आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हेलिकोप्टर सवार कैलीगाई र गण्डकी गोपाल गौशाला

हेलिकोप्टर सवार कैलीगाई र गण्डकी गोपाल गौशाला

महायज्ञ आयोजना गरिएको २०७१ फागुन ७ गते पर्वतको धाइरिङस्थित हम्पालबाट एक गाईको बाच्छीलाई हेलिकोप्टरमा सवार गरेर पञ्चकोटमा ल्याइएको थियो । ती बाच्छी अहिले ११ वर्ष पूरा भएकी छन् । उनलाई अहिले पनि कैली गाईको रुपमा चिनिन्छ ।


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८२, शनिबार

बागलुङ/२०७१ सालमा पहिलोपटक पञ्चकोट निर्माणका लागि महायज्ञ आयोजना गरियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्री, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी नेता पुष्पकमल दाहाल पनि हेलिकोप्टरमा सवार थिए ।

सबै नेतालाई हेलिकोप्टरमै आउने व्यवस्थापन गरिएको थियो । मुक्तिनाथ पीठाधिश्वर कमलनयनाचार्यले यो सबै व्यवस्थापन मिलाएका थिए । नेपालका उच्च व्यावसायिक घरानाका व्यक्तिहरु पनि हेलिकोप्टरमा आएर महायज्ञको दर्शन गरे ।

कतिले लाखौं रकम बोलेर गए । कतिले दिए । कतिले आश्वास दिएपनि अझै प्राप्त भएको छैन । तत्कालीन सरकारले पनि केही रकम दिएपछि पञ्चकोटको हालको अवस्था आउने अवस्था बनेको हो । लक्ष्य २ अर्बको भएपनि अहिलेसम्म एक अर्ब खर्च भैसकेको छ । १ सय ३५ फिट अग्लो विश्वशान्ति कलश बनाउने अभियान भने अझै पूरा भैसकेको छैन । त्यसका लागि धेरै नेताहरु अझै हेलिकोप्टर सवार हुन बाँकी नै छ । गत वर्ष पनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले हेलिकोप्टरबाटै यहाँ आएर भ्रमण गरेर फर्के ।

महायज्ञ आयोजना गरिएको २०७१ फागुन ७ गते पर्वतको धाइरिङस्थित हम्पालबाट एक गाईको बाच्छीलाई हेलिकोप्टरमा सवार गरेर पञ्चकोटमा ल्याइएको थियो । ती बाच्छी अहिले ११ वर्ष पूरा भएकी छन् । उनलाई अहिले पनि कैली गाईको रुपमा चिनिन्छ । ती गाई अहिले बानपा ५ को मालिकास्थित गौशालामा छन् । मालिकाको गौशाला पञ्चकोट जत्तिकै महत्वको छ । पञ्चकोटमा आयोजना गरिने महायज्ञमा यो गौशालामा पनि हवन र पूजन गरिँदै आइएको छ । गत महिना यहाँ लगाइएको चर्तुमास महायज्ञ पनि समापन गरिएको थियो । गौशाला चिनाउने काममा चर्तुमास यज्ञ निकै सफल भयो ।

हेलिकोप्टरमा आएकी गाई पाल्नका लागि निर्मित गौशालामा अहिले ५७ गाई पुगिसकेका छन् । सयौं गाई पाल्ने लक्ष्य गौशालाको छ । धार्मिक रुपमा लक्ष्मीको रुपमा पुजिने स्थानीय गाईको संरक्षणका लागि यहाँ गौशाला बनाइएको स्वामी कमलनयनाचार्यको भनाइ छ । उनका अनुसार, दशौं हजार गाई बनाएर स्थानीय गाईको दूध घिउ सबैले खान पाउने व्यवस्था गर्ने मात्र नभइ हिन्दु धार्मिक महत्व बढाउन गौशालालाई प्रभावकारी बनाउने पनि उनको चाहना छ । वैदिक गाई संरक्षणले उक्त स्थानलाई नै पवित्र बनाउने, गहुँतको उचित प्रयोग गरेर औषधालय संचालन गर्ने,मल व्यवस्थापन गरेर कृषि फसल उत्पादनमा स्थानीयलाई सक्रिय बनाउने लक्ष्य पनि राखिएको छ ।

