आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

किवीको जुस उत्पादन गर्दै ताराखोलाका किसान

‘जग्गा जमिन प्रसस्त छ, जोश र जाँगर पनि छ, तर हामीलाई बजारको खोजी गरिदिने कोही भएन’ समूहकी कोषाध्यक्ष भवि रोकाले भनिन्,‘केही जुस समेत बनाएका छौं, तर ती उत्पादनलाई बजार पाउने व्यवस्था चाहिएको छ ।’


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८२, बुधबार

बागलुङ/बजारमा महंगोमा बिक्री गर्न पाइन्छ भन्ने थाहा पाएपछि उनीहरुले गाउँमा किवी खेती थालेको ५ बर्ष भयो । अहिले ताराखोला गाउँपालिका वडा नंं ३ को हिला स्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्द भएका किसानको बारीभरी किवी फलेको छ । कतिपय क्रेटमा राखेर गलकोट, बागलुङ बजार र पोखरा सम्म पनि बिक्री भएको छ । तर सोचेजस्तो बिक्री गर्न नसकेकोमा किसान चिन्तित छन् ।

मुख्य बजार कता हो ? एकमुष्ट उत्पादनलाई कसरी बेच्ने वा किसानको समूहमा कसरी आम्दानी भित्राउने भन्ने उनीहरुको मुख्य चुनौती छ अहिले । उनीहरुले बजार पाएमा उत्पादनलाई बढाउने लक्ष्य समेत राखेका छन् । ‘जग्गा जमिन प्रसस्त छ, जोश र जाँगर पनि छ, तर हामीलाई बजारको खोजी गरिदिने कोही भएन’ समूहकी कोषाध्यक्ष भवि रोकाले भनिन्,‘केही जुस समेत बनाएका छौं, तर ती उत्पादनलाई बजार पाउने व्यवस्था चाहिएको छ ।’ जुस उत्पादनकालागि गाउँपालिकाले पनि लगानी गरिदिएको छ । किसानले पनि लगानी थपेका छन् । अब उनीहरुलाई फ्रिज आवस्यक भएको रोकाले बताइन् ।

उत्पादनलाई बजार पठाउनकालागि आकर्षक लेबल चाहिएको समेत उनीहरुको भनाइ छ । तत्कालका लागि गाउँपालिकाको सहयोगमा लेवल बनेर उपयोगमा आएको छ । सिङगुजी कृषि उपज प्रशोधन केन्द्र मार्फत किवीको जुस बनाउन लागिएको हो । ताराखोला गाउँपालिकाकी उद्यम बिकास सहजकर्ता निरु घर्ती र अर्का प्रशिक्षक बिष्णुमाया कण्डम्बाले ७ दिन तालिम दिएपछि किसानले उत्पादन गर्न थालेको बताए ।

उत्पादनकालागि बोतल, डिब्बा, क्रेट लगायतका साना साना सामाग्रीमा समेत किसानले दशौं लाख लगानी गरिसकेका छन् । किवीलाई पखाल्ने, छिलेर बोक्रा छुट्टयाउने, मिस्करमा पिसेर फेरी छान्ने, पानी राखेर पकाउने, आवस्यकता अनुसार चिनी र नविग्रने औषधी प्रयोग गर्ने गरेपछि जुस तयार बन्छ ।

मानव स्वासथ्यकालागि समेत यो जुस उपयोगी भएको कृषि प्राविधिकले बताए । तयारी भएपछि बढीमा १८ महिना सम्म भण्डारन गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको घर्तीले जानकारी दिइन् । ३ लाख रुपैयाँमा जुस पेल्ने मेसिन गाउँपालिकाले दिएको अध्यक्ष धनबहादुर बिकले बताए । त्यसमा समूहले थप १ लाख लगानी गरेका थिए ।

समूहकी सदस्य देउकुमारी रोकाका अनुसार यो बर्ष मात्रै स्थानीयले एक हजारबढी बोतल उत्पादन गरिसकेका छन् । आधा लीटर र एक चौथाई लिटरका बोतलमा जुस बजारमा ल्याइएको छ । आठौं बागलुङ महोत्सवमा किसानले ‘मेड इन बागलुङ’को स्टलमा समेत ती जुस बिक्री गरेका थिए । महोत्सवमा मात्रै झण्डै ४ सय ५० लीटर जुस बिक्री भएको उनीहरुले बताए । हजारौं लीटर उत्पादन गर्न सक्ने क्षमता भएपनि बजारीकरणको समस्या भएको उनीहरुले बताए ।

यो उत्पादनलाई बजारीकरण गर्ने काममा बागलुङ उद्योग बाणिज्य संघले पनि पहल गर्ने अध्यक्ष राजनकुमार शाक्यले बताए । ‘अहिले त महोत्सवको स्टलमा सहुलीयतका साथ राखिएको हो, भोलीका दिनमा बजार बिस्तार गर्न पनि पहल गर्छौँ,’ शाक्यले भने, ‘व्यवसायिक हितकैलागि संघ लागिपर्ने छ ।’ किसानले खुला किवी पनि बजारमा ल्याएर बेचेका छन् । महोत्सवमासमेत उनीहरुले डेढ क्विन्टल किवी ल्याएको बताए ।

ताराखोला गाउँपालिका भित्र किवीको प्रचुर संभावना रहेकोले त्यसकालागि किसानलाई प्रोत्साहित गर्ने काम केहीबर्ष देखिनै शुरु भएको उपाध्यक्ष भीमबहादुर रोका बताउँछन् । किसानले उत्पादन बढाउँदै लगेपछि बजारीकरणकालािग भने व्वसायी र कृषि कार्यालयहरुसँग समन्वयको काम थालिएको उनले जानकारी दिए । गाउँपालिकाले पालिका भरी के कति किवी र जुस उत्पादन हुन्छ त्यसको तथ्यांक निकालेर आगामी दिनमा बजार बिस्तार गर्ने काममा साथ दिने उनको भनाइ छ । त्यसकालागि किसानले पनि निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->