मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

भिटामिन ‘डी’ को कमी : सुन्दा सामान्य तर बहु–प्रणालीमा असर पार्ने गम्भीर स्वास्थ्य समस्या

भिटामिन ‘डी’ को कमी : सुन्दा सामान्य तर बहु–प्रणालीमा असर पार्ने गम्भीर स्वास्थ्य समस्या


  • कृष्ण कुमार सैजु
  • पुष १९ २०८२, शनिबार

भिटामिन डीको कमी नेपालमा व्यापक रूपमा फैलिएको तर पर्याप्त रूपमा पहिचान हुन् नसकेको सार्वजनिक स्वास्थ्य समस्या हो । घाम प्रशस्त उपलब्ध हुँदाहुँदै पनि धेरै नेपाली नागरिकहरू दीर्घकालीन हड्डी तथा मांसपेशी दुखाई, थकान, कपाल झर्ने समस्या, मोटोपन, यौन क्षमतामा कमी तथा मानसिक असन्तुलन जस्ता लक्षण लिएर स्वास्थ्य संस्थामा उपस्थित हुने गरेका छन् । तर यी लक्षणहरूलाई अन्य रोगसँग जोडेर बारम्बार परीक्षण गरिँदा पनि भिटामिन डीको कमी जाँच नगरिनुका कारण वास्तविक समस्या पहिचान हुन सकिरहेको छैन । यो सबथोक भइरहँदा मेडिकल अस्पताल धाइरहँदा धेरैजस्तो मान्छेहरुले मलाई यो समस्या भिटामिन डीको कमीले गर्दा हो कि भन्ने महसुसै गर्दैन । उसले सोच्छ कि भिटामिन डीको पनि के कमी होला र ? यही कारणले गर्दाखेरि हामी नेपालीहरू लामो समयसम्म पीडित भइरहेका छौँ ।

परिचय
भिटामिन डीको कमी लामो समयसम्म विकसित हुने, अस्पष्ट लक्षण देखिने र बहु–प्रणालीलाई असर गर्ने अवस्था भएकाले यसलाई प्रायः प्राथमिक रोगको रूपमा पहिचान गरिँदैन । नेपालजस्तो घाम प्रशस्त हुने देशमा पनि भिटामिन डीको कमी उच्च हुनु विरोधाभाष जस्तो देखिए पनि आधुनिक जीवनशैली, खानपान र जनचेतनाको कमीका कारण यो अवस्था मौन रूपमा फैलिरहेको छ ।
क्लिनिकल अभ्यासमा भिटामिन डीको कमीलाई केवल हड्डीसम्बन्धी समस्या भनेर बुझ्ने प्रवृत्ति अझै कायम छ, जबकी यसले मांसपेशी, छाला, यौन स्वास्थ्य, मानसिक स्वास्थ्य र मेटाबोलिक प्रणालीसम्म गहिरो प्रभाव पार्छ ।

भिटामिन डीको जैविक भूमिका
भिटामिन डी फ्याटमा घुल्ने सेको–स्टेरोइड हर्मोन हो । यसको करिब ८०–९० प्रतिशत मात्रा सूर्यको पराबैंगनी किरण छालामा पर्दा शरीरमै उत्पादन हुन्छ भने बाँकी आहारबाट प्राप्त हुन्छ ।

छालामा उत्पादन वा आहारबाट प्राप्त भिटामिन डी
–कलेजोमा 25-hydroxyvitamin D [25(OH)D] मा रूपान्तरण हुन्छ,
–यही रूप रगत परीक्षणका लागि प्रयोग गरिन्छ,
–मिर्गौलामा पुगेर सक्रिय रूप (1,25-dihydroxyvitamin D) मा परिणत हुन्छ,

भिटामिन डी रिसेप्टरहरू निम्न अंगहरूमा पाइन्छन्
–हड्डी र मांसपेशी
–प्रतिरक्षा प्रणाली
–छाला र कपालको जर्रा
–प्रजनन अंग
–मस्तिष्क
यस कारण यसको कमीले सम्पूर्ण शरीर प्रणालीलाई असर गर्छ ।

क्लिनिकल अभिव्यक्तिहरूः हड्डीभन्दा बाहिरका प्रभावहरू
१. हड्डी र मांसपेशी प्रणाली
भिटामिन डीको कमी हुँदाः
–क्याल्सियम अवशोषण घट्छ
–हड्डी खिइने प्रक्रिया बढ्छ
–माध्यमिक हाइपरप्याराथाइराइडिज्म हुन सक्छ

क्लिनिकल रूपमा बिरामीमाः
–ढाड, कम्मर र घुँडा दुखाइ
–मांसपेशी कमजोरी
–सिँढी चढ्न गाह्रो हुने
–बारम्बार लड्ने समस्या देखिन्छ,
जुन प्रायः उमेर वा अर्थराइटिससँग जोडिन्छ ।