महायज्ञमा गाईलाई हेलीकोप्टरमा ल्याउने काममात्र गरिएन, २०७२ सालमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र समेत दर्ता गरेर संचालनमा ल्याइएको हो । अहिले उक्त स्थानमा ५७ गाई र १ साँढे पालिएको छ । यो अब सयौं रोपनी जमिनमा गाई पाल्ने लक्ष्य छ । हाल निशुल्क पाइएको ८२ रोपनी जमिनलाई उपयोग गरेर गौशाला बनाइएको हो । यहाँ आयुर्वेद औषधालय बनाउने लक्ष्य पनि राखिएको छ ।

अहिले गौशालामा काम गर्ने कामदार पनि छन् भने स्थानीयले पनि साथ र सहयोग गर्छन् । यहाँ निर्मित सभाहल २ सय जना बसेर कार्यक्रम गर्न मिल्ने प्रकारको छ । उक्त स्थान गर्मी छल्नका लागि जाने स्थानको रुपमा विकास भैसकेको छ । स्थानीय गोविन्दप्रसाद आचार्यका अनुसार गौशाला नै धार्मिक पर्यटकीय स्थल बन्ने संभावना छ । ‘अहिलेसम्म पञ्चकोट घुम्न आउनेहरु बढेका छन्, अब केही समयमै गौशाला पनि पर्यटकीय गन्तव्य बन्ने छ,’ उनले भने, ‘प्राकृतिक उपचार केन्द्रको रुपमा पनि यो स्थानलाई विकास गरिंदैछ ।’

स्वामी कमलनयनाचार्यले त यो स्थान मात्र नभइ देशभर १० लाख स्थानीय प्रजातिका गाई पाल्न सक्ने लक्ष्य राखेको बताउँदै राज्यले उचित जग्गा जमिन दिन सकेमा गाई पालेर नेपालभर शुद्ध दूध घिउ दिएर आत्मनिर्भर बनाउन पहल गर्ने बताए ।

हिन्दु धर्मको रक्षाका लागि बढी संवेदनशिल रहेका उनले हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भएकोमा आक्रोश पनि पोख्ने गर्छन् । उनी विशेषगरी गाई तथा हिन्दु धर्मका मौलिक परम्परा जोगाउने महाअभियानमा सक्रिय बन्ने गरेको दाबी गर्छन् । देशका प्रधानमन्त्रीलाई जस्तै सम्मान गरेर महायज्ञमा गाईको बाच्छीसमेत ल्याएको उनले स्मरण गरेका छन् ।

पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले पनि गाईको महत्व धार्मिक रुपमा मात्र नभइ सामाजिक र कृषिको क्षेत्रमा पनि महत्वको भएको बताए । गाईको दूधमा पाइने पोषण अन्यमा नपाइने,गाईको गोबरमल जस्तो अन्य मल नहुने र गाईको गहुँतले किटनासक औषधिको काम गर्ने बताए । त्यो विषय प्राविधिक रुपमा प्रमाणित भैसकेकोले नागरिकले गाई नपाले पनि शुद्ध गाइको दूध, घिउ र गहुँतको खोजी गर्ने बताउँछन् ।

प्राकृतिक वा परम्परागत रुपमा जसरी गाई पालिन्थ्यो, त्यसैगरी यहाँ अझै पनि गाई पालिन्छ । साथै कृतिम गर्भाधान वा दाना पानी दिइँदैन । बरु हरेक दिन एकपटक मात्र गाई दुहुने र बेलुकी नदुहुने परम्परागत चलनलाई पनि यहाँ स्थापित गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->