उनले बताए । नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष नन्दलाल काफ्लेले सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनका लागि यथासीघ्र दरबन्दी मिलानसँगै प्रधानाध्यापकहरूको उचित व्यवस्थापनतर्फ चासो दिनु अपरिहार्य भएको बताए ।
सामूदायिक विद्यालयको शिक्षालाई प्रभावकारी बनाउन अभिभावक शिक्षाको पनि आवश्यकता रहेको उनको भनाइ छ । नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाका अध्यक्ष किरणबाबु न्यौपानेले कार्यविधि बनाएर प्रधानाध्यापकको व्यवस्थापन गर्नुु जरुरी रहेको बताए । प्रधानाध्यापकलाई अधिकार सम्पन्न बनाउनका साथै बैज्ञानिक दरबन्दी मिलान हुनुपर्नेमा उनको जोड थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष यामनारायण लामिछानेले सबैको सामूहिक प्रयास भएमा सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउँदै विद्यमान समस्याहरू समाधान गर्न सकिने धारणा राखे । सामूदायिक विद्यालयको समग्र विकासका लागि यो वा त्यो रुपमा विभाजित नभै एकतावद्ध भएर अघि बढ्नुु आवश्यक भएकोमा सरोकारावाले जोड दिए ।
नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका सहअध्यक्ष दुर्गाप्रसाद सुवेदी, सचिव गोपिराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नेपाल प्रकाश अधिकारी नेपाल शिक्षक संघका सचिव नवराज आचार्य लगायतले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवाला सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । स्रोत केन्द्रको सञ्चालनसँगै हाम्रा उत्पादित जनशक्तिलाई स्वरोजगारसँगै बजारमा बिक्न सक्ने बनाउनका लागि सार्थक बहससँगै पहलकदमी आवश्यक रहेको उनीहरुको भनाइ छ ।