२. कपाल झर्ने समस्या
भिटामिन डी कपालको वृद्धि चक्र सन्तुलनमा अत्यावश्यक हुन्छ । कपालको जर्रामा भिटामिन डी रिसेप्टरको उपस्थिति हुन्छ ।

कमी हुँदा
–कपाल चाँडै झर्ने
–कपाल पातलो हुने
–टेलोजेन इफ्लुभियम वा एलोपेसिया जस्ता समस्या
देखिन्छन् । धेरै बिरामी लामो समयसम्म छाला उपचार गर्दा पनि सुधार नदेखिएपछि अन्ततः भिटामिन डी कमी पत्ता लाग्ने गरेको अनुभव छ ।

३. यौन तथा प्रजनन स्वास्थ्य
भिटामिन डीले हर्मोन सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रभाव पार्छ ।
पुरुषमाः
–टेस्टोस्टेरोन स्तर घट्ने
–यौन इच्छा कमी
–स्तम्भन समस्या

महिलामाः
–हर्मोन असन्तुलन
–यौन इच्छा कमी
–अत्यधिक थकान
यौनसम्बन्धी समस्या सामाजिक कारणले खुल्न नसक्दा यसको जैविक कारण छुट्ने सम्भावना बढी हुन्छ ।

४. मोटोपन र मेटाबोलिक असर
भिटामिन डी र मोटोपनबीच दुईतर्फी सम्बन्ध छ । मोटोपन हुँदा भिटामिन डी बोसोको तहमा थुनिन्छ र रगतमा यसको उपलब्धता घट्छ ।
भिटामिन डीको कमी हुँदाः
–मेटाबोलिक दर घट्छ
–इन्सुलिन प्रतिरोध बढ्छ
–तौल नियन्त्रण गाह्रो हुन्छ
तर अधिकांश अवस्थामा थाइराइड र मधुमेह जाँच मात्र सीमित हुन्छ ।

५. मानसिक स्वास्थ्यमा प्रभाव
भिटामिन डी न्यूरोट्रान्समिटर सन्तुलनसँग सम्बन्धित छ ।
कमी हुँदाः
–उदासी
–चिन्ता
–चिडचिडापन
–डिप्रेसन
–निद्रा समस्या देखिन्छ ।
यी लक्षणलाई प्रायः प्राथमिक मानसिक रोग ठानिन्छ ।

निदानमा देखिने चुनौतीहरू
–अस्पष्ट र बहु–लक्षणीय प्रस्तुति
–भिटामिन डीको कमी कुनै एक लक्षणमा सीमित हुँदैन ।
–सामान्य परीक्षणहरू नर्मल आउनु
CBC, ECG, थाइराइड, एक्स–रे जस्ता परीक्षण सामान्य आउँदा चिकित्सक र बिरामी दुवै ढुक्क हुने गर्छन् ।

खण्डित उपचार प्रणाली
बिरामी विभिन्न विशेषज्ञकहाँ पुग्दा समग्र मूल्याङ्कन नहुनु मुख्य समस्या हो ।

नेपाली सन्दर्भमा सार्वजनिक स्वास्थ्य दृष्टिकोण
मुख्य कारणहरूः
–कोठाभित्र केन्द्रित जीवनशैली
–घाम सेवनबारे गलत धारणा
–भिटामिन डी युक्त खाना न्यून
–नियमित स्क्रिनिङको अभाव
यसले भिटामिन डीको कमीलाई मौन महामारीको रूपमा स्थापित गरेको छ ।

व्यवस्थापन र रोकथाम
स्क्रिनिङ
–दीर्घकालीन दुखाइ
–कपाल झर्ने
–यौन समस्या
–मोटोपन
–मानसिक लक्षण
भएका बिरामीमा 25(OH)D जाँच सिफारिसयोग्य छ ।

उपचार
–चिकित्सकको सल्लाह अनुसार भिटामिन डी पूर्ति
–उच्च मात्रा आफैं सेवन नगर्नु

रोकथाम
–सुरक्षित घाम सेवन
–आहार विविधता
–प्राथमिक स्वास्थ्य सेवामा समावेशीकरण

निष्कर्ष
भिटामिन डीको कमी केवल पोषणसम्बन्धी समस्या होइन, यो बहु–प्रणालीमा असर पार्ने कार्यात्मक विकार हो । यसको अस्पष्ट लक्षण र गलत बुझाइका कारण धेरै बिरामी अनावश्यक परीक्षण र दीर्घ उपचारमा फसिरहेका छन् ।
समयमै पहिचान, उचित स्क्रिनिङ र जनचेतनाले यस समस्याबाट उत्पन्न हुने शारीरिक, मानसिक र आर्थिक बोझ उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
भिटामिन डीको कमीलाई अब सामान्य कमजोरी होइन, गम्भीर स्वास्थ्य संकेतका रूपमा लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->