बागलुङ/बागलुङ नगरपालिका–१३ मा रहेको त्रिभुवन मावि पैयुँपाटाले आफ्नो स्थापनाको ७५ वर्ष पुगेको अबसरमा हिरक जयन्ती मनाउने तयारी गरेको छ । पुस २६ गतेदेखिनै विभिन्न कार्यक्रम गरेर माघ १ गते मुल समारोह गर्ने लक्ष्य आयोजकले बताए ।
शनिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालयलाई बहु प्राविधिक बनाउने, आवासिय बनाएर दलीत, बिपन्न र भौगोलिक रुपमा टाढाबाट आउने विद्यार्थीलाई बस्नेखाने व्यवस्थापन गर्ने लक्ष्यले हिरक जयन्ती मनाउन लागिएको बताए ।
त्यसका लागि आर्थिक संकलन, स्मारिका प्रकाशन लगायतका दर्जनौं काम समेत शुरु भएका छन् । हरेक पुर्व विद्यार्थीबाट १ हजार रुपैयाँ संकलन गरेर आयोजक बनाइएको छ । उक्त रकमले हिरक महोत्सवका क्रियाकलाप संचालन हुनेछन् । हिरक जयन्ती संस्थापक सदस्यको रुपमा ५ हजार रुपैयाँदेखि माथी रकम दिनेलाई सम्मान समेत गरिने छ ।
अहिलेसम्म १२ जनाले १ लाख रुपैयाँ सहयोग गरेका छन् भने ७ जनाले ५० हजार रुपैयाँ सहयोग गरिसकेको आर्थिक समितिका संयोजक रेशमबहादुर केसीले जानकारी दिए । शनिकारसम्म हिरक जयन्तीको अवसरमा ४८ लाख रुपैयाँ संकलन भैसकेको छ । उक्त रकमलाई अक्षयकोष बनाएर विद्यालयको लक्ष्य अभियानमा लगाइने छ ।
२००७ साल माघ १ गते स्थापना भएको यो विद्यालयमा बलेवा क्षेत्रका पैयुँपाटा, अमलाचौर, नारायणस्थान, भकुण्डे, रायडाँडासहित कुश्मीसेरा सम्मका विद्यार्थी पढ्ने गरेको इतिहास छ । पछिल्लो समय सबै स्थानमा विद्यालय खुलेपछि विद्यार्थी संख्या कम भएको हो । विद्यालयले हिरक जयन्तीको अबसरमा सबै पुर्व विद्यार्थी, शिक्षक र अभिभावकको भेला, बैठक र पुर्नमिलन कार्यक्रम राखेको छ । यो अभियानले बिद्यालयको लक्ष्य अनुसार आवासिय बनाएर संचालन गर्ने, बहुप्राविधिक बनाउने अभियानमा समेत सहयोग पुग्ने वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।
यो अभियानलाई सहयोग गर्न बलेवाबाट विभिन्न स्थानमा गएर बसेकाहरु पनि उत्साही भएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीको अध्यक्षता, प्रधानाध्यापक कृष्णप्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले पनि शुभकामना मन्तव्य दिएका थिए । हिरक महोत्सव उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने निधो भएको डा. केसीले जानकारी दिए ।





